Saturday, February 25, 2012

भ्रष्टाचारीको कुनै जात, धर्म, समुदाय हुँदैन, उनीहरु ‘भ्रष्टाचारी’ मात्र हुन्

- उपेन्द्र यादव, अध्यक्ष, मधेसी जनअधिकार फोरम नेपाल





प्रसङ्ग गुप्ताबाटै सुरु गरौं न ।
- गुप्ता कुहिसके, गन्हाइसके, नालीमा गइसके । त्यो दुर्गन्धलाई कति कोट्याउनुहुन्छ ? छाडिदिनुस उनको कुरै नगरौं ।
जेपी गुप्ताको पतनमा सबैभन्दा बढी उपेन्द्र यादव खुसी छन् भन्छन् नि हो ?
अहिले देश नै खुसी छ । एउटा भ्रष्टाचारी एउटा अपराधी जेल गयो भने को दुखी हुन्छ र ? त्यो अपराजबाट लाभ पाउनेहरु न दुःखी हुने हुन् । व्यक्तिगत हकमा भन्दा म खुसी पनि छैन, दुखी पनि छैन । किनभने उनी कांग्रेसमा हुँदा गरेका कार्यहरुका लागि अदालतले सजाय सुनाएको हो । गिरिजाप्रसादको शरणमा उनले अकुत सम्पत्ति कमाएका हुन् र त्यो उनको व्यक्तिगत मामिला हो । त्यससँग हाम्रो कुनै सरोकार छैन ।
तपाईले त मिठाई नै बाड्नु भो रे ?
-जनताहरुले बाँडे । उनकै गाउँमा, उनकै जिल्लामा सबैभन्दा ठूलो खुसी छ । किनभने उनलाई सबैले चिनेका छन् नि ।
व्यक्तिगतरुपमा तपाई गुप्ताको जेल यात्राबाट कति खुसी या दुःखी हुनुभयो ?
-यो सामान्य कुरा हो । चिरञ्जिवी बाग्ले जेल गएर सुशील कोइराला किन खुसी हुने, किन दुःखी हुने ? एउटा भ्रष्टाचारी जेल जान्छ भने म किन खुसी हुने किन दुःखी हुने ?
तपाई नै उनीहरुलाई ‘ब्राण्डेड भ्रष्टाचारी’ भन्नुहुन्छ । त्यो थाहा हुँदाहुँदै रातो कार्पेट विच्छ्याएर पार्टीमा भित्र्याउनु भयो र मधेस आन्दोलनको सुनपानी छर्केर चोख्याउने प्रयास गर्नुभयो । त्यतिखेर तपाईलाई थाहा थिएन उनीहरु भ्रष्ट हुन भन्ने कुरा ?
-त्यसको परिणाम हामीले राम्रैसँग भोगिसक्यौं । उनीहरुलाई हामीले सुधि्रन्छन् भनेर रातो कार्पेट विच्छ्याएर पार्टीमा ल्याएकै हो । तर, तीनले त विगार्ने, मधेस आन्दोलनलाई कमजोर बनाउने र पार्टीलाई तोड्ने फोड्ने अनेक काम गरे । उनीहरुले गरेका गलत कामको असर र दुष्परिणाम हामीले भोगिसक्यौं । अहिले
साथीहरुले के भन्न थालेका छन-’पार्टीबाट बाहिरै गएर जेल गयो त्यही राम्रो भो, पार्टी कलंकबाट बच्यो ।’

तर, जेपीजीले त मधेस आन्दोलनमा लागेकाले मलाई दण्डित गरिएको हो भन्नुभएको छ नि ?
-यो त दोहोरो चरित्र भयो । आफैँ अदालतमा उपस्थित भएर म सजाय भोग्न तयार छु भनेर लिखित रुपमा कबुल गर्ने, अनि जब प्रहरीको गाडी बढ्ने बेलामा चाँही पत्रकारका अघि चर्को कुरा गर्ने ? भ्रष्टाचारीलाई भ्रष्टाचारीकै रुपमा हेर्नुपर्छ । भ्रष्टाचारीको कुनै जात, धर्म, समुदाय हुँदैन, उनीहरु ‘भ्रष्टाचारी’ मात्र हुन् । फेरि जेपी कहाँबाट मधेसको पक्षमा लडेका थिए र ? पहिलो मधेस आन्दोलन हुँदा त उनी त्यसको बिरोधमा बक्तब्यबाजी गरेर हिडेका थिए । तपाई त्यतिबेलाका पत्रिका पल्टाएर हेर्नुस न ।
जेपी मात्र हैन, अरु ब्राण्डेड भ्रष्टाचारीहरुलाई पनि लाइन लगाएरै भित्र्याउनु भएको हैन र ?
- भ्रष्टै भन्दा पनि पार्टीमा राम्रा नराम्रा धेरै खालका मान्छे आएका छन् । नयाँ पार्टीमा त धेरै मान्छे बाहिरैबाट आउँछन् नि ।
पार्टी छाडेर गएकाहरुलाई भ्रष्टाचारी भनिरहँदा तपाई त्यसबाट अछुत हुनुहुन्छ भनेर कसरी पत्याउने ?
-हामी भनेको धेरै साधारण मान्छे । हाम्रा सबैकुराहरु खुला हुन्छन, लुकाउने ठाँउ पनि छैन् ।
मधेस आन्दोलनपछि काठमाडौंको वत्तिसपुतलीमा साथीहरुले थाहा नपाउन भनेर अर्कैका नाममा घर किन्नुभएको तर, जसको नाममा किनियो उसैले खाइदियो भन्ने चर्चा छ नि ?
-त्यो सौभाग्य त मैले पाउँदै पाइन । -लामो हाँसो)…. । एउटा घर, एउटा पार्टी कार्यालय किन्न पाए हुन्थ्यो भन्ने सँधै लागिरहन्छ । तर, सकिएको छैन । बत्तिसपुतली त मैले राम्रोसँग देखेको पनि छैन् । मलाई थाहै थिएन, तपाईलाई मेरो घर खाई दिएको थाहा रहेछ । बरु मलाई दिलाई दिनुहोस् न । -फेरि लामो हाँसो) ।
मधेस आन्दोलन पहिले र पछि तपाईको आर्थिक हैसियतमा म परदर्शी छु र सार्वजनिक गर्न सक्छु भन्न सक्नुहुन्छ ?
-त्यो सबैकुरा जनतालाई थाहा छ ।
उसो भए पैसा नभएकै कारण तपाईको पार्टी चोइटेको चोइटेकै गर्दो रहेछ हो ?
म सँग पैसा भएको भए त जेपी गुप्ता र गच्छदारले जसलाई पैसा दिएर लगे, उनीहरुलाई मै पैसा दिन्थें । अनि किन जान्थे र ? हाम्रो सबैभन्दा ठूलो समस्या भनेको पार्टीमा फण्डको अभाव हो । धेरै गाह्रो छ ।
तपाईको पार्टी ऋणमा हो ?
ऋण, साँबा, ब्याज भन्दा पनि हामी आर्थिकरुपले ज्यादै जटिल अवस्थामा छौं । धेरै राम्रा योजनाहरु छन् तर आर्थिक अभावका कारण गर्न सकिएको छैन । पहिले पो सभासदहरु थिए, अलिकती स्रोत पनि हुन्थ्यो, अहिले त सभासद पनि थोरै छन् । धेरै गाह्रो छ ।
सत्ताबाट बाहिरिएपछि झनै गाह्रो भएको होला है ?
सत्तामा बस्दा पनि त्यस्तै हो । म परराष्ट्रमन्त्री भएँ, परराष्ट्र मन्त्रालयमा तलब बाहेक कुनै आर्थिक कारोबार हुँदैन । विकास निर्माण, खरिद विक्री केही हुँदैन् ।
तपाई परराष्ट्रमन्त्री हुँदा गच्छदार जी भौतिक योजना तथा निर्माण र गुप्ता जी कृषिमन्त्री जस्तो आर्कषक ठाउँमा हुनुहुन्थ्यो । स्रोत जम्मा भएन ?
उहाँहरुले त जम्मा पार्नु भो तर, पार्टी फुटाउन र आफ्नो पार्टी बनाउन लगानी गर्नु भो । तीनले किन अर्काको पार्टी बनाउँथे र ?
कस्तो विडम्बना- मधेस आन्दोलनको राप र तापबाट उमि्रएका केन्द्रीय सदस्य, सभासद सबै पैसामा बिके भन्नुहुन्छ ?
- सबै पैसामा विके भन्दा पनि कतिपय राजनीतिक भ्रममा जान्छन्, कतिपयलाई मन्त्री बनाइदिन्छु भन्ने जस्ता गलत आश्वासन पनि दिइएको हुन्छ । नभए, मानिलिनुस, मंसँग बस्दा असन्तुष्टि थियो, विजय गच्छदारकहाँ गएपछि त सन्तुष्ट हुनु नि । त्यहाँ पनि कलह छ । जेपी गुप्ता जेल गए, तर, त्यसअघि नै त्यहाँ पनि कलह नै थियो नि । ३/३ महिना, ६/६ महिनामा सरकार बदली हुने कारणबाट पनि अबसर पाइन्छ कि भनेर मानिसहरु जान्छन् । हाम्रो मात्र हैन अरु पार्टीमा पनि यस्तै छ । त्यसैले अहिलेको फुटको मुख्य कारण विचार भन्दा पनि अबसर नै हो । मानिसमा अत्यधिक महत्वकांक्षा र त्यसलाई परिपूर्ति गर्ने साधन श्रोतको सिमितता पनि हो ।
मधेस आन्दोलनमा तपाईका साथमा रहेको युवाहरुले अहिले एक एक गर्दै साथ छाड्दै गएको जस्तो देखिन्छ । एक्लो महसुस गर्नुभएको छैन ?
-आन्दोलनमा देखिएको मास संधै कसैको पछि रहँदैन । ३६ सालको आन्दोलनपछि जनमत संग्रहको घोषणा भयो र एउटा विशाल मास कांग्रेस र कम्युनिष्टको पछि लाग्यो । परिणाम घोषणापछि ठूला आन्दोलन त कहीँ पनि भएनन नि, कहाँ गयो त त्यो मास ? ज्ञानेन्द्र पूर्वाञ्चल, पश्चिमाञ्चल जाँदा एउटा ठूलो भिड पछि लाग्थ्यो, तर ज्ञानेन्द्र झिटीगुन्टा कसेर नागार्जुन जाँदा त कोही पनि साथमा गएनन् । त्यसकारण कुन बेलामा कुन भिड आउँछ र को जान्छ त्यसको आधारमा राजनीति नापिँदैन । आधार भनेको नीति, कार्यक्रम र मुद्धा हो । हिजो आन्दोलन हुँदा हाम्रो पार्टी नै थिएन, सानो जमात थियो । आज गाउँदेखि केन्द्रसम्म हाम्रो नेटवर्क छ । भनेको हिजोको भन्दा त कयौं गुणा हामी अगाडी बढ्यौं ।
पार्टी टुक्रेको टुक्रियै छ, सभासदको संख्या समिति भइसक्यो । अगाडी भन्दा पछाडी गएको पो देखिन्छ त ?
-हैन, भिड भनेको संधै हुँदैन । भूकम्प त संधै आउँदैन नि । जुन बेला आउँछ, कसेर झड्का दिन्छ । त्यसअघि पछि पनि धक्का दिइरहन्छ । तर, सँधै धक्का त दिँदैन नि । त्यसैले राजीतिक पार्टीहरुमा अन्दोलनका बेला जुटेको मास सँधै रहिरँदैन र त्यो मासमा कति जना छ र छैन भनेर नाप्नु गलत हो ।
हामीले जान्न खोजको नि, हिजो आन्दोलनमा युवा मास गियो, आन्दोलन सफल भयो, त्यसपछि चुनावका बेला अरु हृवारहृवार्ति आए । तर, अहिले न हिजोका युवा सारथी रहे न पछि आएकाहरु ?
-त्यसो हैन । अहिले तराईका जिल्लाहरुमा हामीले विशाल कार्यक्रमहरु गरिरहेका छौं । २/४ जना सभासद यताउता हुँदैमा सबै गयो, सिद्दियो भन्नु गलत हो । वास्तविकता के हो भने पार्टी यथावत नै छ, अझ बढेर गएको छ । जुन सभासदको संख्या गणितको थियो, त्यो गणितिय संख्या मात्र हामीले गुमाएका छौं । लुजर हामी त्यहाँ मात्र हौं ।
तपाईबाट छुटि्टएर गएकाहरु अहिले मधेसी मोर्चामा गोलबन्द भएका छन्, सत्तामा छन् । उनीहरुले सेनामा मधेसी भर्ना, नागरिकता जस्ता एजेण्डा पूरा गराउन पहल गरिरहेका छन । एजेण्डा उनीहरुले पूरा गर्ने, भिड चाहिं तपाईको पछाडी लाग्ने । यस्तो पनि हुन्छ र राजनीतिमा ?
-ती सबै फोरमकै एजेण्डा हुन् । फोरमकै आन्दोलनले मुलुकमा युगान्तकारी परिर्वतन ल्याएको हो । जसका नाम तपाईहरु लिँदै हुनुहुन्छ, मधेस आन्दोलनका बेला उनीहरु कोही कांग्रेसका मन्त्री थिए, कोही एमालेका सभासद थिए । मधेस आन्दोलनमा त थिएनन् ।
जहाँसम्म जागिर लगाइदिने कुरा छ, दुई-चार जनालाई जागिर लगाउने हो कि देशै खुसी पार्ने हो ? त्यही जागिर लगाउने काम पनि गर्न सकेको भए त हुन्थ्यो नी । मुद्धा विचार र एजेण्डा हामीसँगै छ । उनीहरुसँग त सत्ता र पैसामात्र छ ।
राजनीतिमा त पैसा र सत्ता भयो भने सब थोक हुन्छ हैन र ? अझ मधेसमा त पैसा र सत्ता नै शक्तिको स्रोत हो भन्छन् ।
हुँदैन । राजनीतिमा विचार भयो भने सबथोक हुन्छ । सहि विचार छ तर, एक्लै हुनुहुन्छ भने चिन्ता नगर्नुस् भोली धेरै साथीहरु हुन्छन् । तपाईसँग विचार नै छैन, मुद्धा नै छैन भने जतिसुकै पैसा र सत्ता भएपनि त्यो क्षणिक हुन्छ । पछि सबैले छोड्छ र एक्लै हुनुहुन्छ । राणाहरुपछि सबैभन्दा लामो समय त मरिचमान प्रधानमन्त्री भए, खै त ? ज्ञानेन्द्रसँग सत्ता, पैसा, सेना के थिएन ? तर, जाने बेलामा त झिटिगुण्टा मात्र लगे ।
जेपी गुप्ताको पतनपछि अब मधेसको नेतृत्व कस्ले लिन्छ, उपेन्द्र कि गच्छदार भन्ने प्रश्न उठेको छ नि ?
यसलाई व्यक्तिमा केन्द्रीत गरेर नहेरौं । जोसँग विचार हुन्छ, त्यही अगाडी बढ्छ ।
अब फुटेर गएकाहरुसँग एकताको पहल गर्नु हुन्छ ?
नेपालमा कम्युनिष्ट पार्टी ६७ चोटी फुट्यो । कांग्रेस २७ पटक टुक्रियो, शेरबहादुर देउवा लास्ट एपिसोड थियो । तर, ती टुक्रिएकाहरु कहाँ पुगे ? अंक पनि भेट्टाउन गाह्रो छ । सभासदहरु हुँदैमा ठूलो हुने र जाँदैमा सानो हुने भन्ने हुँदैन । पार्टी एकता असम्भव हैन तर, तत्कालै सम्भव छैन ।
तपाईलाई माओवादीसँग नजिक भएको आरोप लाग्छ नि ?
-यस्तो आरोप पार्टी फुटाउने बेला मात्र काम लाग्छ । पार्टी फुटाएपछि त उनीहरु नै माओवादीको शरणमा गए । त्यसपछि उपेन्द्रभन्दा बढी नजिक हामी भएछौं भन्नु पथ्र्यो नि ।
यथर्थता के हो भने यो मुलुकको परिर्वतानकारी शक्ति भनेको माओवादी र हामी हौं । मधेस आन्दोलन र माओवादी जनयुद्ध नभएको भए ज्ञानेन्द्रले डण्डाले पेलेर राजनीति गथ्र्यो । त्यो परिर्वतनलाई निष्कर्षमा पुर्‍याउनु पर्नेमा परिर्वतनकारी शक्तिहरु लडे भने प्राप्त उपलब्धीहरु सिद्दिन्छ । त्यसैले परिर्वतनलाई निष्कर्षमा नपुर्‍याउँदासम्म परिर्वतनकारी शक्तिहरु आपसमा लड्नु हुँदैन ।
गौर घटना चाँही लडाई नै थियो हैन ?
त्यो दुर्भाग्यपूर्ण दुर्घटना हो ।
माओवादीले त तपाईलाई मुख्य योजनाकार र मतियारको आरोप लगायो, तपाई लुकेर वस्नुपर्ने अबस्था पनि आयो , तर अहिलेसम्म त्यो आरोपको राजनीतिकरुपले प्रतिबाद नै गर्नुभएन ?
-माओवादीले अहिले रियलाइज गरिसकेको छ । ‘विगतमा गलत सुचनाका आधारमा केही सोंच बनाइएको थियो’ भन्ने महसुस उनीहरुले गरेपछि यसलाई कोट्याउन आवश्यक छैन ।
व्यक्तिगत रुपमा तपाई र प्रचण्डको सम्वन्ध सुमधुर छ भन्छन् नि ?
नेपालको राजनीतिमा कसैसँग पनि मेरो सम्वन्ध नराम्रो छैन, सबैसँग सुमधर नै छ । तर विचारका आधारमा फरक छ । विचारका आधारमा हामी दुई ध्रुवमा छौं ।
तपाईले माओवादी चाँही किन छाड्नु भएको हो ?
जब समातेकै थिएन भने छाड्ने कुरा किन आउँछ ? म कहिल्यै माओवादी भइन तर, एक समयमा मैले राम्रैसँग सहयोग गरेको हो । म माओवादीको कार्ड होल्डर भइन । त्यसबेला म एमाले नै थिएँ । मैले सहयोग चाहिं राम्रै गरेको हुँ । किन सहयोग गरेँ भने माओवादी गणतन्त्रका लागि लडेको हो । र त्यतिवेलाको परिर्वतनका लागि लडेको हो ।
भनेपछि इतिहासमा तपाई कहिल्यै पनि माओवादी हुनुहन्थेन ?
म माओवादी थिएँ भन्नु मनगढन्ते कुरा हो । मैले सहयोग गरें, केही समय सहयात्रा पनि भयो । त्यस्तो सहयाात्रा अरु कम्युनिष्ट पार्टीसँग पनि भयो ।
माओवादीसित लामो सहयात्रा गर्नुभयो तर, अन्त्यमा पार्टी नै छोड्नु भो किन ?
मैले नेपालका कम्युनिष्ट पार्टीका धेरै नेताहरुसँग काम गर्ने सौभाग्य पाएँ । मलाई पुष्पलालले सदस्यता दिएका हुन् । तुलसीलाल, मनामोहन, मदन भण्डारी हुँदै राजाका पाउमा दाम राखेर ढोग्नेसम्मसित सहयात्रा भयो । बाबुराम, प्रचण्डसँग पनि संगत गरें । मैले नेपाली कम्युनिष्ट पार्टीका सबै ब्राण्ड र भेराइटीका नेताहरुको क्यारेक्टरलाई राम्रोसँग बुझ्ने मौका पाएँ । र म के निष्कर्षमा पुगेँ भने नेपालमा आइडोलोजी, क्यारेक्टर र प्राक्टिसमा कोही पनि कन्युनिष्ट भएटिएनन् । अहिले एमाले र कांग्रेसको पार्टीको बाहिरको कभरको पार्टीको चिन्ह हटाइदिनुस् त के फरक छ ? अब त्यही बाटोमा माओवादी विस्तार विस्तारै जाँदैछ । तत्काललाई त्यता जान गाह्रो देखिएको मात्र हो ।
मधेसबादी दलहरुलाई अक्सर भारत परस्त भनिन्छ । किन होला ?
पहिले म कम्युनिष्ट पार्टीमा काम गर्दा जो सँग रिस उठ्छ उसलाई सीआईएको एजेण्ट भनेर गाली गथ्र्यौं । रिस उठेका बेला त जे भनेपनि भो तर, यथार्थ त्यस्तो होइन । अहिले बाबुराम, माधवकुमार तथा पहिला मात्रिकाप्रसाद कोइरालासम्म कसरी प्रधामन्त्री बने ? मधेसीलाई गाली गरिन्छ तर, गैरमधेसीहरु कहिले काँही त नेपाली हुँ भन्ने पनि बिर्सन्छन् । उनीहरु हिन्दीमा भट्याउँदै ‘हामारा जन्म कान्याकुब्जमे हुवा था । हाम कान्याकुब्जी ब्राम्हण हे, हामारा पुर्वजओका जन्म कुमाउँ गढबलमा हुवा था, इसिलिए हाम कुँमाई ब्राम्हण हे । हाम और आप उपाध्याय हे और एक हि हे’ भनेर व्याख्या गरेको पनि यही कानले सुनेको छु । प्रधानमन्त्रीकै चुनावअघि माधव नेपालले मेरो जन्म सितामढिमा भएको हो किन भने ? त्यसकारण केहीले मधेसीलाई बदनाम गर्ने तर कुर्कम जति आफै गर्ने गर्छन् ।
तर, भारतबाट आउने नेताहरुले पनि मधेसीहरुसँग खानपिनसहित वेग्लै भेट्ने, अलिक बढी स्नेह देखाउने गर्छन् नि ?
-कसले कसलाई कहाँ भेटे त्यो अलग कुरा हो । तर यर्थाथ त्यस्तो हैन । यो भनेको एउटा मधेसीलाई बदनाम गर्ने र अर्को एन्टी इण्डियन सेन्टिमेन्टका आधारमा पहाडी जनमानसलाई दिगभ्रमित गर्ने ‘अल्ट्रा लेफ्ट’हरुको रणनीति हो । यता एक थोक र पारी गएपछि अर्को कुरा बोल्ने गरिन्छ । उनीहरु सुविधा अबसरका लागि त्वमं शरणम् गरेर आत्मसमर्पण गर्ने गरेका छन् ।
तपाईले प्रचण्डलाई साथ दिएपछि दक्षिणी मित्रहरु रिसाएको र पार्टी फुटनुमा पनि उतैको हात रहेको चर्चा भयो । तपाईले पनि अनौपचारिक रुपमा त्यही कुरा बताउनुभयो रे ?
-त्यो भएको भए त बाबुराम प्रधानमन्त्री नै नबन्नु पर्ने । दक्षिण र माओवादीको सम्वन्धलाई विश्लेषण गर्ने हो भने माओवादी यत्रो शक्तिशाली हुनुमा दक्षिणको पनि ठूलो हात छ । के के भूमिका छन् अहिले नै बाहिर नल्याउँ तर, दक्षिण र माओवादी टाढाका विषय हैनन् । विचमा सामान्य ठाकठूक मात्र भएको हो ।
पुष्पलाल, एमाले, माओवादी हुँदै फोरमसम्मको राजनीतिक यात्रा गरिसक्नु भएको छ। कुनै यस्तो निर्णय छ, जसप्रति अहिले पनि गहिरो पश्चाताप छ ?
-कहिले काँही बढी आशाबादी हुनाले मान्छले दुःख पाउँछ । हामीले विजय गच्छदार र जेपी गुप्ता जस्तालाई पार्टीमा ठाउँ दिनु ऐतिहासिक भूल नै थियो भनेर हामीले स्वीकार गरेका छौं । त्यसो नगरिएको भए आजको परिस्थिति फरक हुन्थ्यो ।
तर, तपाईको उचाई निर्माणमा जेपी गुप्ताको ठूलो भूमिका छ भन्नेहरु पनि छन् नि ?
-त्यो तपाई विश्वास गर्नुहुन्छ ? । मान्छेले त त्यस्ता पा पापीहरुलाई गंगाजल छर्केर शुद्ध पार्नु भयो भन्छन मलाई । जेपीलाई त मैले सप्तरीको आफ्नो क्षेत्रबाट उठाएर जिताएको हुँ । कसैले पनि जेपीलाई भोट हाल्न मानेको थिएन् । मेरो ठूलो परिवार छ, उनीहरुलाई भनेर, म आफैं मतदान केन्द्रमा पुगेर जेपीलाई जिताउन लागेको हुँ ।
**********************************************************

जेल जाँदा उनको अनुहार पानी वषिर्न लागेको बादलजस्तो धुम्म थियो । आँखामा गहिरो उदासी देखिन्थ्यो । तर दुई दिनमै उनको अनुहार बदलिएको छ । सर्वोच्च अदालतबाट भ्रष्टाचारी ठहरिएका सूचना तथा सञ्चारमन्त्री जयप्रकाशप्रसाद गुप्ता बिहीबार हँसिलो र सामान्य देखिन्थे । पटकपटक गरी उनी साढे चार वर्ष जेल बसिसकेका रहेछन् । यसपाला डेढ वर्ष जेल सजाएको फैसला भएको छ । तर उनी एक वर्षमै छुट्नेछन् । किनभने अख्तियारको हिरासतमा चार महिना उनी अनुसन्धानको सिलसिलामा बसिसकेका छन् । त्यो सजायबाट कटिने कानुनी सुविधा उनका हकमा पनि लागू हुने नै भयो । आफैं जेल गएबापत छुट हुने २० प्रतिशत सजायमा अढाई महिना थप छुट हुनेछ । त्यस हिसाबले उनी अब एक वर्षमात्रै जेल बसे पुग्छ । 'केही महिना घटी र बढीले केही फरक पर्ने होइन,' कटराइजको खौरो पाइन्ट, फित्तावाल चप्पल, खैरो स्वीटर र छिर्केमिर्के कोट लगाएका गुप्ताले दारी सुमसुम्याउँदै भने, 'नपर्नु जेल परिहालियो ।' भ्रष्टाचारी ठहर भएपछि डिल्लीबजार कारागारमा थुनिएका गुप्तासँग कान्तिपुर दैनिकका कानुन संवाददाता घनश्याम खड्काले गरेको कुराकानीः

विशेषको फैसला उल्टेला र जेल परिएला भन्ने लागेको थियो ?
विलकुलै थिएन, नसोचेको भो । विशेष अदालतले मलाई सफाइ दिन गरेको फैसलाको सर्वोच्चले दुर्घटनामा परेको मान्छेको आन्द्राभुँडीजस्तो छ्यालब्याल पार्दियो ।

किन ?
विशेष अदालतले अरू धेरैलाई आम्दानीको उही मापदण्ड लगाएर सफाइ दिएको थियो । तर अख्तियारले अरूलाई छाडिदियो मविरुद्ध मात्रै पुनरावेदन गर्‍यो । यो पक्षपात सर्वाेच्चले बुझेकै होला भनेको त, त्यहाँ पनि त्यस्तै भयो ।

तर सबैले फैसला ठीक हो भने नि त ?
मेरो अवस्था अहिले घेरामा पारेर लखेटिएको च्याङ्ग्राको जस्तो छ । यस्तोमा जसले पनि खेद्छ । तर फैसलाको स्वागत गर्नेहरूलाई मेरो चुनौती छ । त्यो के भने सूर्यनाथ उपाध्यायदेखि झलनाथ खनालसम्मले मलाई लगाइएको मापदण्डअनुसार सम्पत्ति वैध सावित गरून्, अनि म अपराधी मानौंला आफूलाई र म यो खोरबाट निक्लेपछि राजनीति नगरौंला ।

अब त चुनाबै उठ्न पाइन्न, कसरी गर्नुहुन्छ राजनीति ?
एउटा नेताको नियति कानुनले तय गर्ने होइन । यो कानुन सधैं रहन्छ भन्ने पनि छैन । त्यही पनि एक पटकलाई निर्वाचन लड्न नपाइने हो, नलडौंला ।
तपाईं त आफैं सञ्चारमन्त्री, थुनामा पर्नुभएको कुरोलाई सञ्चार माध्यमले गरेको कभरेज कस्तो लाग्यो ?
ग्ल्यामर जर्नालिजमको जमाना छ । मिडियालाई त्यही चाहिएको छ । त्यसैले म जेल आएको घटनामाथि -जेजस्ता टिप्पणी भए, त्यस हिसाबले ठीकै हो । तर सर्वोच्चले गरेको फैसलाले पार्ने प्रभावका बारेमा समाचार बनाउन मिडिया चुक्यो ।
के प्रभाव पार्छ यो फैसलाले ? केमा चुक्यो र मिडिया ?
सर्वोच्चको फैसला भनेको नजिर हो । नजिरले पछि हुने मुद्दालाई पनि निर्देशन गर्छ । यसअनुसार अब न्यायाधीशहरूको सम्पत्तिको पनि त स्रोत देखाउनु पर्‍यो । कर्मचारी र अरू नेताले पनि स्रोत खुलाउनु पर्‍यो । म ठोकुवाका साथ भन्छु, मेरो मुद्दामा लगाइएको आम्दानीको हिसाब गर्ने मापदण्डअनुसार यहाँ कसैले ठड्याएको घर पनि वैध हुँदैन र कोही पनि सदाचारी ठहर्दैन । यो कुरो मिडियाले उठाउनु पर्थ्यो । त्यो उठाएन ।
मन्त्रीजस्तो मान्छे, एक्कासि जेल पर्नु भो । अप्ठ्यारो भो ?
हेर्नुस्, म पनि सामान्य मान्छे नै हुँ, कुनै सुपरम्यान होइन । मेरो पनि घरपरिबार छ । बूढा बाआमा छन् । तिनलाई औषधि खुवाउने जिम्मेवारी छ । बिहान बेलुका काखमा बस्न आउने १० वर्षको छोरो छ । यो सबै परिवेशबाट अलग भएर बस्दा कष्ट भइहाल्छ नि । यस्तोमा 'केही फरक परेको छैन' भन्न मानिस स्टिलको हुनु पर्‍यो, जो म होइन ।
पूर्वमन्त्रीहरू चिरञ्जीवी वाग्ले र श्यामसुन्दर गुप्ता पनि यहीँ छन्, भेट भयो ? के कुरा भो ?
चिरञ्जीवी दाइलाई आज झुलुक्क देखियो बाहिर मान्छे कुर्ने ठाउँमा । सञ्चो बिसन्चो सोध्ने काम भयो । श्यामसुन्दर गुप्ता पनि यहीं छन् अरे, कता छन् नाकमुख देखेको छैन । बाहिर चाहिँ कारागार पूर्वमन्त्रीहरूको क्याविनेट भन्ने हल्ला चलेको रहेछ । हल्लै त हो ।
कसरी दिन कट्दै छ त ?
म सात दिनसम्म हाँसी खुसी भएर दिन कटाउँछु भनेर बसेको छु ।
कसरी खुसी हुने ?
अरूलाई हेरेर । यहाँ ७५ वर्षका बूढा पनि छन्, ओठ निचोरे दूध आउलाजस्ता कलिला केटाहरू पनि छन् । १ सय ५० जनाका लागि बनाइएको कारागारमा ७ सय कोचिएर बसेका छन् । हरेक कुरामा असुविधा र सकस छ । यस्तोमा पनि मानिसहरू हाँसेको देख्छु । खुसी भएर हिँडेको भेट्छु । त्यो हेरेर म यहाँ बस्ने तरिका सिकिरहेको छु । यहाँको वातावरणसँग भिज्ने प्रयास गर्दैछु । बिहान ७ बजेपछि ट्वाइलेटमा लाइन लाग्ने रहेछ । म चारै बजे उठ्छु ।
कहाँ बस्नुहुन्छ नि ?
जेलको आन्तरिक प्रशासनले मलाई एउटा सानो सुत्ने ठाउँ दिएको छ । त्यो निकै साँघुरो भए पनि मलाई राम्रै लागेको छ । विशेष सुविधा खोज्न अब म को हुँ र ? मन्त्री यहाँ म होइन क्यारे । त्यसैले जे छ त्यसैमा खुसी मानेको छु । यहीं पाकेको कुरा खान्छु । मलाई ब्लडप्रेसर छ, औषधि खाने व्यवस्था पनि मिलेको छ ।
पहिले पनि जेल पर्नुभएको थियो ?
थुप्रै पटक । यो मेरो १९ औं जेलयात्रा हो । पटक पटक गरेर साढे चार वर्ष जेलमा बिताएको छु । त्यसैले मेरा लागि जेल नयाँ होइन, सन्दर्भ मात्रै नयाँ भो ।
यो जेलमा चाहिँ पहिलो पटक हो ?
हो । अन्तभन्दा यहाँ अनुशासन एकदम राम्रो रहेछ ।
पूर्वमन्त्रीहरू वाग्ले र गुप्ताबाहेक तपाईंले चिन्ने अरू पनि कोही छन् यो जेलमा ?
छन् । थुप्रै छन् । यिनीहरू सबै असल मान्छे हुन् । दुनियाँको नजरमा हामी जेलका मान्छे खराब हौं । हाम्रो नजरमा हामी अर्कै हौं । मलाई पनि बाहिर यो भ्रष्टाचारी कसरी दिन बिताइरहेको होला जेलमा भन्दा हुन् । अनेकथरी कुरा काट्दा हुन् । ठिक्क पर्‍यो भन्दा हुन्, भनून् । म कस्तो हुँ मैलाई थाहा छ ।
आज को-को भेट्न आए ?
थुप्रै आए । गृहमन्त्री आउनु भो, दुःखमनाउ गर्नु भो । पार्टीका साथीहरू आए । मेरा जिल्ला र वरपरका मानिसहरू आए । सबैले के कसो छ भने । यस्तै त हो ।
एकै ठाउँमा बसिरहँदा पट्यार लागेको छैन ?
जेलमा यस्तै त हो । यहाँ विपश्यना ध्यान सिकाइँदोरहेछ । आज मैले गरेँ । मन बडा शान्त भयो । जलभित्रै मन्दिर र गुम्बा पनि रहेछ । गएँ र दर्शन गरेँ । कोही मुसलमान नमाज पढ्दै गरेको फेला पारेँ भने म पनि उसँगै प्रार्थना गर्नेछु ।
सञ्चार मन्त्रालय धेरै पटक सम्हाल्नुभयो, यहाँ त सञ्चारका साधन चलाउन पाइँदैन होला नि ?
अँ । मोबाइल पनि बोक्न पाइँदैन । तर पत्रिकामा आज मैले जेलभित्रैबाट फेस बुक चलाएँ भनेर छापिएको रहेछ । पढेर दुःख लाग्यो । कि मेरो नाममा कसैले नक्कली आईडी बनाएर फेसबुक खोलेको हुनुपर्छ, कि त्यो समाचार हावादारी हुनुपर्छ । मैले त कहाँबाट चलाउनु यहाँ फेसबुक ?
चलाउन त मन लाग्दो हो नि ?
लाग्न त किन नलाग्नु ! मेरा ४ हजार साथीहरू छन् फेसबुकमा । २५ सयभन्दा बढीफ्रेन्ड रिक्वेस्टहरू पेन्डिङमा छन् । केटा भए २ सयभन्दा बढी म्युचियल फ्रेन्ड भएको र केटी भए सय म्युचियल फ्रेन्ड भएकाको रिक्वेस्टमात्रै एक्सेप्ट गर्छु । फेसबुक नचलाई मैले कुनै दिन बिताएको थिइनँ बाहिर हुँदा । आज मेरो सानो छोरा आएर भन्यो, 'बाबा, फेसबुक नचलाई कसरी निदाउनुहुन्छ ?' म उसलाई भन्दा पनि बढ्ता समय फेसबुकलाई दिन्छु भन्ने उसलाई लागेको रहेछ । हुन पनि मेरो सिरानमै एम्पलको ल्यापटप हुन्थ्यो । अर्को सिरानमुनि २ ओटा आइफोन हुन्थे । म एउटाले कुराकानी गर्थेँ । अर्को फेसबुक चलाउन प्रयोग गर्थेँ । अब त तीन महिनाभन्दा बढी चलाएन भने त्यो एकाउन्ट नै बन्द हुन्छ ।

No comments:

Post a Comment