Wednesday, October 26, 2011

कम्बोडियाबाट सिक्नुपर्ने पाठ - वसन्तराज कुँवर

नेपालबाट ०५० सालतिर संयुक्त राष्ट्रसङ्घको पुलिसका रूपमा कम्बोडियामा शान्ति कायम गर्न जाने दलको सदस्यमा म पनि एक थिएँ । कम्बोडिया कैयौँ वर्षदेखि खमेरुज गुरिल्ला लडाकुबाट ध्वस्त मात्र भएको होइन झन्डै ३० लाख मानिस मारिएको देश पनि भएको कुरा कम्बोडिया जानुअघि नै हामीलाई प्रशिक्षकले जानकारी गराएका थिए । हामी पुग्दा अझै जङ्गल तथा गाउँमा गुरिल्लाको र सहरमा प्रधानमन्त्री हुनसेनको वर्चश्व कायम थियो भने समाज बन्दुकबाट नियन्त्रित थियो । त्यहाँ हामीले संयुक्त राष्ट्रसङ्घको प्रहरी भई नीलो ब्यारेट क्याप लगाएर पुग्दा कम्बोडियाली जनताले दिलबाट स्वागत गरेका थिए । जतिबेला हामी पुग्यौँ प्रत्येक बिहानीसँगै सडकका किनारामा गोली लागी मरेका व्यक्तिहरू भेटिन्थे । बाटोवरिपरि अनगिन्ती मान्छेको खोपडी अङ्कित रातो साइनबोर्डले यहाँ विस्फोटक पदार्थ छ है भनेर र्सतक गराइएको चिह्नहरू देखिन्थ्यो । हाइवेहरूमा जाँदा ए.के. ४७ बोकेका सैनिक बाटो रोकेर पैसा माग्थे । हाइवेबाट पास हुने गाडीहरूले सैनिकले
रोक्नुअघि नै केही नोटहरू झ्यालबाट झार्दै-झार्दै जाने गर्दथे । यसबारे सरकारी सैनिकलाई सोध्दा त्यहाँ सरकारले समयमा तलब दिन नसक्ने हुँदा यसैगरी आफ्नो पारिश्रमिक लिन सैनिकहरू बाध्य भएको कुरा हाम्रा इन्टरप्रेटरहरूले हामीलाई बताउँथे । त्यहाँका मानिसले र्सपदेखि गोही र कीरा फट्याङ्ग्रासमेत खाएको देख्दा हामी अचम्ममा पर्‍थ्यौर्ं । स्थानीय जनता खमेरुज गुरिल्लाले लाखौँ पढेलेखेका मानिसलाई सहरबाट गाउँ लगी भोकैभोकै काम गराएर मार्ने रणनीति लिँदा बाँच्नका लागि बन्धक गरिएकाहरूले कीरा, फट्याङ्ग्रा, झारपात मात्र होइन र्सपदेखि बाँदरसम्म खान बाध्य भएको सत्य कथा सुनाउँथे । त्यो रहस्यमय सत्य कथाहरू बोकेको देशमा करिब एक वर्ष बसेर हामीले आमचुनाव गरायौँ र आफ्नो मुलुक फर्कियौँ । हामीलाई लाग्यो जे भए पनि त्यो मुलुकको दाँजोमा त मेरो मुलुक स्वर्ग नै रहेछ । गरिबी भए पनि त्यसस्तरको बन्दुकको डर त छैन, त्यसस्तरको लाखौं जनताले ज्यान त गुमाउनुपरेको छैन, त्यसस्तरको असुरक्षा त छैन । यी र यस्ता कुराले हामीलाई आफ्नो देशप्रति गौरवान्वित बनायो ।
हामी नेपाल फर्कियौँ । त्रिभुवन विमानस्थल आउनुभन्दा झन्डै आधा घन्टा टाढैबाट हवाईजहाजको झ्यालबाट हामीले हिमालका शृङ्खला देख्यौँ । ज्यान जोखिममा राखेर एक वर्ष युद्धस्थलमा बिताएर स्वदेश फर्केको मलगायतका साथीहरूलाई हिमाले देख्नेबित्तिकै लाग्यो त्यो हिमालमुनि बादल छ र बादलमुनि मेरो सुरक्षित देश छ । शान्त, सभ्य र सुरक्षित देश जहाँ बुद्ध जन्मिए म पनि त्यहीँ जन्मिन पाएँ । यो कुरा सम्झँदा मेरो आँखा रसाए । हवाईजहाजबाट हिमशृङखला हेरिरहँदा मेरो मन पनि चञ्चल भइरहेको थियो ।
भयानक गृहयुद्धको चपेटामा परेको मुलुकबाट फर्केको मलगायतका नेपाल प्रहरी जतिजति हवाईजहाज त्रिभुवन विमानस्थलको नजिक आउँदै थियो त्यतित्यति आफूलाई सुरक्षित महसुस गर्दै थियौँ । जसै हवाईजहाज त्रिभुवन विमानस्थलको रनवेमा ल्यान्ड गर्‍यो, हामी सबैले पशुपतिनाथको जय भन्यौँ र मैले सोचेँ, ‘अब भने म अकालमा मर्ने छैन ।’
०५० सालको अन्ततिर म नेपाल फर्किएँ । गृहयुद्धले मुलुक कसरी ध्वस्त बनाउँदो रहेछ भनेर मैले आफ्ना परिवार र प्रशिक्षक भएर प्रहरीलाई पनि कम्बोडियाको दर्दनाक कथा सुनाउन थालेँ । मानिसलाई हुलका हुल ठड्याएर आँखा बाँधी गुरिल्लाहरूले गोली हानी मारेकादेखि लिएर ट्युबवेलमा चार इन्चको किला राखेर मेचमा मान्छेलाई राखी टाउकोमा किला गाडेर मारेका घटनाहरू मैले सुनाउँदा सुन्नेहरू भावविह्वल हुन्थे । बालबालिका र महिलामाथि गुरिल्ला तथा सरकारी सेनाहरूले गरेका ज्यादतीहरूको कथा त सुनाएर साध्य नै थिएन । त्यतिबेला म भन्ने गर्थेँ जे होस्, गरिबी भए पनि हाम्रो देश सुरक्षित छ । सुरक्षाका साथ जीवन बिताउन पाउनु पनि एक साधारण नागरिकका लागि निकै ठूलो बरदान हुँदोरहेछ ।
कम्बोडियाबाट फर्केको एक-डेढ वर्षभित्रै नेपालमा पनि सशस्त्र विद्रोह सुरु भयो । नाम जे दिइए पनि आखिर त्यो गृहयुद्ध नै थियो । त्यो आवश्यक थियो वा थिएन ? त्यो युद्धले नेपालको सार्वभौम सत्तालाई अझै मजबुत बनाई राष्ट्रिय एकता कायम राख्न योगदान दियो वा दिएन ? त्यो युद्धले नेपालमा औद्योगिकीकरण र स्वावलम्बी हुन मद्दत गर्‍यो वा गरेन ? त्यो युद्धले नेपालीलाई विश्वसामु गौरवपूर्वक एउटा सम्पन्न मुलुकको नागिरक भएको पासपोर्ट बोकेर विश्व भ्रमणमा निस्कन सक्ने बनायो वा बनाएन ? त्यो युद्धले नेपालको शिक्षा, स्वास्थ, कृषि, पर्यटन, ऊर्जा, वातावरण, यातायातलगायत अन्य विकासका क्षेत्रमा उदाहरणीय रूपको प्रगति गरायो वा गराएन ? त्यो नतिजा अझै हेर्न बाँकी छ तर यो कुरा निश्चित हो कि त्यो युद्धले धेरै नेपालीका छोराछोरी मृत्युवरण गर्न बाध्य भए, अपाङ्ग हुन बाध्य भए, लुटिन, अपहरणमा पर्न र विस्थापित हुन बाध्य भए र नेपालीले दुःखसाथ जोडेका अर्बाैं रुपैयाँबराबरका भौकित संरचनाहरू उनीहरूले गुमाउन बाध्य भए । समाजमा डरत्रासको वातावरण सिर्जना भयो ।
आफ्नै आँखाअगाडि आफूले नचाहेको कम्बोडियाको दृश्य नेपालमै हेर्न म पनि बाध्य भएँ । जुन हिमालमुनि म आफूलाई सुरक्षित महसुस गर्दथेँ त्यही हिमालको काख मेरा लागि संसारकै असुरक्षित देश बन्न थाल्योे । मेरो घरमा बम पड्कियो । नेपालमा जनयुद्ध अगाडि बड्न र उचाइमा पुग्न दरबार र काङ्ग्रेस एमाले नै मुख्य दोषी थिए । म आफैं प्रहरी अधिकृत भएका कारण नेपालमा जनयुद्ध जन्मेको हर्ुर्केको, बडेको नजिकबाट देखिरहेको थिएँ तर अधिकांश समय सरकारमा रहेको काङ्ग्रेसका नेताहरूको यस युद्धलाई हर्ेर्ने दृष्टिकोण टिठलाग्दो देखिन्थ्यो ।
२०५४ सालतिर होला म सप्तरीमा एस.पी. थिएँ । पश्चिममा युद्ध विस्तार हुँदै थियो । मैले सप्तरीमा शान्तिसुरक्षा दिने रणनीति सम्बन्धमा एक एक्जिविसन नै लगाएको थिएँ । गृहमन्त्री खुमबहादुर खड्का हुनुहुन्थ्यो । उहाँले सबै मेरा कुरा सुन्नुभयो तर त्यसको खासै महत्त्व दिनुभएन । मन्त्रीलाई भेट्न स्थानीय नेताहरू पनि आएका थिए । एस.पी. कार्यालयमै खाना खाने कार्यक्रम भएकोले म त्यहीँ थिएँ । मन्त्री खड्काले कुरैकुरामा भन्नुभयो, ‘अब काङ्ग्रेसले पच्चीस वर्ष शासन गर्नेछ ।’ कम्बोडियाको युद्ध देखेर फर्किएको मजस्तो पुलिस अफिसर मन्त्रीको कुरादेखि सहमत हुन सकिरहेको थिइनँ, तर सुन्न विवश थिएँ । मन्त्री खड्काले त्यो कुरा भन्नुभएको अहिले करिब तेह्र वर्ष मात्र भयो, यसबीच जङ्गलमा बसेर युद्ध लड्ने पार्टीभन्दा उहाँको पार्टी सानो भएर खुम्चिन बाध्य मात्र भएन बल्की उहाँ आफंै यो युद्धको कारणले असुरक्षित महसुस गरेर बाँच्नुपर्ने अवस्था आयो ।
कुनै भिजनबिनाका नेताहरूबाट न विकास सम्भव छ न शान्तिसुरक्षा नै । यो कुरा विश्वमा प्रमाणित भइसकेको छ । युद्ध लडेर शासनमा आएको माओवादीले पनि यो कुरा बुझ्न जरुरी छ कि बन्दुक बोकेर शासनमा आउनुभन्दा पनि गाह्रो समाजलाई सुरक्षित र विकसित बनाउनु छ । हाम्रो समाज भर्खर बम, गोली, आतङ्क, अपहरण, विस्थापित, तालबन्दी, चक्काजाम, बन्द, तोडफोड, आक्रमण, हत्या, अङ्गभङ्गको चपेटाबाट क्रमशः बाहिर आउन प्रयास गरिरहेको छ र यसबीच विकासका हिसाबले यो मुलुक पचास वर्ष पछाडि धकेलिएको पनि छ । मान्छेहरूको एक-अर्काप्रतिको माया, स्नेह, श्रद्धाभाव, पचास प्रतिशत लोप भइसकेको छ । नेपालीबीच भएको राष्ट्रप्रेम र राष्ट्रिय एकताको जग पचास प्रतिशत भत्किएको छ । विकासको गति पचहत्तर प्रतिशतले रोकिएको छ । जनतामा असुरक्षा र अराजकताको डर असी प्रतिशतले बढेको छ । वास्तवमै हिजोको कम्बोडिया अहिले नेपालमै देख्न पाइन्छ ।
जे होस्, नेपालले दश वर्षपछि नै युद्धले विश्राम गर्ने बाटो लियो । जङ्गलको युद्ध विश्रामतिर लागे पनि अनगिन्ती बन्दुक त्यही युद्धको सफलता देखेर बन्दुकको सहारामा आफ्नो अस्तित्व स्वीकार गराउन अझै देशका विभिन्न स्थानमा सक्रिय भइरहेका छन् । ती बन्दुक जब जात, क्षेत्र, भूभागका लागि भन्दै चल्न थाल्छन् त्यतिबेला मलाई लाग्दैन कि सरकारको फौजले मात्र त्यसलाई नियन्त्रण गर्न सक्छ । हिजो शेरबहादुर, खुमबहादुर, गोविन्दराज जोशीले सोचेझैं आजका गृहमन्त्रीले त्यस्ता बन्दुकलाई साधारण हिसाबले लिनुहुँदैन । सरकार चलाउन बसेका हिजोको नेताको अक्षमताले नेपालीले शान्तिक्षेत्रमा दश-दश वर्ष युद्ध भोग्नुपर्‍यो अब आजका नेताको अक्षमताले हाम्रा भावी पर्ुखाले दुःख नपाऊन् ।
म २०६७ सालमा एक कार्यक्रममा भाग लिन भियतनाम गएको थिएँ । भियतनामले निक्कै विकास गरिसकेछ । बहुराष्ट्रिय कम्पनीहरू प्रशस्त आएका रहेछन् । हनोईबाट थाइल्यान्ड आउँदा हवाईजहाजमा चेकोस्लोभाकियाको लगानीकर्तासँग भेट भयो । उनीहरूले चेकोस्लोभाकियामा बनेका सामान, मेसिन, हवाईजहाज किन्दा बिनाब्याज नै ऋण दिँदा रहेछन् । मैले नेपालमा पनि लगानी गर्न अनुरोध गरेँ । उनले भने नेपालमा सुरक्षा छैन त्यसैले त्यहाँ लगानी गर्ने हाम्रो नीति छैन । मैले सोधेँ- तपाईं कहाँ-कहाँ गर्नुहुन्छ ? उनले भने- एसियामा नेपालमा बाहेक अन्त जहाँ पनि गर्न सकिन्छ । भारतमा, बंगलादेशमा सकिन्छ । मैले सोधेँ, ‘अहिले तपाईंहरूले कहाँ धेरै लगानी गरिरहनुभएको छ -’ उनले भने, ‘कम्बोडियामा ।’ म झस्केँ । कम्बोडिया ? जहाँ ३० लाख मानिस मारिएका थिए र ०५० सालसम्ममा त म आफैंले चुनाव गराएको थिएँ, त्यो देशमा लगानीको वातावरण भइसकेको छ भन्दा मलाई विश्वास नै लागेन । उनले हाँस्दै भने, ‘केही वर्षभित्रै कम्बोडिया एसिएन देशहरूमा शक्तिशाली बन्नेछ । लामो युद्धबाट त्यहाँका जनता र राजनीतिज्ञहरूले बुझिसकेका छन् कि युद्धअपराध र झगडाले मुलुक उँभो लाग्दैन । त्यसैले त्यो मुलुकको अब एउटै धुन छ विकास, विकास, विकास ।’
म वाल्ल परेर ती चेक साथीको मुखमा हेरिरहेँ । युद्धपछि पनि यति थोरै समयमा कुनै मुलुक यसरी प्रगति गर्न मात्र होइन अन्तर्राष्ट्रिय लगानीकर्तालाई समेत आकृष्ट पार्न सक्छ भन्ने मलाई थाहा थिएन । त्यसरी वर्षौंसम्म आफू-आफूबीच रगतको होली खेलेका जनताबीच पनि कुनै कुशल नेतृत्वले सबैलाई पुनः भाइचारामा बाँध्न सक्दोरहेछ भन्ने पनि मलाई थाहा थिएन तर सम्भव रहेछ । आज कम्बोडिया अन्तर्राष्ट्रिय जगत्का लागि सुरक्षित लगानीस्थल हुनु र शान्तिक्षेत्र कहलिएको नेपालचाहिँ असुरक्षित कहलिनुमा अब कसले जिम्मा लिने हो त्यो व्यक्ति वा संस्था पहिचान गर्न जरुरी छ ? राजा त अब छैनन् ? जनतालाई दोष लगाउने ठाउँ नै छैन । तर, देशको यो दर्ुदशाको जिम्मा त कसैले लिनैपर्छ, त्यो को हो ? अब नेपालीले खोज्न थाल्नुपर्छ । हामीलाई शान्ति र विकास चाहिएको छ । जसका लागि हामी नेपाली नेता र जनता दुवैले कम्बोडियाबाट केही सिक्नुपर्नेछ ।

No comments:

Post a Comment