Wednesday, February 22, 2012

"माओवादीले पहिला उर्वर जवानी लुटे, अहिले चेक लुटे, हामीजस्ताको जीवन बेहाल भएको छ । हामी अब कहिंका पनि रहेनौं । यो दिन आउला भन्ने सोचेको भए सायद यी डाँकाहरुको पछि लागिने थिएन होला ।"

- शान्ति राई, अवकाशप्राप्त माओवादी लडाकु
शान्ति राई माओवादी सशस्त्र युद्धकी एक जीवित पात्र हुन् । आजभन्दा १० वर्षअघि उनलाई पूर्वी ओखलढुंगाको एउटा गाउँमा भेट्दा उनीसँग सपनाको डंगुर थियो । सहरबजारका पढेलेखेका र बुद्धिजीवी मान्छेसँग उनलाई तीव्र घृणा थियो । उनी भन्थिन्– यिनीहरु निम्न पुँजीपति दलाल वर्ग हुन्, नयाँ जनवादी क्रान्ति यिनकै कारण गाह्रो भइरहेको छ । पछि उनलाई मोरङको याङशीलास्थित माओवादी सेनाका लडाकुको पहिलो डिभिजनअन्तर्गतको स्थायी शिविरमा भेट्दा पहिलेको जस्तो उत्साह थिएन । उनी आफू विगतमा अलि बढी नै भ्रममा रहेछु कि भन्थिन् । नेताहरुले हामीलाई उपयोग गरिरहेका रहेछन् भनेर केही सजग भएकी थिइन् । त्यसैले उनले पछिल्लोपटक समायोजनमा जानुभन्दा ५ लाख रुपैयाँ लिएर घर फर्किने उद्देश्यले स्वेच्छिक अवकाश रोजेकी थिइन् । तर त्यही ५ लाखको पनि आधा रकम अर्थात् अढाई लाखको चेक हातमा नपर्दै उनका कमाण्डरले खोसपछि आफू
लुटिएको गुनासो गर्दै विराटनगरका पत्रकारसमक्ष पुगिन् । उनले आफूले चिनेजानेका पत्रकार मात्र होइन, अन्य पार्टीका नेताहरुसँग पनि हारगुहार गरिन् । अन्तत: उनको निष्कर्ष निस्कियो माओवादी भनेको लुटेराहरुको जमात रहेछ । यिनीहरुले लुट्न बाँकी केही पनि राखेनन् । उनको यहि निष्कर्षसहितको अन्तर्वार्ता :
राज्यले त तपाईंलाई चेक दिएकै हो, आफ्नै कमरेडबाट किन खोसियो, केही जवाफ पाउनुभएको छ ?
हामीले जवाफ अब सडकबाट खोज्ने हो । हामी लुटिएका साथीहरुले संघर्ष समिति पनि गठन गरिसकेका छौं । हिजो हामीलाई प्रयोग गरेर जनतालाई लुटे आज हामीलाई नै लुट्न यिनीहरु पछि परेनन् । त्यसैले अब यिनीहरुको लुटको स्वर्ग धेरै दिन चल्दैन । हामी पनि जनयुद्धको भट्टीमा खारिएर आएका सिपाही हौं, उनीहरुले हिजो दुश्मनमाथि हमला गर्न जे सिकाएका थिए हामी त्यसैगरी उनीहरुमाथि हमला गर्न पछि पर्दैनौं ।
खास चेक लुट प्रकरण के हो ? चाहिनेभन्दा बढी हल्ला गरियो भनेर तपाईंहरुको पार्टीले भनिरहेको छ नि ?
पार्टीले के भन्छ, फलानोले के भन्छ भन्ने मलाई थाहा छैन । हाम्रो शिविरमा डिभिजन कमाण्डर प्रतीक्षाकै निर्देशनमा चेक लुटिएको छ । त्यसको विरोध गर्दा साथीहरु कुटिएका छन् । हामीले त्यसेका विरुद्ध संघर्ष समिति बनाएका छौं । डिभिजन कमाण्डरको प्रत्यक्ष निर्देशनमा लुटिएका चेक र परिचयपत्र अब अन्य राजनीतिक दल, पत्रकार र नागरिक समाजको उपस्थितिमा फिर्ता गर्नुपर्छ । शिविरभित्रका सम्पूर्ण आर्थिक हिसाबकिताब सार्वजनिक गर्नुपर्छ । देश लुट्नेहरुलाई कारबाही गर्नुपर्छ । बरु हामी देशको लागि एक पैसा पनि नलिई अवकाशमा जान्छौं, चेक राज्यलाई नै फिर्ता गर्छौं तर केही नेता र कमाण्डरलाई महल र पजेरोका लागि एक पैसा पनि छाड्दनौं ।
यसको मतलब लडाकु शिविरमा आर्थिक अनियमितता भइरहेको छ ?
– यो त खुला भइसकेको छ । वास्तवमा जुन पार्टीले भ्रष्टाचार, अन्याय अत्याचार विरुद्ध भनेर हामीलाई बन्दुक बोकायो आज त्यो पार्टी भ्रष्टाचारको आहालमा छ । शिविरहरु त भ्रष्टाचारका अखडा भएका छन् । जसले शिविरहरूको कमाण्ड गरिरहेका छन् उनीहरूलाई हेडक्वार्टरको आशीर्वाद छ । उनीहरूले जे गरे पनि छुट पाइन्छ भनेर निष्फिक्री गरिरहेका छन् । एउटै शिविरमा कम्तीमा २०/३० करोडभन्दा बढीको घोटाला भएको छ । यसको कहिँकतै छानबिन र कारवाही भएको छैन । हामीले आवाज उठाउदा हामीमाथि आक्रमण भएको छ । वास्तवमा आज हामीलाई तिनीहरुलाई कमाण्डर भन्न पनि लाज लाग्छ । तिनीहरु यो देशका एक नम्बर भ्रष्टाचारी लुटेरा बनेका छन् । हामी घर न घाटका भयौं ।
आफूले विगतमा गल्ती गरिएछ जस्तो लाग्छ ?
आत्मालाई नढाँटी भन्नुपर्दा आज मलाई हिजोका आफ्नो बोली व्यवहारप्रति पश्चाताप लागेको छ । अब रित्तो हात गाउ फर्किदै छु, हिजो गाउँमा माओवादीको दम्भले धेरै मान्छेमाथि ज्यादती गरियो, अब उनीहरुसँगै गाउँमा कसरी मिलेर बस्ने होला, उनीहरुलाई के भन्लान् भन्ने पनि लाग्छ । धेरै लामो समय गाउँबाट टाढा भइयो । हिजो संसार जितिन्छ भनेर कसैलाई मान्छे गनिएन । विभिन्न आरोपमा कुटपिट गरियो, कतिको ज्यान गयो । आखिर हुने त केही पनि रहेनछ । नेताहरु सभासद् भए, मन्त्री भए, कमाण्डरहरुले करोडौं करोड कमाए । उनीहरुलाई त सहर बजारमा घर किनेर बसे भइहाल्यो । तर हामी जस्ताको बिल्लीबाँठ भयो ।
फर्केर हेर्दा कस्तो लाग्छ आफूलाई अहिले ?
वास्तवमा हामीलाई माओवादीले बर्बाद बनायो । मेरै कुरा गर्नुहुन्छ भने स्कूल पढ्दापढ्दै निकै ठूलो सपना देखाएर मलाई छापामार बनाए । उनीहरुले मेरो उर्बर जवानी लुटे । मेरो घरपरिवार समाज, साथीभाइ इष्टमित्र सबैबाट टाढा बनाए । ठूला–ठूला सपनाका महल बनाएर अहिले भत्काइदिए । अब त घर जाऊँ भनेर अवकाश रोज्दा आफ्नै कमाण्डरले अढाई लाखका चेक समेत लुटेर लिए । के भन्नु र सर, मलाई माओवादीले पटक–पटक बलात्कार गरे जस्तो लाग्छ । मेरा भावनामाथि, मेरा सपनामाथि अनि मेरो उर्बर जवानीमाथि उनीहरुले बलात्कार गरे । मजस्ता हजार्रौ साथीहरु आफ्नै कमाण्डरबाट, आफ्नै नेताहरुबाट लुटियौं । हिजो गाउँमा कसैले एक दुई हजार तलमाथि गरेको उजुरी आउँदा श्रमशिविरमा राखेर यातना दिइन्थ्यो । तर अहिले यिनीहरुको लुट हेर्दा, हिजो ती विचरामाथि अन्याय गरिएछ जस्तो लाग्छ ।
अब के गर्ने सोच बनाउनुभएको छ ?
सबै लुटिएपछि के सोच बनाउनु छ र अब । देश परिवर्तन गर्ने, गरिबको शासन ल्याउने भनेर लडियो । तर त्यो परिवर्तन त झूटो रहेछ । हामीजस्ताको जीवन बेहाल भएको छ । हामी अब कहिंका पनि रहेनौं । यो दिन आउला भन्ने सोचेको भए सायद यी डाँकाहरुको पछि लागिने थिएन होला । के गर्ने सानो उमेरमा केही सोच्न सकिएन । उनीहरुले ठूलाठूला सपना देखाएर फकाए । हामीलाई भर्‍याङ बनेर उनीहरुमाथि चढिसके । तर तिनीहरुलाई हामी जस्ता गरिब र निर्दोष मान्छेको आँसुले पोल्नेछ । हाम्रा सपना पार्टीले नै चकनाचुर बनाइदियो । नेता र कमाण्डरहरु नै लुटेरामा परिणत भए । अब विगतप्रति पश्चाताप गर्दै आफ्नो परिवारको खुसीका लागि केही गर्न सकियो भने गर्ने हो ।

1 comment:

  1. uffffffff yesto durdasha parne sabai rajnaitik party ustai hun !! saya jana ko daasi bhannu bhanda eutai ko nokar bannu ramro hune thiyo !!

    ReplyDelete