Sunday, July 10, 2011

बेलायतमा नेपालीको पीडा -प्रकाश के.सी. लन्डनबाट

आश्चर्य ! म शून्य भएको छु, यस्तो लाग्छ, मेरोमा अब शून्यताबाहेक केही छैन । बोलेर नसकिने परिमाणमा गन्थनहरू नभएका होइनन्, हेरेर थाक्नै नसकिने परिणामका घटनाहरूका परिवृत्ति नभोगिएका होइनन्, तर पनि म शून्य भएको छु, जस्तो मभित्र शून्यताबाहेक केही छैन । सिर्जनशीलता, जस्तो कुँजो भएर चेतपटमा कतै थन्किएको छ । म गन्थनहरूलाई प्रसङ्गहरूमा ढाल्दै सोच्न थाल्छु, कथनीका लयहरूलाई सुसेल्ने जमर्को गर्दै कलम समाउँछु….एउटै लाइन पनि अगाडि सर्दैन । आश्चर्य ! बेलायत पछिल्लो समयमा नेपालीका लागि निक्कै सुन्दर भविष्यका लागि निक्कै राम्रो गन्तव्य स्थल मानिएको छ । त्यसैले लाखौँ-लाख रुपैयाँको लगानी गरेर उच्च शिक्षाभन्दा बढी कमाइका साथै यहाँ स्थायी रूपले बसोबास गर्न सकिन्छ कि भन्दै पढ्नका लागि आउने होनहार विद्यार्थी हुन् या आफ्नो लाहुरे जीवनमा कमाइ गरेर बाँकी रहेको जीवनलाई सम्पन्नताबाट परिभाषित गर्नेगरी तिनबाट बनाइएका ठूलाठूला महललगायत अन्य चल-अचल सम्पत्ति बेचेर युरोपियन जीवनशैली बाँच्न यहाँ भित्रिएका भूपू लाहुरेहरू हुन् या हङकङ, अस्ट्रेलिया, अमेरिकाबाट बेलायती पक्षलाई आत्मसात् गर्न बसाइँ सरेर आउने स्थानान्तरित आप्रवासी हुन्, तिनका साझा परिणामहरू मूलतः
एक-अर्कादेखि खासै पृथक् छैनन् । यूकेको रोम्फोर्डस्थित एक अपायक कुनाको सानो घरमा बसेका बूढा भुवनबहादुर र उनकी श्रीमतीको साथमा रहेको, भर्खरै वयस्क भएको छोरोले कामै नपाएर आफन्त हुँदै परिचितहरूसँग पैसा सापटी (दानस्वरूप) माग्दै हिँडेको प्रसङ्ग सम्झन्छु । लाहुरेजीवन पार गरेपछि, पूर्व रामेछापबाट काठमाडौं बसाइँ सरेका भुवनबहादुर यूके आएपछि यूकेको लगभग पाँच वर्षको बसाइँपछि आफ्नो समष्टिगत जीवनयापनमा योभन्दा खस्केको हालत नभोगेको स्वीकार गर्छन् । काउन्सिल ट्याक्स, टेलिफोन, बिजुली-पानीलगायतका खर्चहरूसहित घरको मोर्गेज धान्न, तिनलाई तिनको वृद्ध भत्ताको सानो आयले निक्कै नै अघि धौ-धौ पारिसकेको हो । सम्पन्नताको सपना लिएर भित्रिएको यो परिवारलाई बेलायती समय पक्कै नै स्वप्निल लागेन होला । तिनका अन्य पीडाहरूको पोको यता म भने फुकाउन सक्दिनँ । त्यस्तै, अल्डरसटमा नेपाली बाजेबजैहरू ‘सोसियल बेनेफिट’को सानो आयमा मरणासन्न नियति भोग्दै लखरलखर गल्ली, चौक, चौबाटोमा झोक्राएर हिँडेका प्रसङ्गहरू सम्झन्छु । जीवनको उत्तर्रार्धमा खै, कुनचाहिँ अवधिलाई सिँगार्न खोज्दा हुन् ? ती यहाँका गल्लीहरूमा विगतका भर्पाई चाहिरहेछन् । अस्थिरता अनि अन्योलले ग्रसित तिनका मन-मस्तिष्कहरूमा उक्त अवधिमा, देश कत्तिको दुखेको हुँदो हो !
म यही भावावेशलाई हरफहरूमा छन्द दिने प्रयत्न गर्छु, कलम भने सर्दैन । दुख्नुको नियति भएको सिर्जनशीलता त्यसै जम्दो हो, सम्झन्छु । जीवनमा सफलताको पछि लाग्नेहरू र जीवनमा सफलताबाट पछाडि छाडिनेहरू यूकेमा प्रवासिएर बाँच्ने क्रममा भने लगभग हरेक बिन्दुमा एक-अर्कामा पूरक हुन्छन् । कतिलाई त्यसरी यहाँ कसरी जीवन दुखिरहेको छ भन्ने थाहा नै नभएको हुन सक्दछ भने कतिलाई के दुख्दै छ भन्ने नै याद नरहेको हुन सक्दछ, तर जति नै ढोङ रचाए पनि ठूलो परिमाणमा आक्रान्त मन बोक्नेहरू लस्करै सर्वत्र भेटिन्छन्, तर तिनका दुखाइउपर लय हाल्न साँच्चै नै गाह्रो रहेछ, म सम्झन्छु । किनकि, यही जीवनको यस रेखालाई भविष्यको कुनै अज्ञात बिन्दुसम्म तान्ने अभीष्टले गत वर्ष मात्र म यहाँ ल्याइपुर्‍याइएको हुँ । आफ्नो पीडालाई लेख्नै गाह्रो !
‘छोरो हातैबाट फुत्कन थालेकोजस्तो लाग्यो मलाई त । केही भन्नै हुँदैन, मुखमुखै लाग्छ, पिट्नका लागि हात उठायो भने, पुलिसलाई फोन गरि्दन्छु भन्छ । के गर्ने होला ? सम्झाएर सम्झिने होइन, सङ्गतले त बिगार्दै छ उसलाई । नौ-दश वर्षको उमेरमा त छोरोको हाल यस्तो छ भने ठूलो भएपछि यसले मलाई लात्तै हानेर खेद्छ कि क्या हो ?’ मित्र सन्दीप यसरी आफ्नो अटेरी छोरोको गुनासो गर्दै थिए । सन्दीपले आफ्नो पारम्परिक बाल्यकालको सम्झना र छोराको बाल्यकालको यथार्थबीच तादात्म्यता मिलाउन सकेको छैन । आधा नेपालको बाल्यकाल भोगेको सन्दीपको छोराले यूकेको बाल्यकाल, केही ज्यादै बुझ्ने भएपछि भोगेको छ । अभिभावकबाट दिलाइएको घरायसी नेपाली शिक्षाको खुन्दुस निकाल्दै होला ऊ यहाँ । सन्दीपचाहिँ हातैबाट फुत्कने भयो छोरो भन्दै त्यसलाई नेपाल लगेर तीन-चार महिना पिटिपिटी सही लाइनमा ल्याएपछि मात्र यूके ल्याउनुपर्छ कि भन्ने सोच राखेको प्रसङ्गको सम्झना गर्दछु । के आँगनअघिको फूलबारीभरि फूल रोप्नु भनेको यस्तै-यस्तै हो त ? सन्तान-सुखको अवधि सीमित हुँदैन र यो मानेमा ? प्रश्नहरू मनभरि तेरि्सएका छन् ।
पूर्वीलन्डनमा बस्ने श्यामसुन्दर, बढेको छोरो कुटेको आरोपमा कतिपटक पुलिस स्टेसन लगिएका छन्, त्यसैकारणले तिनको पुलिस-रेकर्ड खत्तम भएको छ । यूपीएसका ड्राइभर बिल्लीले आफ्नो एक वयस्क भइसकेको छोरोलाई आफूसँग जाइलाग्न आएको झोकमा लगभग दुई वर्षअगाडि घरको मूल ढोकाबाट गलहत्याइदिएका थिए, फलस्वरूप कानुनी रूपमा सदाकै लागि उनले आफ्नो सम्पत्ति तथा नाताबाट नै उक्त छोरोलाई बेदखल गरेका थिए । यही समयमा उक्त प्रसङ्गलाई सम्झन्छु । फेरि पनि लाग्छ- सानोमा ‘मर्ला भन्ने पीर’ लाग्ने सोही बच्चाले ठूलो भएपछि ‘मार्ला भन्ने डर’ मान्नुपर्ने अवस्थितिको सोच आततायी स्वरूपले मानसिकतामा उदय हुन्छ, र मनन गर्छु ।सन्तान सुख आखिर कतिन्जेलसम्म हो त ?
शून्यता भने सघन रूपमा व्याप्त छ, मनमस्तिष्कभरि । एक नीरवताको तीखो ध्वनि फैलिएको झैं लाग्छ । बाहिर हेर्छु । जिन्दगी भनेको रमझम हो भनेजस्तै भान दिने गरेर संसार चलेको लाग्छ र त्यही रमझमभित्रै मिस्सिन्छु, नीरवताको चर्को ध्वनि लुप्त हुँदैन । सँगैको पवको ढोकाअगाडि बूढो छिमेकी टोनी खडा हुन्छ, हातमा जगभरिको बियर लिएर । ‘…कस्तो राम्रो दिन, आऊ खुसियाली मनाऔँ ।…’ म उसको भनाइ र उसको उत्साहलाई आत्मसात् गर्ने प्रयत्न गर्छु । दिनभरिको कामको थकाइ, मानसिक उत्पीडन आदिले क्लान्त भएको शरीरलाई मनले पनि साथ दिन छाडेको लाग्छ । बढ्दो महँगी र संशयशील प्रवासी जीवन, खासगरी मजस्तालाई पाच्य भइसकेको छैन । ठूलो परिमाणमा हप्तौँभरि घोटिएको कामको दामबाट सरकारले ट्याक्स काट्छ र टोनीजस्ता अभ्यस्त स्थानीयलगायतका वृद्धहरू, वृद्धभत्तालाई पवहरूमा बियरको चुस्कीमा उडाउँछन् । टोनीको उत्साहलाई मेरो वैराग्यले पछ्याएको छ, त्यसैले ‘फेरि कुनै दिन रमाइलो गर्ने’ भन्दै म अगाडि लागेको हुन्छु । यस्तो सम्झना र प्रसङ्गले मेरो मनभित्रको सिर्जनशीलतालाई कुत्कुत्याउन सकेको छैन । एकै हरफहरू पनि लेख्न सकेको छैन यी विषयहरूमा ।
दुःखहरू सर्वत्र छन्, पीडाहरू वातानुकूलित लाग्ने खालले वर्तमान मानवमनमा अभ्यस्त किसिमले क्यामोफ्लेग भइसकेका लाग्छन्, खुसी पो खोज्न गाह्रो । हुर्किएको छोरोलाई पिटेकोले गर्दा उही छोरोकै उजुरीमा पुलिसद्वारा बन्देज पाएको मित्र श्यामसुन्दर छुट्टै बस्न वाध्य भएका छन् । श्रीमती तथा हुर्केको सन्तानको साथ बुढ्यौलिँदै गएको श्यामसुन्दरको जीवनले गुमाएको छ भने वयस्क भइसकेर पनि काम नगर्ने अनि आमाबाबालाई वर्षौंदेखि सताइरहने छोरोको खुवीले गर्दा नेपालका सम्पन्न उक्त परिवार यहाँ अहिले तितरबितर अनि निरीह हुँदै छन् । छाक टार्न पनि मुस्किल पर्ने हालतमा श्यामसुन्दरका श्रीमती र छोरो रहेका छन् । यस्ता कति छन् कति, सम्पन्नता अनि उच्च भविष्यको आशामा नेपालदेखि पलायन भएका नेपाली विशृङ्खलित परिवारहरू ! तिनका दुर्दशाका बारेका बखान लेख्दा जहिले पनि हृदयको एक छेउ चसक्क घोच्दछ । प्रणयका दिनहरूमा तिनले साझा रूपमा सजाएका तिनका सपनाहरूले अहिले तिनलाई पक्कै पनि धारेहात लगाउँदा हुन् ! सपनाका महल सजाउनू, प्रेमका गीतहरू गुनगुनाउनू कत्ति हास्यास्पद लाग्दा हुन् तिनलाई ! किन सुसेल्नु यी व्यथाहरूलाई र किन लेख्नु यी चोटहरूलाई ! त्यसको निचोड पनि हुनसक्छ, शून्यताको नीरव चर्को ध्वनि व्याप्त छ मनमस्तिष्कभरि । एकै हरफ पनि सार्न सकिएको छैन ।

No comments:

Post a Comment