Wednesday, August 31, 2011

अहिले दौरा-सुरुवाललाई राष्ट्रिय पोसाकका रूपमा मान्यता दिने कुरा उठ्दा सर्वोच्चको फैसलालाई जलाइँदै छ !, के हो त राष्ट्रिय पोसाक ?

- बबिता बस्नेत
राष्ट्रिय पोसाक कुनै पनि राष्ट्रको पहिचान र गौरव हो, राष्ट्रलाई माया गर्नेहरू राष्ट्रिय पोसाक, झन्डा, भाषालगायतका राष्ट्रियतासँग जोडिएका कुराहरूलाई सम्मान गर्छन् । विभिन्न मुलुकमा प्रायः महिला र पुरुषका लागि आफ्नै प्रकारको राष्ट्रिय पोसाक तोकिएको हुन्छ जसले उक्त देशको राष्ट्रिय पहिचानलाई इंगित गर्छ । महासभा चलिरहेको बेला संयुक्त राष्ट्रसङ्घको प्रधान कार्यालय न्युयोर्क पुगियो भने विभिन्न रङ्ग र अनेक ढङ्गका पोसाक लगाएका मानिसहरू भेटिन्छन्, देखिन्छन् । सबैलाई उस्तै अनुभूति दिने मौसममा कसैले पातला पिलपिल परेका लुगा लगाइरहेका हुन्छन् त कसैले बाक्ला न बाक्ला हेर्द उकुसमुकुस हुने प्रकारका, कतिले टाउकोमा अनेक आकारप्रकारका फेटाजस्ता तर अरू नै केही गुथिरहेका देखिन्छन् त कतिचाहिँ पुरुषहरूले पनि टाउको छोपेका -महिलाले टाउको छोप्ने चलन धेरै ठाउँमा छ) र पाइतालासम्म पुग्ने लामा गाउनजस्तै पोसाक लगाएका । विभिन्न देशका मानिस र तिनले लगाएका राष्ट्रिय पोसाकहरूको रमिता नै हुन्छ त्यहाँ । तर, अहिले हाम्रो देशमा भने राष्ट्रिय पोसाकलाई ठूलो विवादको विषय बनाइएको मात्र छैन, राष्ट्रिय पोसाक भइदिएकै कारणले विचरा दौरा-सुरुवालले केही मधेसी समुदायका मानिस र तिनलाई समर्थन गर्नेहरूबाट गाली-गलौजसमेत खानुपरेको छ । मधेसी समुदाय भन्नेबित्तिकै सबैलाई एकै ठाउँमा राखेर हेर्न पनि मिल्दैन किनभने सबै मधेसीहरू राष्ट्रिय पोसाकविरोधी छैनन् । यो देशमा त्यस्ता मधेसीहरूको सङ्ख्या पनि धेरै छ, जो यो राष्ट्रलाई असाध्यै माया गर्छन् र राष्ट्रिय पहिचानसँग जोडिएका कुराहरूलाई सम्मान गर्छन् । एकपटक नयाँ नेपालका नाममा नेकपा माओवादीले राष्ट्रिय झन्डा फेर्ने प्रस्ताव गर्दा धेरै नेपालीको मनमा चोट लागेको थियो । अहिले दौरा-सुरुवाललाई राष्ट्रिय पोसाकका रूपमा मान्यता दिने कुरा उठ्दा सर्वोच्चको
फैसलालाई जलाइँदै छ । राष्ट्रिय पोसाकलाई अपमान गरेर मधेसी समुदायका केही मानिसले नेपाली हुनुको पहिचानमाथि प्रहार गरेका छन् ।
हरेक पुराना कुरा र संस्कार नराम्रा हुँदैनन् । विभिन्न मुलुकका इतिहासमा ठूला-ठूला परिवर्तनहरू भएका छन् । राजतन्त्र फालिएका देशहरू पनि धेरै छन् तर राजतन्त्रको अन्त्य हुँदैमा सबै राष्ट्रिय पहिचानलाई मेटाइँदैन । संसारमा धेरै मुलुकमा राजा-महाराजा थिए, उनीहरूको पुस्तेनी शासन नरहे पनि इतिहासको कालखण्डमा उनीहरूले देशका लागि गरेको योगदानको मूल्याङ्कन, आफ्नो देश बचाउन अपनाएका रणनीतिहरूको सिकोजस्ता कुराहरू वर्तमानमा भइरहेकै हुन्छन् । नेपालको राष्ट्रिय पोसाक, झन्डाजस्ता कुराहरू राजाहरूको पालामा परिकल्पना गरिए पनि ती राजतन्त्रका होइनन् नेपाल देशका पहिचान हुन् । जुन कुरामा प्रत्येक नेपाली -फेर्ने प्रस्ताव गर्नेबाहेक) को आत्मीयता गाँसिएको छ, आफ्नोपन जोडिएको छ । राष्ट्रिय पोसाककै रूपमा रहेको सारी-चोलो दक्षिण एसियाली महिलाले लगाए पनि दौरा-सुरुवाल विश्वमै ‘युनिक’ छ, नेपालको राष्ट्रिय झन्डा पनि संसारमै फरक मानिन्छ । वास्तवमा युनिक हुनु-नहुनुसँग राष्ट्रियतासँग सम्बन्धित कुराहरूले खासै अर्थ राख्दैन पनि । हाम्रो झन्डालाई विश्वले राम्रो भन्नुको कारणचाहिँ के हो भने कतिपय देशका झन्डामा अङ्कित चिह्नहरू के हुन् भनेर अत्तोपत्तो पाउन नसकेपछि यसको अर्थ के हो भनेर सोध्नुपर्छ । तर, हाम्रो यति सजिलो छ कि चन्द्रमा र सूर्यलाई यो पृथ्वीमा जसले पनि चिन्छ र हाम्रो झन्डाको रङ्ग र डिजाइनको संयोजन छुट्टै प्रकारको छ । हाम्रो राष्ट्रिय पोसाक पनि आकर्षक नै मानिन्छ । जस्तो भए पनि आखिर राष्ट्रिय पोसाक हो, बूढीआमा राम्री भइनन् भनेर आधुनिक भनाउँदा छोराछोरीले हेला गर्न मिल्छ र -
नयाँ नेपाल राष्ट्रिय पोसाक लाउँदैनौँ भनेर, झन्डा परिवर्तन गरेर, सालिक फोरेर या मन्दिरका पुजारी फेरेर बन्दैन । देशमा परिवर्तन ल्याउनलाई सोच र कार्यशैलीमा फेरबदल ल्याउनुपर्छ । आफ्नो देशको राष्ट्रिय पोसाक या अन्य राष्ट्रिय चिह्नहरू फेर्ने या नफेर्नेजस्ता कुराहरूको निर्णय कुनै एउटा राजनीतिक पार्टीले गरेर हुँदैन पनि । यस्ता संवेदनशील कुराको निर्णय जनताले गर्नुपर्छ । पार्टी, गुट, उपगुट आ-आफ्नो होला तर यो देश सबै नेपालीको बराबरी हो । यस्ता कुरामा क्षेत्रीय भावना मात्र भएका भुरे-टाकुरे दलको त के कुरा राष्ट्रिय मानिने नै कुनै राजनीतिक पार्टीहरूले पनि आफूखुसी निर्णय गरे भने राष्ट्रको पहिचान जोगाउनका लागि भोलि जो-कोहीले सडकको नेतृत्व गर्न सक्छ । हिजो मधेसीहरूले आफ्नो अधिकारका लागि सडक आन्दोलन गरे, उनीहरूसँग सडक सुविधा थियो प्रयोग गरे, बिचरा पहाड र हिमालमा बस्नेहरूसँग सडक नै छैन कसरी अधिकारको आन्दोलन गर्छन् ? सडक आन्दोलनले मुलुकमा निर्ण्ाायक मोडहरू ल्याउने संस्कार बसेको हाम्रोजस्तो मुलुकमा भौगोलिक विकटताले त्यो क्षेत्रमा बस्नेहरूलाई नै ओझेलमा पारिरहेको छ । तर, जतिसुकै ओझेलमा परे पनि राष्ट्रियताका प्रतीकहरूको सवालमा, देशको सवालमा सबै प्रकारको भौगोलिक क्षेत्रका जनता सचेत छन् भन्ने कुरा बिर्सन हुँदैन । राष्ट्रियताका सवालमा बाह्य राष्ट्रसँगको लडाइँको छुट्टै अनुभव हुन सक्ला तर राष्ट्रिय पहिचानसँग जोडिएका कुराहरूको संरक्षणका लागि चाहे ती जुनसुकै दल र समुदायका हुन् नेपालीहरूसँगै लड्नुपर्‍यो भने या सङ्घर्षका लागि अघि बढ्नुपर्‍यो भने त्यो कुनै पनि नेपालीका लागि पीडादायी हुनेछ ।
हामी एकातिर जातीयताको नाममा पुरानो पहिचान खोजिरहेका छौँ, कस-कसले कहाँ-कहाँ कहिले राज्य गरेका थिए, को कहाँ जन्मिएका थिए, को जनजाति थिए को के थिए भन्ने कुराहरूलाई खोजी र संरक्षणको विषय बनाइरहेका छौँ भने पुराना राष्ट्रिय पहिचानहरूलाई एक-एक गर्द ध्वस्त पार्न खोजिरहेका छौँ । विश्वमै एक मात्र हिन्दू राष्ट्रको पहिचान खत्तम भयो नयाँ नेपालका नाममा सहियो, प्रधानमन्त्री, मन्त्रीहरूले राष्ट्रिय पोसाकबिनै औपचारिक कार्यक्रमहरू, अनौपचारिक भ्रमणहरूमा देशको प्रतिनिधित्व गरे नयाँ नेपालका नाममा चुपचाप बसियो । मुलुकमा राजनीतिक परिवर्तनको अर्थ राष्ट्रियतासँग जोडिएका कुराहरूमा धावा बोल्नु होइन । बहुजाति बहुभाषी भएको हाम्रोजस्तो मुलुकमा सबै जातजातिका पोसाक आफ्नो संस्कृति कायम राख्नका लागि महत्त्वपूर्ण छन्, तर यति हुँदाहुँदै पनि सबै नेपालीको पहिचान कायम राख्न साझा राष्ट्रिय पोसाकको आवश्यकता छ । नेपालीको पहिचान दौरा-सुरुवाल, टोपी र सारी-चोलोसँग गाँसिए पनि यदि यो व्यावहारिक छैन र फर्ेर्नैपर्छ जस्तो लाग्छ भने जनमतसङ्ग्रहमार्फत दौरा-सुरुवाल र सारी-चोलोसहितका विकल्पहरू दिएर राष्ट्रिय पोसाकको चयन गर्न सकिन्छ तर नेपालीपनसँग जोडिएको दौरा-सुरुवाललाई घृणा गर्ने अधिकार भने कसैलाई छैन । राष्ट्रिय पोसाक भन्ने कुरा सधैं लगाउनुपर्ने होइन, औपचारिक कार्यमा सहभागी हुँदा मात्र पनि राष्ट्रिय पोसाक लगाउन सकिँदैन भने त्यस्ता मानिसले मुलुकसँग सम्बन्धित कुनै पनि कार्यभार नलिएकै राम्रो ।

No comments:

Post a Comment