Monday, September 26, 2011

“बा ! हाम्रो घरमा खसी कहिले ल्याउने ? " - अमृता लम्साल

''हट्यो सारा हिलो मैलो हरायो पानीको बर्षा भवानीको भयो पूजा, चल्यो आनन्दको बर्षा जता जाऔ उतै भन्छन दशैँ आयो! दशैँ आयो! यही आनन्द–चर्चाले सबै संकष्ट बिर्सायो।''
हो, फेरि बर्षैपिच्छे आउने दशैं घरको सँघारमा आईपुगेको छ। मन्दिरहरूमा शंख र घण्टा बज्ने बेला भएको छ। विहानको चिसोचिसो मौसममा झिसमिसेमै उठेर देवी मन्दिर धाउनेहरूको भीड बढ्ने बेला भएको छ। धूप र बत्ति बालेर निस्किने मीठो सुगन्धले वातावरणलाई अरु धार्मिक बनाउने समय आएको छ। तर दुःखको कुरा यस पटकको दशैं खासगरी पूर्वी पहाडका भूकम्प पीडित हजारौं नेपालीका लागि दशा बनेर आएको छ। म सर्वप्रथम ती भूकम्प पीडितहरूप्रति सहानुभूति प्रकट गर्न चाहन्छु।
हो, यस्तै प्राकृतिक दुःखकाबीच दशैंको चाड मनाउनु पर्ने भएको छ। प्राकृतिक विपत्तीबाट जोगिएका हिन्दूहरू देवीको महिमा गाउँदै मन्दिर धाउने छन्। चारैतिरको वातावरणले मनलाई नै आल्हादित बनाउने छ। हुनेखानेका घरमा खसी र बोकाका ''म्या: म्या:'' सुनिन्छन। नहुनेका घरका केटाकेटीले “बा!! हाम्रो घरमा खसी कहिले ल्याउने भनेर दिक्क पार्ने छन। रेडियोमा नुपूर भट्टाचार्यको सुरीलो स्वरमा घन्कनेछ: “यादेवीसर्वभुतेषु विष्णुमायेतिशब्दिता।
नमस्तस्यै नमस्तस्यैन मस्तस्यैनमोनमः'' त्यसैले मनले भन्छ, फेरि दशैं आएको छ!
तर दशैं त्यस्ता ब्यक्तिहरूलाई मात्र आएको छ, जसको हातभरी पैसा खेलाउन सक्ने भाग्य छ, सामर्थ्य
छ। त्यस्ता ब्यक्तिका लागि होइन जो सरकारी आंकडा अनुसार कूल जनसंख्याको करीब २४ दशमलव ५ ओगट्छन या अक्सफोर्ड विश्वविद्यालय अनुसार जनसंख्याको ६५ प्रतिशत को संख्यामा रहेका छन।
माने पनि नमाने पनि तिथि र मितिले दशैं त आएकै छ,तर उनीहरूलाई होइन, जसको परिवारले आजसम्म पनि राज्य आतंक या विद्रोहीको नाममा आफन्तहरूलाई गुमाउनु परेको छ र जसको आजसम्म कुनै अत्तोपत्तो छैन।
साथै उनीहरूलाई पनि होइन जसका परिवारले विवश भएर हातमुख जोर्ने खर्च जुटाउन अरब र खाडी देश धाउनु पारेको छ।
तर पनि दशैं पक्कै आएको छ।
घटस्थापनाको दिन, नजिकैका नदी र खोलाबाट चोखो बालुवा ल्याएर थापिने घडा र छरिने जौ र मकैको महत्व नै अर्कै! रातो माटो र गोबरले लिपेको पूजा कोठामा राता बस्त्र लगाएर मात्रै भित्र पस्ने, अनि चोखो खाएर बस्ने भक्तालुहरूको कुरै बेग्लै!
तर त्यहाँ पनि स्वार्थ र विभेद विनाको कार्य भने रोकिने छैन। धर्मका ठेकेदारह181ले कतिपय घरमा देवी अर्थात स्त्रीकै महिमामा कथिएको नवदूर्गा थापना गरिएको पूजा कोठामा नौ दिनसम्म भित्र पस्न महिलाहरूलाई नै बजिर्त गर्नेछन! तर पनि उनिहरूकै मुखारबिन्दबाट देवीको स्तुती निस्कन्छ:
यादेवीसर्वभुतेषु मातृरुपेण संस्थिता।
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमोनमः।।''
कुनै बेला यो पंक्तिकारलाई चन्डी पाठ गर्न खुबै मन लाग्दथ्यो, संस्कृत बुझ्न सक्ने भाषा त होइन तर पनि “नमोदेव्यै महादेव्यै शिवायैसततंनमः।
नमःप्रकृत्यैभद्रायैनियताःप्रणताःस्मताम्र्र'' भनेर सुगाले झैँ रट्न पाउँदा मनमा आनन्द छाउँदथ्यो। तर एकजना मान्यजनले त्यसलाई बर्जित गर्दै भन्नुभयो, ''स्वास्नी मानिसले चन्डी पाठ गर्नु हुँदैन!'' कस्तो अचम्म! देवी अर्थात स्त्री शक्ति कै स्तुति महिलाले नै गर्न नहुने!! लौ छाड त्यो पनि! त्यो भन्दा अगाडि स्वास्नी मानिसले गीता पाठ गर्नुहुँदैन भनेर सुनिसकेकी यो बबुरीले गीताको पुस्तकलाई आदरका साथ थन्क्याईसकेकी थिएँ।
तर पनि चन्डीको देवीसुक्तमको मोहले कहिल्यै छाडेन। अझै पनि दशैं आयो भनेर मनले सम्झ्यो कि, नुपूर भट्टाचार्यको त्यही सुरीलो स्वर मन मस्तिष्कमा छाउंछ, ''यादेवीसर्वभुतेषु चेतनेत्यभिधीयते।
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमोनमः''
साँच्चै दशैंको यथार्थलाई स्वीकार्ने हो भने यो पंक्तिकारको विचारमा यसले जातिवादलाई हेय दृष्टिकोणले पक्कै पनि हेरेको छैन। यदि यसो हुँदो हो त काठमाण्डौंका कतिपय नवदूर्गाका पीठहरूका पूजारीहरूको हातबाट कट्टर बाहुनहरूले कसरी प्रसाद ग्रहण गर्दथे होलान? अझ त्यो भन्दा पनि महत्वपूर्ण तथ्य दशैँ घरमा फूलपातीको शुभ साइतको प्रतीकका रुपमा उखु, अदुवा, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल तथा अन्य नयाँ पालुवासमेत विधिपूर्वक फूलपाती गोरखाबाट धादिङको जीवनपुरसम्म दशैंघरमा पूजारीसहित मगरजातिका छ जनाले ल्याउने र त्यहाँबाट काठमाडौँको जमलसम्म काठमाडौँबाट गएका बाहुन जातिका छ जनाले ल्याउने परम्परा धानीने नै थिएन होला! त्यति मात्रै कहाँ हो र, फूलपाती भित्र्याउन गुरुज्यूको पल्टन, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, बडागुरुज्यू र आशागूर्जा टोली, ब्यान्डबाजा, पञ्चेबाजा, सिङ्गारिएका कल्स्यौडीहरू र सांस्कृतिक नाचगानसहितको लावालस्करमा जानेहरू सबै कथित उपल्ला जातिका मात्रै हुन्छन् र? यति राम्रो जातीय सम्मिश्रणको परिपाटीमाथि प्रश्न चिन्हको ओईरो लगाउँदैमा के उपलब्धी होला र? फेरि पनि देवीकै महिमामा लेखेका कुरा:
''यादेवीसर्वभुतेषु जातिरुपेणसंस्थिता।
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमोनमः।।''
यसको मतलव धर्म गुरुहरूले जे भनेर लगाए पनि आधुनिक युगमा जातिवादको विरोधमा प्रयोग गर्न सकिन्न र?
अन्त्यमा, सम्पूर्ण पाठकहरूमा विजया दशमीको हार्दिक तथा मंगलमय शुभ–कामना टक्र्याउँदै दूर्गा भवानीले हामी सबैलाई नयाँ संविधान लेख्ने सद्बुद्धि प्रदान गर्नुहोस्!
यादेवी सर्वभुतेषु बुद्धिरुपेणसंस्थिता।
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमोनम। - साँघुबाट साभार

No comments:

Post a Comment