Thursday, December 29, 2011

एउटा सुयोग्य तानाशाह प्रकट भएर देश चलाइदिए ....!


"राजा, साम्यवादी, प्रजातन्त्रवादी, क्षेत्रवादी, जातिवादी, हिंसावादी, शान्तिवादी, वर्गवादी, समतावादी आदि सबै असफल भइसकेको अवस्थामा प्रजातन्त्रको विकल्प नदेख्नेहरूले समेत एउटा सुयोग्य तानाशाह प्रकट भएर देश चलाइदिएको परिकल्पना गर्नुपर्ने अवस्था आउँदो रहेछ, तर त्यस्ता तानाशाह कहाँबाट कहिलेसम्म कसरी प्रकट होलान् ? प्रतीक्षा बस्, त्यसको हुँदैछ ।"  

- देब प्रकाश त्रिपाठी
आफैं मर्ने बेला हुँदा पनि अरूलाई मारेर खाने बाघको इच्छा मर्दैन, घिस्रिएर सिकारको प्रयास गरिरहेको हुन्छ, यसलाई हामी बाघको स्वाभाविक प्राकृतिक गुणका रूपमा बुझन सक्छौँ । सिकारी भूमिकामा अयोग्य र अक्षम भइसक्दा पनि बाघले सिकारको प्रयास गर्न नछोडेझैं प्राणीजगत्मा यस किसिमको प्रवृत्ति अनेक आकार-प्रकारमा देख्न सकिन्छ । आफूले गरिआएको, गर्न जानेको या प्राकृतिक रूपमै सुनिश्चित भएको कार्यबाट कुनै पनि प्राणी निवृत्त हुन सक्दैनन् । त्यसैले जीवनवृत्ति, मनोविनोद, यौनानन्द, सुखानुभूति र शक्तिप्राप्तिप्रतिको चाहना हरेक प्राणीमा जीवनपर्यन्त रहन्छ । शक्ति प्राप्तिको चाहनाबाट वशीभूत मानिसहरू जो राजनीतिमा छन् उनीहरू व्यवहारत: अक्षम र अशक्त प्रमाणित भइसक्दा पनि प्राप्तिको प्रयास छाड्दैनन्, आफू असफल भइसकेको स्वीकार गर्दैनन् । राजनीतिकर्मीहरूले पूर्णत: असफल भइसकेको त्यसबेलासम्म ठान्दैनन् जबसम्म अर्को कसैले तिनलाई विस्थापित गर्दैन । बहुदलीय प्रजातन्त्रले पञ्चायतलाई विस्थापित नगरुन्जेल पञ्चहरूले पञ्चायतकै भविष्य देखिरहेका थिए र अन्तिम घडीसम्म पनि पञ्चायती प्रणाली रक्षाका निम्ति उनीहरू सक्रिय थिए । ०६१/०६२ तिर राजा र
राजतन्त्र पूर्ण शक्तिशाली देखिन्थे, देशमा राजाबाहेक बाँकी सबै असफल भइसके भन्ने ठानिन्थ्यो । तात्कालिक राजा स्वयम्लाई पनि आफू कति कच्चा धरातलमा उभिएको छु भन्ने सायद जानकारी थिएन, ‘गणतन्त्र’ले विस्थापित गरेपछि मात्र राजाले आफ्नो असफलता स्वीकार गरेका हुनसक्छन् ।
वास्तवमा राजनीतिकर्मीहरूले आफ्नो असफलता सामान्यतया कहिल्यै स्वीकार गर्दैनन् । कुनै पनि प्राणीले मृत्यु स्वीकार गर्न नसकेजस्तै हो राजनीतिकर्मीहरूले असफलता स्वीकार गर्ने कुरा । त्यसैले लोकतन्त्र स्थापनापछिका पौने ६ वर्षो अभ्यासले नेपाली राजनीतिकर्मीहरूलाई असफल प्रमाणित गरिसकेको भए पनि उनीहरूले यस्तो सत्यलाई त्यसरी नै अस्वीकार गर्ने गरेका छन् जसरी मृत्युशय्यामा पुगेको बाघले समेत आफूलाई सिकार गर्न असफल भएको ठान्दैन ।
माओवादी क्रान्ति अभियन्ताका नायक प्रचण्डलगायतका नेताहरू पूर्वनिर्धारित सोचअनुरूपको क्रान्ति सम्पन्न गर्न नसक्ने अवस्थामा पुगिसकेका छन् । नेपालको भूसामाजिक बनोट आफैंले कथित जनवादी क्रान्तिलाई निषेध गरिरहेकोले यहाँ प्रचण्ड र किरण मात्र होइन साक्षात् माओ त्से तुङ, स्टालिन, लेनिन र होची मिन्ह एकसाथ प्रकट भएर क्रान्ति अभियान सञ्चालन गरे पनि नेपालमा जनवादी क्रान्ति असम्भव मानिन्छ । नेपालको हरेक राजनीतिक परिवर्तनमा दक्षिणको छिमेकी मुलुक भारतको महत्त्वपूर्ण र निर्णायक प्रभाव इतिहासदेखि वर्तमानसम्म पर्दै आएको छ । विश्वको सबैभन्दा ठूलो प्रजातान्त्रिक मुलुक हुनुका नाताले भारतबाट प्रजातन्त्रकै पक्षमा काम-कारबाही हुन्छ भन्ने विश्वास गरिन्छ । कम्तीमा पनि जनवादी क्रान्तिलाई सघाउने कामचाहिँ भारतबाट हुनसक्छ भनेर यस धर्तीका कसैले पनि ठानेका छैनन् । यो सत्यलाई प्रचण्ड-बाबुराम दुवैले ढिलो भए पनि बुझिसकेको हुनुपर्छ, त्यसैले उनीहरू जनवादी क्रान्तिलाई दस्तावेजहरूमा सुरक्षित राख्दै व्यवहारमा पछि हटिसकेका छन् । यही कारणले हुनुपर्छ- शास्त्रीय क्रान्तिका पक्षधरहरूले प्रचण्ड-बाबुरामलाई असफल घोषणा गरिसकेका छन् ।
त्यस्तै अर्को पक्ष छ- प्रजातन्त्रवादी, जो विश्वमा प्रचलित बहुदलीय प्रजातान्त्रिक प्रणालीलाई आफ्नो विचारर्-दर्शनका रूपमा ग्रहण गर्दै नेपालमा प्रजातन्त्र सुदृढीकरण अभियानमा क्रियाशील रहेको दाबी गर्छन्, उनीहरू पनि आफ्नो अभियानमा असफल भइसकेको जनसाधारणले ठानेका छन् । प्रजातन्त्रवादको अगुवा दल नेपाली काङ्ग्रेसका खास-खास नेताहरूले केही कालयता काङ्ग्रेस र प्रजातन्त्रलाई अप्ठ्यारो तथा माओवादीलाई सजिलो तुल्याइने भूमिका निर्वाह गरेका हुन् । तिनको प्रजातन्त्रप्रतिकूल भूमिकाले माओवादीलाई केही हदसम्मको सहजता उपलब्ध गराएको भए पनि काङ्ग्रेस र प्रजातन्त्रलाई प्रतिकूलतामा पुर्‍याएको अवश्य हो । संविधानसभा निर्वाचन परिणाम र त्यसयताका अनेक प्रयासमा काङ्ग्रेसले अविच्छिन्न असफलता व्यहोरेको छ । नेतृत्वले जे-जस्ता तर्क र कारण पेस गरेको भए पनि काङ्ग्रेसको कार्यकर्तापङ्क्ति नेतृत्वलाई सफल मान्न तयार छैनन् र प्रजातन्त्रप्रेमी आमसमुदायले चाहिँ समग्र काङ्ग्रेस पार्टी नै असफल रहेको ठान्दै छन् । संसद्को तेस्रो ठूलो राजनीतिक दलको हैसियतमा रहेको नेकपा एमालेको भूमिका एकदलीय अधिनायकवादी जनवादका लागि नहुने विश्वास गर्न थालिएको भए पनि प्रजातन्त्रलाई संस्थागत एवम् सुदृढ तुल्याउने दिशामा एमालेको भूमिका पूर्णत: कमजोर तथा असफल ठानिन्छ । जो-जस्ता पक्षसँग मिलेर भए पनि सत्ता एउटाचाहिँ प्राप्त गरिहाल्ने एमाले पछिल्लो चार महिनादेखि सत्ताविहीन अवस्थाबाट गुज्रिँदै छ । एमालेको भूमिका प्रजातन्त्र र देशलाई होइन कि आफू स्वयम्लाई सफल तुल्याउने प्रकारको पनि ठानिएको छैन ।
जातका कुरा गर्नेहरू जातीय राज्य बनाउन असफल, सङ्घीयताका अभियन्ताहरू सङ्घीय संरचना खडा गर्न असफल, एकात्मक राज्य-प्रणालीका र्समर्थकहरू देशको एकात्मकता जोगाउन असफल, मधेसका कुरा गर्नेहरू मधेसमै असफल, शान्तिका पक्षपाती दाबी गर्नेहरू शान्ति स्थापना गर्न असफल, संविधानसभालाई समस्या समाधानको अन्तिम अस्त्र ठान्नेहरू चार वर्ष बित्नै लाग्दा एउटा लोकतान्त्रिक संविधान निर्माण गर्न असफल, अपराध नियन्त्रणको जिम्मा लिनेहरू त्यसैमा असफल, आर्थिक समृद्धिका कुरा गर्नेहरू आफ्नो यात्रामै असफल र समग्रमा भन्नुपर्दा सबै क्षेत्र असफल भइसकेको छ भन्नुपर्छ । तर, राजनीतिमा क्रियाशील विभिन्न आकार-प्रकारका प्राणीहरू आफूलाई असफल मान्न किमार्थ तयार छैनन् । योभन्दा पनि रोचक पक्ष त के छ भने कुनै पनि मुलुकमा एउटा पक्ष असफल हुँदा अर्कोले जिम्मेवारी लिएको या लिन खोजेको देखिन्छ, तर यहाँ देश सुधारको जिम्मेवारी लिने अग्रसरता कतैबाट पनि प्रकट भएको देखिँदैन । कुनै पनि मुलुक नेपालको विद्यमान जस्तै अवस्थामा रहँदा त्यहाँ कुनै न कुनै रूपको तानाशाह प्रकट भएर अन्यलाई विस्थापित गरेको तथ्य इतिहासमा भेटिन्छ, तर नेपालमा ‘डिक्टेटर’ बन्न सक्ने सामर्थ्य, क्षमता र साहस भएका कोही एक मानिससमेत देखिएनन् । ०६३ को जनआन्दोलनदेखि गणतन्त्र घोषणासम्म आइपुग्दा प्रचण्डले आफूमा ‘डिक्टेटर’ बन्न सक्ने सामर्थ्य भएको सन्देश दिन खोज्दै थिए, पशुपतिनाथको मूलभट्ट परिवर्तन र प्रधानसेनापति चयन प्रकरणले उनलाई पनि सायद आफ्नो औकातबारे ज्ञान गरायो, पछिल्लो समयमा उनी लाठी प्रहारबाट थिलथिलो -घाइते) हुन पुगेको र्सपझैं हलचल नै गर्न नसक्ने अवस्थामा पुगेका छन् । काङ्ग्रेसमा ‘डिक्टेटर’झैं देखिएका एक गिरिजाप्रसाद कोइराला थिए, तत्काल देखिएका खास-खास नेताहरूबाट चमत्कार हुने आशा गरेर आफैंलाई भ्रममा राख्नु हामी सबैको भूल हुनसक्छ । राजनीतिक शक्ति सम्पूर्ण रूपले असफल भइसकेको अवस्थामा या त जनताले स्वस्फर्ुत सङ्घर्षका माध्यमबाट देशमा नेतृत्व स्थापित गर्नुपर्ने या सेनाले राज्यसत्तामा सम्पूर्ण नियन्त्रणको प्रयास गर्नुपर्ने हो । तर, यहाँ जनता सडकमा ओर्लन जसरी डराएका छन् त्यसैगरी सिंहदरबार प्रवेश गर्न सेना पनि डराएको छ । राष्ट्रिय जिम्मेवारी बोध गर्ने सर्न्दर्भमा सेना र जनतासमेत यर्सथमा असफल छन् भने अब यो मुलुकको जिम्मेवारी कसले लिने भन्ने प्रश्न खडा भएको छ । राजाको शासनलाई अस्वीकार गर्दै लोकतान्त्रिक गणतन्त्रको ‘मज्जा’ लिन थालेको करिब आधा दशकले नेपालको राजनीतिक, प्रशासनिक, आर्थिक एवम् सुरक्षासम्बद्ध सबै क्षेत्र असफल भएको देखाएको छ । लोकतान्त्रिक गणतन्त्र संस्थागत एवम् सुदृढ तुल्याउँदा अराजकता, असुरक्षा, दण्डहीनता, अशान्ति, अपराध र माफिया शैलीका भागवण्डासमेत संस्थागत हुने खतरा बढिसकेको हुँदा लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने कि नगर्ने भन्ने खतरनाक प्रश्न उठ्ने स्थिति बनेको छ । प्रजातन्त्रको विकल्प पनि प्रजातन्त्र मात्र हुनसक्छ भन्ने गुलियो सत्यबारे जानकारहरूले समेत पछिल्लो कालखण्डमा एक सुयोग्य तानाशाहको परिकल्पना गर्न थालेका छन् । त्यस्ता सुयोग्य तानाशाहको कोटिमा प्रचण्ड, बाबुराम, माधव, झलनाथ, शेरबहादुर, रामबहादुर आदि कोही पर्नसक्ने ठानिएका छैनन् । जङ्गी पोसाकभित्र पनि छत्रमान अति रुग्ण र दर्ुबल मानिन्छन् । त्यसैले संविधानसभाभित्रबाट शान्ति र संविधानको आशा गर्दागर्दै थाकेका आँखाहरूले अहिले एउटा साहसी र सुयोग्य तानाशाहकै खोजी गर्दा पनि भेटिने सम्भावना कम हुँदै गएको छ ।
राजनीतिक संस्था र व्यक्तिहरू असफल हुँदा त्यसले निराशा पैदा गर्छ, त्यस्तो निराशाजनक स्थितिले निरङ्कुशताको आधारभूमि निर्माण गर्दछ । विश्वमा प्रजातान्त्रिक संस्था र व्यक्ति असफल हुँदा कुनै न कुनै रूपका अधिनायकवादको जन्म हुन पुगेको देखिन्छ, तर हामीकहाँ प्रजातन्त्रवादी र अधिनायकवादी दुवैथरी असफल भएका छन्, त्यसैले यहाँ एउटा सुयोग्य तानाशाह प्राप्त गर्न पनि मुस्किल हुँदै गएको छ । अधिनायकवादीहरूसमेत अधिनायकवाद स्थापना गर्न डराउने स्थिति सिर्जना हुनेगरी देशलाई अस्तव्यस्त बनाउन सक्ने सामर्थ्य हाम्रा राजनीतिकर्मीहरूले दर्शाएका छन् । नेपालको स्थापनाका निम्ति गोरखामा पृथ्वीनारायण शाह प्रकट भएझैं चरम राजनीतिक अस्थिरता र सत्ता केन्द्रमा निरन्तर झमेलाबाट गुज्रिरहेको नेपालमा कमान सम्हाल्न जंगबहादुर राणाको उदय भएझैं र प्रथम विश्वयुद्धपश्चात्को सन्धिले गिराएको आत्मस्वाभिमानलाई माथि उठाउन जर्मनीमा हिटलर देखापरेझैं विद्यमान दर्ुदशाबाट देशलाई मुक्ति दिलाउन एक सुयोग्य तानाशाहको प्रतीक्षा जुन जनस्तरबाट समेत हुँदै छ, तर कतैबाट प्रकट हुनसक्ने आधार र सङ्केतहरू देखिएका छैनन् । राजा, साम्यवादी, प्रजातन्त्रवादी, क्षेत्रवादी, जातिवादी, हिंसावादी, शान्तिवादी, वर्गवादी, समतावादी आदि सबै असफल भइसकेको अवस्थामा प्रजातन्त्रको विकल्प नदेख्नेहरूले समेत एउटा सुयोग्य तानाशाह प्रकट भएर देश चलाइदिएको परिकल्पना गर्नुपर्ने अवस्था आउँदो रहेछ, तर त्यस्ता तानाशाह कहाँबाट कहिलेसम्म कसरी प्रकट होलान् ? प्रतीक्षा बस्, त्यसको हुँदै छ । विद्यमान संविधानसभा र त्यसका अगुवाहरूको निरङ्कुशता दिन प्रतिदिन त्याज्य हुँदै गएको परिप्रेक्ष्यमा जनताले अपेक्षा गर्न थालेको सुयोग्य तानाशाह आगामी जेठ १४ अगावै प्रकट होलान् या त्यसपछि ? जहिले भए पनि देश र प्रजातन्त्रप्रेमी जनसमुदायबाट अहिले भइरहेको सबैभन्दा ठूलो प्रतीक्षाचाहिँ एक सुयोग्य तानाशाहकै हो, जसको आधारभूमि राजनीतिक क्षेत्रले निर्माण गरिसकेको छ ।


( संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका नेपाल मदर डट कम www.NepalMother.com , जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं - Email : Info@Nepalmother.com)

No comments:

Post a Comment