Monday, July 11, 2011

भविष्य नभएको कांग्रेस र 'लिङ्ग' नछुटिएको एमालेले के गर्लान्?

– युवराज घिमिरे
(यो लेखक को निजी बिचार हो - सम्पादक )
विश्वका विभिन्न राजनीतिक तथा सामाजिक चिन्तकहरूले अलग अलग सन्दर्भमा सिद्धान्त र आदर्शको मात्र हैन इतिहास र राज्यकै अन्त्य अथवा असान्दर्भिकताको घोषणा गरेका छन्। उनीहरूको त्यो व्याख्या र निष्कर्षलाई शाब्दिक अर्थमा नलिएर वृहद् विश्व परिवेश र विश्व शक्तिको उदय, पतन र त्यहाँ उब्जिन सक्ने समस्या अनि सम्बन्धित मुलुक बाहिर त्यसले जन्माउन सक्ने द्वन्द्व तथा त्यसका अपेक्षित परिणामका आधारमा हेरिनु आवश्यक हुन्छ। तर नेपालका सन्दर्भमा हामी के पाउँछौं? यहाँ असाध्यै क्रान्तिकारी नाराहरू घन्किदै छन्। नेताहरूले बोल्न छाडेका छैनन्। राज्य र राज्य व्यवस्था पतनोन्मुख देखिन्छ। जनता चिढिएका छन्, तर बोलिरहेका छैनन्। हिजो राजा र दरवार अगाडि लम्पसार पर्नेहरू आज त्यही रुपमा माओवादीसमक्ष समर्पणको नीति अपनाएका छन्। हिजो राज्य र माओवादी भिडन्तका समयमा माओवादीले चलाएको 'गोलीबाट घाइते पिंडौंला देखाउँदै प्रमोशन खाने सुरक्षाकर्मी आज 'म तपाईहरूले रोपेकै बिरुवा हँु' भन्दै माओवादी नेतृत्वसँग सेवा विस्तारको याचना गरिरहेका छन्। नेपाली कांग्रेसमा राजनीतिक सिद्धान्त मरिसकेको छ। उसले नेपालको भविष्यसँग आफ्नो
सान्दर्भिकता जोड्न सकेको छैन। बाबुराम भट्टराई अरु राजनीतिज्ञ भन्दा कुनै रुपमा फरक देखिन सकेनन्। तर शायद उनले भनेको एउटा कुरा एमालेले गर्नै पर्छ होला आफ्नो अस्तित्वको सान्दर्भिकता सावित गर्न। उसले आफ्नो 'लिङ्ग' के हो खुलाउनै पर्ने भएको छ राष्टिय राजनीतिमा। भविष्य नभएको कांग्रेस र 'लिङ्ग' नछुटिएको एमालेले मुलुकमा के गर्लान्? तर एमालेले भट्टराईको कुरा मानेमा तथा कांग्रेसले आफ्नो भविष्यको सान्दर्भिकता स्थापित गर्ने कोसिस गरेमा त्यसले माओवादीको राजनीतिलाई प्रभावित गर्छ नै। नत्र अहिले जतिसुकै मच्चिए पनि अन्ततोगत्वा एमाले र कांग्रेससमक्ष माओवादीको एजेन्डामा ल्याप्चे लगाउने बाहेक अर्को कुनै विकल्प छैन। अन्यथा गर्ने सामर्थ्य उनीहरूमा छैन। यो २०६२–०६३ को परिवर्तनपछि स्पष्टसँग देखिएको परिणाम हो। त्यो नै नेपाली राजनीतिको अहिलेको विडम्बना हो। राजनीतिक दल र नेताहरूमा 'चरित्रको अन्त्य' नै नेपालको लागि क्यान्सर बन्न पुगेको छ, अहिले। सूर्यबहादुर थापा, पशुपतिशमशेरदेखि नेपाली कांग्रेस आफ्ना अतीतसँग काटिएका छन्। उनीहरूले माओवादीको आलोचना गरे जस्तो गर्नै पर्छ, तर माअेावादीको एजेन्डा बाहिर जाने साहस छैन। हिजोको पहिचानको मौलिकतासँग नाता तोडेपछि आजका पुस्ताले पनि उनीहरूलाई विश्वास गर्दैन। किनकि राजनीतिमा खासगरी नेतृत्वमा 'चरित्र' आवश्यक हुन्छ। त्यो चरित्रसँग राजनीतिक 'भिजन', मुलुक डोर्यावउने क्षमता, परेमा एक्लै उभिने साहस आफ्ना लागि भन्दा मुलुकका लागि जिउँदो रहेको प्रमाण आदि आवश्यक छ। १८ घण्टासम्म लोडसेडिङ हुने गरेको मुलुकमा विद्युत प्राधिकरणले स्वतन्त्र रुपमा कार्यकारीको छनौट प्रक्रिया अपनाए पनि कोही योग्य व्यक्ति नआए जस्तै मुलुकमा नेतृत्वको खडेरी पनि साँच्चै परेको छ। चरित्र नबोकेका या गुमाएका नेताहरूको भविष्य छैन। र दुर्भाग्य! विकल्पका रुपमा देखापरेको माओवादी नेतृत्वको तुलना 'भ्रष्टतम्' नेताहरूसँग हुन थालेपछि जनताको बीचबाट नेतृत्वको खोजीको संभवतः यो सवभन्दा उचित अवसर सावित हुनेछ।-साँघु

No comments:

Post a Comment