Friday, November 4, 2011

दूध रक्षाको जिम्मेवारी बिरालोलाई सुम्पिएजस्तो नहोस्

प्रचण्ड फेरिएका भए त ठिकै भयो बुद्धलाई नै फेर्न खोजेका हुन् भने चाहिँ अर्को एउटा असाध्य भूल हुँदै छ !
- देवप्रकाश त्रिपाठी
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई विश्व बुद्धधामका रूपमा विकास गर्न विशेष तत्परता लिइएको छ । संसारभरिका बौद्धमार्गी र हरेक नेपालीका लागि यो सुखद् समाचार हो । गौतम बुद्धको जन्मस्थलका रूपमा लुम्बिनी नेपालमा पर्नु गौरवको विषय भए पनि जन्मस्थलबारे उत्पन्न भ्रम निवारण हुन नसक्नुलाई चाहिँ दुःखद् एवम् लज्जापूर्ण मान्नुपर्ने हुन्छ । सन् २००८ मा अमेरिकाको मेनियापोलिस विमानस्थलको अध्यागमन जाँचका क्रममा लाइनमा भेटिएका एक दक्षिण कोरियाली भिक्षुले म नेपाली भएको थाहा पाउनेबित्तिकै प्रसन्नतापूर्वक भनेका थिए, ‘बुद्ध त तपाईंको देशमा पो जन्मनुभएको रहेछ, मैले भारतमा धेरै समय बिताएँ, जन्मस्थल भारत नै हो भन्ने विश्वास मलाई थियो, मलाई मात्र होइन हाम्रा कोरियाली जनता र संसारमै धेरैलाई नेपालको लुम्बिनी बुद्धको जन्मस्थल हो भन्ने थाहा छैन । अब म लुम्बिनी पुग्ने योजना बनाउँदै छु ।’ उनले सुझाव दिँदै भनेका थिए, ‘तपाईंहरूले प्रचारप्रसार अलिक बढाउनुपर्‍यो ।’ ती कोरियाली भिक्षुको कुरा अर्जुनको वाणझैं मेरो मुटुमा रोपियो । आफ्नो निधिलाई समेत आफ्नो भएको प्रमाणित गर्न/गराउन नसक्ने कस्ता अगुवाहरूले सञ्चालन गरेको मेरो देश ! सम्झँदै कोरियाली भिक्षुसँग म अलग्गिएको थिएँ । नेपालमा लुम्बिनी
विकासका नाममा उच्चस्तरीय समितिहरू धेरै बने, अनेक आकारप्रकारमा मानिसले लुम्बिनी विकासको जिम्मेवारी पाए, देश र विदेशको अर्बौं रुपैयाँ लुम्बिनीमा खर्च भएको छ, तर बुद्धको जन्मभूमि यही लुम्बिनी भएको विश्वास स्थापित गर्नचाहिँ बुद्ध जन्मेको साढे दुई हजार वर्षभन्दा बढी समय बितिसक्दा पनि सकिएको छैन । यसपालि लुम्बिनी विकासको नेतृत्व माओवादी कम्युनिस्ट पार्टीका मुख्य नेता प्रचण्डलाई दिइएको छ र, लुम्बिनीलाई विश्व बौद्धधामका रूपमा विकास गर्न प्रचण्डले अन्तर्राष्ट्रिय सहयोग जुटाउन विशेष पहलकदमी पनि लिइसक्नुभएको छ । विश्व बौद्धधामको विकासको जिम्मेवारी माओवादी नेतालाई सुम्पनु या माओवादी नेताले त्यस्तो जिम्मेवारी लिनु आफैंमा रोचक छ । प्रचण्ड त्यस्तो दर्शनमा विश्वास गर्नुहुन्छ जसले कुनै पनि धर्ममा विश्वास गर्दैन, धर्मलाई अफिमको रूपमा व्याख्या गर्ने गरिन्छ । गौतम बुद्ध कुनै राजनीतिकर्मी, ठूला व्यवसायी र कुनै विषयका विशेषज्ञ थिएनन्, उनी इर्साई धर्मका क्राइष्ट र मुसलमान धर्मका मोहम्मदझैं बौद्ध धर्मका प्रवर्तक हुन् । विश्वका करोडौँ मानिसले बुद्धद्वारा प्रतिपादित सूत्रलाई धर्मका रूपमा स्वीकार गरेका छन् र यसलाई बौद्ध धर्मका रूपमा पुकार्ने गरिएको छ । धर्मको अवधारणा र अस्तित्वलाई नै अस्वीकार गर्ने दर्शनका हिमायती प्रचण्डले बौद्ध धर्मको विकासमा अग्रसरता लिनु स्वयम्मा आश्चर्यजनक सर्न्दर्भ बन्न पुगेको छ । अर्को रोचक पक्ष के छ भने नेपालमा सबैभन्दा ठूलो हिंसात्मक आन्दोलनको अगुवाइ गर्ने व्यक्तिलाई शान्तिका अग्रदूत मानिने भगवान् बुद्धको प्रमुख धाम बनाउने जिम्मेवारी प्राप्त भएको छ । ‘पैसा र पावरका निम्ति जस्तोसुकै सङ्घर्ष र सम्झौता गर्न पनि तयार हुने नेता’को उपमा पाउनुभएका प्रचण्डले एउटा धर्मको विकास गर्न किन यतिधेरै अग्रसरता लिँदै हुनुहुन्छ ? प्रश्न उठ्नु स्वाभाविक छ ।
कम्युनिज्मलाई एउटा धर्मका रूपमा स्वीकार नगर्ने हो भने कम्युनिस्टहरूलाई धर्मविरोधीका रूपमा विश्वले नै बुझदै आएको छ । कार्लमाक्र्सले धर्मलाई अफिमको संज्ञा दिएर कम्युनिस्टहरूलाई प्रचलित धर्मका विरुद्ध जाइलाग्न पे्ररित गरेकै हुन् । माओ त्से तुङले चीनमा नयाँ संस्कृतिको निर्माण गर्ने भन्दै हजारौँ मन्दिर र गुम्बा ध्वंश गरेको चार दशकपछि नेपालका माओवादीहरूले सुरु गरेको हिंसात्मक युद्धका क्रममा देवी-देवताका दर्जनौँ मन्दिर र मूर्ति तोडफोड गरिए, पुजारीहरू कुटिए, पण्डितहरू काटिए । हिन्दू देवी-देवता र हिन्दू धर्मसम्बद्ध कार्यकर्ताप्रति ज्यादा आक्रामक देखिएको माओवादी युद्ध र उक्त युद्धको सफलतासँगै क्रिश्चियन धर्मको विस्तारलाई एउटा संयोग मात्र मानिएको छैन । विश्वको एक मात्र हिन्दूराष्ट्रका रूपमा नेपालको आफ्नो पहिचान जुन कायम भएको थियो, उक्त पहिचान मेट्नु माओवादी युद्धको अभीष्ट थियो कि धनको बलमा धार्मिक साम्राज्य निर्माण गर्न उद्यत् इर्साईहरूको ? नेपालमा मुसलमानहरू धर्म प्रचारमा सरिक थिएनन् । बौद्धमार्गी र हिन्दू धर्मावलम्बीका बीच कुनै प्रकारको प्रतिस्पर्धा थिएन, बरु अनौठो सद्भाव र समन्वय थियो र छ । गौतम बुद्धलाई सनातनी हिन्दूहरूले भगवान् विष्णुकै अवतारका रूपमा पूजा गर्ने गरेका छन् । पशुपतिमा तीस डिग्रीमा झुक्ने शीर स्वयम्भूमा पनि तीसै डिग्रीमा झुक्ने गरेको छ । हरेक नागरिकलाई कुनै पनि धर्म मान्ने या नमान्ने स्वतन्त्रता छ, यसर्थमा कुनै व्यक्ति इर्साई बन्छ भने त्यो उसको इच्छा र अधिकारको कुरा हो । तर, नगदको बलमा चुनाव जित्नु या नगदकै बलमा धर्म परिवर्तन गराउनुचाहिँ कसैका निम्ति पनि स्वीकार्य विषय होइन । माओवादीलाई सशस्त्र सङ्घर्ष गर्न पैसा चाहिने, इर्साई धर्मका प्रचारक संस्थाहरूसँग नगदको कमी नहुने, अनि बन्यो सम्बन्ध कलम र बिर्कोको जस्तो । त्यसपछि सुरु भयो सतातनी हिन्दू धर्ममाथिको हमला । धेरै नेपालीहरूलाई यस्तै लागेको छ । माओवादीहरू धर्मकै विरोधी थिए या हुन् भने उनीहरूले कुनै धर्मविशेषलाई आक्रमणको निसाना बनाउने र कुनैलाई सहज वातावरण बनाइदिने कदापि गर्ने थिएनन् । यदि उनीहरू दार्शनिक दृष्टिले धर्मको अवधारणाकै विरोधी हुन् भने प्रचण्डले विश्व बौद्धधाम निर्माणको जिम्मेवारी लिनु पनि हुँदैनथ्यो । सनातन हिन्दू, बौद्ध, इर्साई मुसलमान, शिख, जैन, ताओ आदि सबै धर्मलाई समदूरीको व्यवहार गरिएको भए प्रचण्ड र उनको समूहको नियतमाथि कुनै कोणबाट प्रश्न उठ्ने स्थिति शायदै बन्ने थियो । हुन त हाम्रो शास्त्रमा रत्नाकर डाँकु कसरी वाल्मीकि ऋषि बने भन्ने कुराको पनि व्याख्या गरिएको छ । एकपटक बिग्रिएको मानिस सुध्रिन पाउँदैन भन्ने मान्यता बोक्नु अनुचित हो । तर, सुध्रिएको विश्वास दिलाउन प्रचण्डले विगतको आफ्नो गल्तीका निम्ति कम्तीमा आत्मालोचना गर्नुपर्ने, गरिएको छैन । तथापि प्रचण्ड रत्नाकर सुध्रिएझैं सुध्रिएर अब सर्त्कर्ममा लाग्न खोजेका हुन् भने उनलाई निरुत्साहित गरिरहन आवश्यक छैन, बरु सकारात्मक परिवर्तनका निम्ति उनको स्वागत गर्नु उचित हुन्छ । धार्मिक आवरणमा फेरि पनि सत्ता, शक्ति र पैसाकै निम्ति कुनै अर्को खेल रचना गर्न खोजिएको हो भने त्यो अब नेपाली जनताका निम्ति सहनयोग्य हुन सक्दैन ।
हिन्दू धर्मको जग भूमिमा गहिरो ज्ञान-दर्शनको तरेली बसेको छ । मिमान्सा, वैशेषिक, वेदान्त, न्याय, चार्वाक, साङ्ख्य र भगवान् कृष्णको गीता सनातनीहरूको अमूल्य-अटुट निधि हुन् । आदिकालदेखि प्रचलित वेदद्वारा निर्देशित सनातनी समाजलाई छिन्नभिन्न तुल्याउन ऐतिहासिक कालखण्डमा पनि दानवहरूद्वारा पटकपटक हमला हुने गरेको शास्त्रहरूमा पढ्न पाइन्छ । प्रचण्डहरूको उदयसँगै सनातनी हिन्दूहरूमाथि आइलागेको सङ्कटलाई त्यसै रूपमा बुझन सकिन्छ ।
धर्मका पछाडि दर्शनको आड-भरोसा हुनुपर्छ । स्वस्थानी, बाइबल या कुरानका कथाकुथुङ्ग्रीलाई नै दर्शन मान्न थालियो भने त्यस्तो मान्नेहरूजति दिग्भ्रमित कुहिरोको काग पनि हुने छैन । माक्र्सले पनि सायद बाइबल मात्र पढे र धर्म अफिम हो भन्ने घोषणा गरिदिए । वेद, साङ्ख्य, चार्वाक, गीता, बुद्धविचार र कौटिल्यको अर्थशास्त्र मात्र पढेका भए सम्भवतः माक्र्सले कम्युनिस्ट पार्टीको घोषणापत्र जारी गर्नुहुन्थेन, माक्र्ससँग हामीहरूको भेट शंकराचार्यको कुटीमा हुनसक्थ्यो । हामीमध्ये धेरैलाई थाहा छ- पश्चिमी दर्शनले भौतिक सुख-सुविधाको खोजी गर्दछ भने पूर्वीय दर्शन आत्मिक सन्तुष्टि सोधनको प्रयासमा छ । पश्चिमी दर्शन यसै लोकको जैविक सुख र भौतिक सत्यको खोजमा केन्द्रित छ भने ूर्वीय दर्शन जीवन, जगत् र सृष्टिको रहस्य बुझन प्रयासरत देखिन्छ । सत्यको सत्ता पत्ता लगाउने क्रममा सनातनीहरूले चार्वाकजस्तो भौतिकवादी विचारलाई पनि आफूहरूको निधिका रूपमा स्वीकार गरेका छन् भने साङ्ख्यजस्तो पदार्थ र चेतना दुवैको स्वतन्त्र अस्तित्व स्वीकार गर्ने दर्शनलाई पनि आफूभित्रै समेटेका छन् । कुनै न कुनै रूपले इश्वरको अस्तित्वलाई स्वीकार गर्ने मिमान्सा, वैदेशिक, वेदान्त, न्याय आदि दर्शनलाई त झन् नसमेट्ने कुरै भएन । सनातन धर्मको आधार बलवान भएकै कारण पौराणिक कालमा दानवहरूबाट यो जोगिएको हो र अहिले प्रचण्डहरूबाट पनि यसको निर्मूलीकरण सम्भव देखिँदैन । प्रचण्डले पिताजीको किरिया नगरेकै कारण सनातन धर्म सङ्कटमा पर्ने पनि होइन । यहाँ हामीले विचार गर्नुपर्ने पक्ष के मात्र हो भने दार्शनिक दृष्टिले नै धर्मविरोधी व्यक्ति अहिले कुनै धर्म विस्तार र विकासका निम्ति भन्दै अगाडि आएका छन् । सनातन धर्मलाई सङ्कटग्रस्त तुल्याउन त युद्धकालमै प्रचण्डहरूबाट पर्याप्त प्रयास भएको हो र खुल्ला भइसकेपछि हिन्दूराष्ट्रको पहिचान विधानतः मेटेर पनि उनले सनातनीहरूमाथि नै हमला गरेका हुन् । अब शान्तिका पर्याय बनेका भगवान् गौतम बुद्धका नाममा प्राप्त हुने साधन र स्रोत पनि सत्ताप्राप्तिको नाजायज क्रियाकर्ममा प्रयोग गरिने हो कि भन्ने चिन्ता थपिएको छ । प्रचण्ड फेरिएका भए त ठिकै भयो बुद्धलाई नै फेर्न खोजेका हुन् भने चाहिँ अर्को एउटा असाध्य भूल हुँदै छ भनेर बुझ्नुपर्ने हुन्छ । दूध रक्षाको जिम्मेवारी बिरालोलाई सुम्पिएजस्तो नहोस्, सबै धर्मावलम्बीहरूमा शुभकामना ।

No comments:

Post a Comment