Tuesday, April 3, 2012

शान्तिप्रक्रियामा नआएको भए जनयुद्धले पेरुको जस्तै अवस्था भोग्नुपर्ने थियो भन्दै प्रचण्डले वैद्यहरु पनि अझै जेलभित्रै हुने स्पष्ट गर्नुभयो !

माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड’ ले पार्टी नेतृत्वविरुद्ध अनर्गल प्रचारबाजीमा लागेको भन्दै उपाध्यक्ष मोहन वैद्य पक्षको प्रतिवाद गर्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ। राजधानीमा सोमबार भएको संस्थापन पक्षीय कार्यकर्ता भेलामा प्रचण्डले वैद्य पक्षले जानेर वा नजानेर प्रतिक्रान्तिकारी र यथास्थितिवादी शक्तिलाई फाइदा पुर्याइरहेको बताउनुभयो। वैद्य समूहले जनविद्रोको कुरा गर्नुको कुनै तुक नभएको भन्दै उहाँले जनविद्रोह गर्ने भए पार्टीको दोस्रो राष्ट्रिय सम्मेलन चुनवाङ बैठक शान्तिप्रक्रिया र संविधानसभा मुर्दावाद भन्न सक्नुपर्ने तर्क गर्नुभयो। 'उहाँहरुलाई जनविद्रोहको कुरा गर्ने अधिकार छैन’ प्रचण्डको भनाइ उद्धृत गर्दै एक सहभागीले भने- 'जनविद्रोहको कुरा गर्ने भए उहाँहरुले दोस्रो राष्ट्रिय सम्मेलन चुनवाङ बैठक शान्तिप्रक्रिया र संविधानसभा मुर्दावाद भन्न सक्नुपर्छ।’ पार्टी शान्तिप्रक्रियामा नआएको भए जनयुद्धले पेरुको जस्तै अवस्था भोग्नुपर्ने थियो भन्दै प्रचण्डले वैद्यहरु पनि अझै जेलभित्रै हुने स्पष्ट गर्नुभयो। 'प्रचण्ड’ ले पार्टीभित्र र बाहिरबाट आउने जस्तोसुकै अवरोध चिरेर निर्धारित समयमै शान्ति र संविधान लेखन प्रक्रिया निष्कर्षमा पुर्याएरै छाड्ने
दृढता व्यक्त गर्नुभएको छ।

दलहरुका अगाडि आगामी जेठ १४ भित्रै शान्ति र संविधानलाई निष्कर्षमा पुर्याउनुको विकल्प नरहेको प्रचण्डले स्पष्ट गर्नुभयो। 'दलहरुसँग शान्ति र संविधानको विकल्प छैन’ पार्टीको युवादस्ता वाईसीएलको सोमबार मुख्यालय पेरिसडाँडामा बसेको प्रशिक्षणमूलक केन्द्रीय समिति बैठकमा प्रचण्डले भन्नुभयो- 'पार्टीभित्र वा बाहिरबाट आउने जस्तोसुकै अवरोधलाई चिरेर तोकिएकै समयमा शान्ति र संविधानलाई निष्कर्षमा पुर्याउन म लागिपरेको छु। यो अभियानमा मलाई युवा साथीहरुको साथ चाहिन्छ।’

अध्यक्ष प्रचण्डले आवश्यक परे शान्ति र संविधानविरोधी तत्वमाथि जाइलाग्न समेत वाईसीएललाई निर्देशन दिनुभएको एक सहभागीले बताए। संक्रमणकाल जति लम्बिँदै गयो त्यत्ति नै मुलुक र जनताका लागि अभिाशाप सावित हुने भन्दै उहाँले अब चाहेर पनि कसैले शान्ति र संविधानको राष्ट्रिय अभिभाराबाट पछि फर्कन नसक्ने बताउनुभयो। दलहरुबीच भइरहेका छलफल सकारात्मक दिशाउन्मुख रहेकाले समयसीमाभित्रै शान्ति र संविधानको कार्यभार सम्पन्न हुनेमा आफू आशावादी बन्दै गएको पनि उहाँले उल्लेख गर्नुभयो।

सेना समायोजनका सम्बन्धमा दलहरुबीच कुरा मिलिसकेको जानकारी गराउँदै उहाँले चैत मसान्तत्रिमा समायोजनको काम शुरु भइसक्ने जनाउनुभयो। अबको दुई महिनामा शान्ति र संविधान निष्कर्षमा पुर्याउने सकारात्मक उद्देश्यका साथ मुलुकभर परिचालित हुन अध्यक्षले आफूहरुलाई निर्देशन दिएको वाईसीएल कार्यालय सचिव आरसी शर्माले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो। 'अबको दुई महिना शान्ति र संविधानलाई सकारात्मक निष्कर्षमा पुर्याउन मुलुकभर एकैसाथ परिचालित हुन अध्यक्षले निर्देशन दिनुभयो’ शर्माले भन्नुभयो- 'केन्द्रदेखि गाउँसम्मका युवालाई केन्द्रित रुपमा परिचालन गनॆ्र कुरा भएको छ।’ एक सहभागीले बताएअनुसार प्रचण्डले उपाध्यक्ष मोहन वैद्य पक्षले विचार समूहका नाममा गरिरहेको समानान्तर गतिविधिलाई अराजकताको संज्ञा दिनुभयो। 'विचार समूहका नाममा वैद्यजीहरुले जे गरिरहनुभएको छ। त्यो अराजकताको पराकाष्ठामा पुगेको छ’ प्रचण्डको भनाइ उद्धृत गर्दै ती सहभागीले भने- ँउहाँहरुले पार्टीभित्र पार्टी बनाएर गम्भीर गल्ती गरिरहनुभएको छ। यो खेदजनक छ।’ प्रचण्डले वैद्य पक्षका केही नेताबाहेक अधिकांश फुटको पक्षमा नरहेको भन्दै पार्टी फुट्छ कि भन्ने आशंका नलिन पनि वाईसीएललाई आग्रह गर्नुभयो। 'त्यहाँभित्रका केही सीमित स्वार्थी व्यक्तिबाहेक अन्य फुटको पक्षमा छैनन्’ प्रचण्डले भन्नुभयो- 'पार्टी कसैको व्यक्तिगत स्वार्थका आधारमा अगाडि बढ्न सक्दैन। अध्यक्ष हुनुका नाताले मैले पार्टी एकताका लागि पहल गरिरहेको छु। अझै पनि पार्टी फुट्छ भन्ने लागेको छैन मिलाएर लैजान सक्छु भन्नेमा मलाई पूरा विश्वास छ।’ उहाँले फुटवादीको वैचारिक प्रतिवाद गर्न र एकताका पक्षमा दृढतापूर्वक लाग्न पनि वाईसीएललाई निर्देशन दिनुभयो।

उहाँले केही दिनभित्रै लडाकूबाट वाईसीएलमा तानिएकालाई रकम उपलब्ध गराउने तयारी भइरहेको पनि बताउनुभयो। प्रचण्डले पहिलो चरणमा डेढदेखि २ लाखसम्म दिने र अर्को चरणमा पाँच लाख पुर्याउने वचन दिएको वाईसीएल केन्द्रीय सदस्य मेघबहादुर घिमिरेले जानकारी दिनुभयो। 'केही दिनभित्रै पहिलो किस्ताबापतको रकम उपलब्ध गराउने तयारी भइरहेको छ।

'तपाईंसँगै पीएलएमा काम गरेका कतिपय सभासद् भए कतिले ५ देखि ८ लाख पाए’ प्रचण्डको भनाइ उद्धृत गर्दै घिमिरेले भन्नुभयो- 'तपाईंहरुले पनि पाउनुपर्छ भन्ने पार्टीको स्पष्ट दृष्टिकोण छ।’ माओवादीले लडाकूबाट वाईसीएलमा तानिएकालाई रकम दिन लडाकूका डेपुटी कमान्डर तथा प्रवक्ता चन्द्र खनाल वाईसीएल अध्यक्ष गणेशमान पुन र सह-संयोजक उमा भुजेल रहेको तीन सदस्यीय कार्यदल गठन गरेको थियो। कार्यदलले वाईसीएलमा तानिएका लडाकूको विवरण अद्यावधि गरिरहेको छ। आगामी २५ गते अन्तिम विवरण बुझाउने गरी कार्यदलले काम गरिरहेको सचिव शर्माले बताउनुभयो। 

No comments:

Post a Comment