Friday, January 13, 2012

साबधान काठमाडौंमा मुख मिठाइ मिठाई मम खाने महानुभाबहरु !

-कृष्ण भण्डारी
राजधानीमा खाजाका लागि लोकपि्रय बनेको मम नै अस्वस्थकर बिक्री-वितरण हुने गरेको खुलेको छ। नियमन निकाय गम्भीर नहुँदा ममको मुख्यस्रोत किमा पिनेकॊ मासु विष्णुमती नदीको किनारको दुर्गन्धित क्षेत्रमा तयार गरी बिक्री गर्ने गरेको खुलासा भएको हो। खाद्य ऐन एवम् नियमावलीमा भएको फितलो प्रावधानको फाइदा उठाउँदै सम्बद्ध व्यवसायीले बढी मुनाफाको लोभमा दूषित किमा तथा मासुको खुलेआम कारोवारलाई निरन्तरता दिएका छन्। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र काठमाडौं महानगरपालिकाको अनुगमन कारबाही प्रक्रियामा खिचातानी हुँदा कारोबार मौलाएको सम्बद्ध स्रोतले बताएको छ। खसी कुखुरा र राँगाको मासुको बजार मूल्यको तुलनामा खोला किनाराको उक्त मासुको किमा औसत ७० प्रतिशतसम्म सस्तो हुने गरेको छ। राजधानीका अधिकांश बधशाला पनि संवेदनशील स्थानमा संचालित छन्। मासु सफा गरिने पानी विष्णुमती कै प्रयोग हुने
र किमा बनाउँदा छाला बोसो आन्द्रा लादी तथा मासुका लागि प्रयोग हुन नसक्ने अंगका टुक्रासमेत पिनेर विष्णुमती र बाग्मती नदी किनारबाटै खुलेआम बिक्री हुने गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र काठमाडौं महानगरपालिकाका अधिकारी नै स्वीकार गर्दछन्।
खसीको मासु प्रतिकिलो ५ सय ५० रुपियाँ रहेको किमा २ सय कुखुराको मासु प्रतिकिलो २ सय २० रुपियाँ रहेकामा किमा १ सय र राँगाको मासु प्रतिकिलो २ सय २० रुपियाँसम्म रहेकामा किमा भने प्रतिकिलो ४० रुपियाँदेखि ८० रुपियाँसम्म कारोबार हुने गरेको अनुगमनमा फेला परेको हो। मध्यम तथा निम्नस्तरका होटल रेस्टुरेन्ट र खाजा घरमा खसीको मम ८० देखि १ सय ५० रुपियाँसम्म कुखुराको मम ६० देखि १ सय २० रुपियाँसम्म र बफ मम ३० देखि १ सय रुपियाँसम्ममा बिक्री हुने गरेको छ। प्रतिप्लेट ३० रुपियाँदेखि ८० रुपियाँसम्म बिक्री हुने भेज मममा समेत होटल तथा रेस्टुरेन्टमा प्रयोग हुने तरकारीको खेरजाने अंश नै बढी प्रयोग हुने गरेको सम्बद्ध कामदार बताउँछन्।

स्वास्थ्य मन्त्रालय रोग नियन्त्रण महाशाखाका निर्देशक डा. गरिबदास ठाकुरका अनुसार दूषित खानाको सेवनले छालासम्बन्धी रोगका अतिरिक्त हैजा टाइफाइड जन्डिस झाडा पखाला र फुड पोइजन हुने बताइएको छ।
नागरिक न्यायिक उपभोक्ता माचका अध्यक्ष सहदेव गौतमले राजधानीका बधशाला र किमा बनाउने स्थानले न्यूनतम मापदण्डसमेत पूरा नगरी उपभोक्तालाई ठाडै विष सेवन गराएको बताउनुभयो।

'दैनिक २५ लाख माथिको कारोबार र खाजामा ८० प्रतिशतभन्दा बढी मम प्रयोग हुँदासमेत अनुगमनको प्रभावकारी संयन्त्र नहुनु लाजमर्दो अवस्था हो’ -अध्यक्ष गौतमले भन्नुभयो। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक जीवनप्रभा लामाले बधशालाको मासु र किमा अस्वस्थकर बिक्रीवितरण हुने गरेको स्वीकार गर्दै ऐन-नियममा पुनरावलोकन एवम् स्थानीय निकायसँग समन्वय आवश्यक भएको बताउनुभयो।

काठमाडौं महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले मासुजन्य पदार्थको कारोबारमा स्वस्थता अनिवार्य हुने औंल्याउँदै कामपाले सटर हाउस बनाएर मापदण्डभित्र संचालन गराउन लागेको दाबी गर्नुभयो। उहाँका अनुसार काठमाडौं महानगरमा मात्रै ५ सय मासु पसलले अनुमति लिएर कारोबार गरे पनि २ हजार ५ सयभन्दा बढी मम पसल अझै नियमसंगत रुपमा नचलेको स्वीकार गर्नुभयो।

राष्ट्रिय उपभोक्ता माचका अध्यक्ष प्रेमलाल महर्जनले अस्वस्थकर खाद्य पदार्थलाई निरुत्साहित गर्न ऐन-नियममा कडाइ गरी प्रभावकारी अनुगमन अधिकृत परिचालन गर्नुपर्ने खाँचो औंल्याउनुभयो। राजधानीमा मात्र झन्डै साढे २ हजारवटा मध्यम स्तरका ममः पसलले दैनिक २५ लाख रुपियाँभन्दा बढी कारोबार गर्छन्। निम्न गुणस्तरको किमा र खाद्य पदार्थ प्रयोग हुँदा औषत ४५ देखि ६५ प्रतिशतसम्म मुनाफा हुने भएकाले होटल साचालक पनि मौन बस्ने गरेका छन्।

ऐन-नियममा के छ
काठमाडौं, (नेस), बजारमा अस्वस्थकर खाद्य तथा मासुजन्य पदार्थलाई निरुत्साहित गर्न खाद्य ऐन २०२३ र नियमावली २०२७ कार्यान्वयनमा रहेका छन्। ती ऐनको दफा १ ँक’ मा उपभोक्ताको जीवनमा गम्भीर असर गर्ने आद्य पदार्थ बिक्री-वितरण गरेमा १० हजार रुपियाँसम्म जरिवाना हुनसक्ने प्रावधान रहेको छ।

दफा २ मा दूषित खाद्य पदार्थ खाएर उपभोक्ताको मृत्यु भएको अवस्थामा किटानीसहित क्षतिपूर्तिको माग भएमा सरोकारवाला उद्योगी तथा साचालकलाई ३ वर्ष कैद वा १ लाख रुपियाँ जरिवाना तथा दुवै सजाय हुनसक्छ। हालसम्म दफा २ अनुसारको कारबाही कसैलाई हुन नसकेको अधिकारकर्मी प्रेमलाल महर्जन बताउनुहुन्छ। सो ऐनले उद्योगको रुपमा उत्पादन हुने पदार्थमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र अन्य साना कारोबारमा स्थानीय निकायसँग अनुज्ञापत्र लिएरमात्र कारोबार गर्ने पाइने अवधारण ल्याए पनि कार्यान्वयन हुन सकेको छैन।



( संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका नेपाल मदर डट कम www.NepalMother.com , जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं - Email : Info@Nepalmother.com)

No comments:

Post a Comment