Friday, January 20, 2012

प्रहरीकै बन्दुक खोसेर प्रहरीमाथि आक्रमण : फरार अभियुक्त पक्राउ गर्न गएको प्रहरी टोलीमाथि अभियुक्तहरूले प्रहरीकै हतियार खोसेर आक्रमण गरे

दिनेश थापा/ सिन्धुपाल्चोक, फरार अभियुक्त पक्राउ गर्न गएको प्रहरी टोलीमाथि अभियुक्तहरूले प्रहरीकै हतियार खोसेर आक्रमण गरेका छन् । आक्रमणबाट एक प्रहरी जवान घाइते भएका छन् । ज्यान मार्ने उद्योगमा इलाका प्रहरी कार्यालय मेलम्चीमा मुद्दा दर्ता भएका भोताङका मंगले तामाङसहित अन्य अभियुक्तलाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि आक्रमण हुँदा प्रहरी जवान श्याम गिरी घाइते भएका हुन् । तामाङसहितको टोली आएको सुराकी पाएपछि पक्राउ गर्न १० जनाको प्रहरी टोली आइतबार राति जिल्लाको भोताङ-५ मा पुगेको थियो । सो टोलीले मंगलेसहित १० जना बसिरहेको घर घेरा हाली बाहिर निस्कन भनेपछि अभियुक्तहरूले खुकुरी, तरबार र रडले आक्रमण गरेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक लोकहरि खनालले जानकारी दिए । 'प्रहरीको संख्या थोरै देखेपछि बाहिर निस्केका अभियुक्तहरूले खुकुरी, तरबार र रडसहित प्रहरीमाथि आक्रमण गरे,' प्रहरी निरीक्षक खनालले भने । उनले अभियुक्तहरूले प्रहरीको बन्दुक खोसेर प्रहार गरेको दर्ुइ राउन्ड गोलीमध्ये एक राउन्ड प्रहार भएको र अर्काे चेम्बरमै अड्केको जानकारी दिए ।
बन्दुक खोसेर प्र्रहरी टोलीमाथि आक्रमण भएको सूचना पाएलगत्तै प्रहरी निरीक्षक खनालको नेतृत्वमा थप टोली परिचालन भएको थियो । जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक -डीएसपी) राजेन्द्रकुमार थापाले सोमबार बिहान ४ बजे पुगेको थप प्रहरीले अभियुक्त पक्राउ गर्न २५ राउन्डभन्दा बढी हवाईफायर गर्न बाध्य भएको जानकारी दिए । उनले प्रहरी टोलीले घर फोडेर प्रहरीबाट खोसेको हतियार, दर्ुइ थान खुकुरी र रडसहित आठजनालाई पक्राउ गरेको बताए । पक्राउ पर्नेमा अभियुक्त मंगलेसहित भोताङका प्रेम तामाङ, शंकर तामाङ, तेम्बा तामाङ र विजय लामा छन् । घटनामा संलग्न दोर्जे तामाङ र पासाङ
तामाङ फरार रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय मेलम्चीमा राखिएको छ । गत १ कात्तिकमा भोताङ-१ का तेम्बा तामाङलाई सोही गाविसका मंगले, सुक तामाङ, राजु तामाङ र लाक्पा तामाङसहितले खुकुरी प्रहार गरी फरार रहेका थिए । उनीहरूविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको थियो । मंसिरमा अभियुक्तमध्येका एक मंगलेलाई पक्राउ गर्न गएको गस्ती प्रहरीलाई समेत अभियुक्तहरूले भरुवा बन्दुकले प्रहार गरी फरार भएका थिए ।

No comments:

Post a Comment