Tuesday, May 29, 2012

पत्रकार र विश्लेषकलाई समेत माओवादीले छक्याइदियो !

- जीवराम भण्डारी
नेपालको राजनीतिमाथि विश्लेषण गरियो भने विश्लेषक बल्ड्याङ खान्छ । त्यो प्रमाणित हुँदैछ । त्यसैले सबभन्दा बढी मर्कामा यहाँको राजनीतिक विश्लेषक, पत्रकार र समालोचक पर्ने गरेका छन् । नेपालको राजनीतिक अवस्थामाथि एकाध दिनअघिसम्म पनि मानिस संविधान निर्माणको समय अवधि जेठ १४ सकिनै लाग्दाका तिथि जति नजिकिँदैथ्यो त्यति प्रश्न गर्थे । प्रश्न गर्नेहरू प्रायश: सर्वसाधारण हुन्थे भने जवाफ दिनेचँ पत्रकार या जिम्मेवार नेता तथा समाजमा नेतासँग अलि पहुँच राख्ने बुद्धिजीवी हुन्थे । त्यसताका सर्वसाधारणका प्रश्न ‘जेठ १४ भित्र संविधान त बन्छ होइन’ भन्ने सुन्दा जिब्रो फड्कारेर भन्थे– के कुरा गर्नुभाको, संविधान त बनिहाल्छ नि ?
सर्वोच्च अदालतले म्याद थप्न नमिल्ने निर्णय गरिसक्यो, मैले फलाना नेता र मन्त्रीलाई भेटँ, हैसियतदार पत्रकार पनि भेटँ जस्ता प्रस्ट कुरा हुने गर्थे । १४ जेठभित्रै संविधान बन्छ, जे जति मिल्दैन तिनलाई आगामी निर्वाचित निकायले टुङ्गो लगाउँछ, कुरा यही हो । विचरा ती कड्केर जवाफ दिनेहरू जेठ ९ गते साँझदेखि ठण्डाराम भए । अनि उनीहरू नै आफ्ना पुराना प्रश्नकर्तासँग भन्न थालेका छन्, हेर्नुस् सबै ठाउँको राजनीतिक
कुरा बुझ्न र विश्लेषण गर्न सकिन्छ नेपालको सकिंदैन ।
राजनीतिमा तुहिएको भनेको यही हो । जब राजनीतिले निश्चित मापदण्ड पूरा गर्दैन, त्यो विचार र प्रणाली अघि बढ्न सक्दैन । राजनीति गर्नका लागि निश्चित धरातलमा उभिने नेतृत्व पंक्ति वा राजनेता आवश्यक पर्छ भन्ने नीति आम जनसमुदायले बुझ्ने, टेक्ने धरातल यसको यो हो भन्ने बुझिने प्रकृतिको हुनुपर्छ । तब मात्र राजनीतिक दल चलेको र नेताले राजनीति गरेको कहलिन्छ । हामीकहाँ त्यो अवस्था विद्यमान रहेन । मुलुकको अगुवाइ गर्ने नेतामा तुलनात्मक चामत्कारिक नेताको उपमा पाएका पुष्पकमल दाहाल यतिसम्म तल्लोस्तरमा ओर्लने कसैको अनुमान थियो ? प्रचण्डपथबाट प्रारम्भ भएको उनको पार्टीको अगुवाइ र नेतृत्व दिल्लीको १२ बुँदे सहमतिबाट ओरालो लाग्दै पुत्र प्रकाशको सगरमाथा यात्रामा गएर विसर्जन भयो । मुलुकमा गणतन्त्र स्थापनापछि राष्ट्रिय नेताको हैसियत कायम गर्ने अपेक्षा गरिएका दाहाल आफ्नै पार्टीभित्रको पनि नेता हुन सकेनन् । धमाधम उनका तस्बिर आफ्नै पार्टी कार्यालयबाट मिल्काइएको देख्ता उनी सानो झुन्डका नेताका रूपमा उपस्थित हुन पुगेका छन् । डा बाबुराम भट्टराईलाई एमाओवादीका राम कार्की, प्रभु साहलगायत केहीले हिजोका दिनमा नेता माने पनि उनीहरूले बाबुरामलाई त्यो मर्यादा दिन छाडेपछि उनी हिसिला यमीको सुयोग्य पति र धर्मरत्न
यमीको सपना साकार पार्न ज्वाइँबाहेक केही हुन सकेनन् । मोहन वैद्यलाई दक्षिणले नेताको दर्जा नदिएपछि उनी नेता हुने कुरै छैन । त्यसैले उनको चर्चा व्यर्थजस्तै हुन जान्छ । दक्षिणका महिमा परिवर्तनसँगै अपरम्पार छ ।
मदनकुमार भण्डारी र मनमोहन अधिकारीको देहत्यागपछि नेकपा (एमाले) कहिले विभाजनको सिकार भएको छ भने कहिले कांग्रेसको अघिपछि लाग्दै हिँड्यो । आफ्नो व्यक्तित्व देखाउने अवसर एमालेका नेताले पाएर पनि गुमाए । माधवकुमार नेपाल र झलनाथ खनालले नेपालको भूतपूर्व प्रधानमन्त्रीमा नाम लेखाउन सफल हुनेबाहेक अरू गर्न सकेको देखिएन । यतिचैँ पक्कै हो कि डा. भट्टराईले झैं बिप्पा सम्झौता र भारतीय कूटनीतिज्ञलाई उन्माद चढाउने कुकर्म एमाले नेतृत्वपंक्तिले यदाकदा गरे पनि यो रूपमा गरेनन् । कम्युनिस्टको पगरी नै उनीहरूलाई भारी भएको छ । त्यो बिसाउन उन्नत विचारका खोजीमा एमाले नेतृत्वपंक्ति छन् भन्दा कुनै आश्चर्य मान्नु पर्दैन । मधेसवादी दलका नेताका कुरै गर्नु परेन, उनीहरू नेपालमा के चाहन्छन् सम्पूर्ण सावाँ अक्षर बुझ्नेलाई जगजाहेर छ । पूर्वपञ्चहरू कुनै चर्चायोग्य अब रहेनन् । यसकारण रहेनन् उनका राजनीति कहाँबाट सुरु हुन्छ र कहाँ पुगेर ठोकिन्छन् पत्तै हुँदैन । सूर्यबहादुर थापा २०३६ सालको जनमत संग्रहताका प्रधानमन्त्री थिए, उनका वाणी कानमा अझै गुञ्जिएकै छ । उनी भन्थे, पञ्चायत निर्विकल्प प्रजातान्त्रिक व्यवस्था हो, अर्थात् यसको विकल्प नै छैन । २०४६ को आन्दोलनले पञ्चायत बढार्‍यो । उनै फेरि कराए बहुदलीय प्रजातन्त्रभन्दा उत्कृष्ट संरचना केही छैन । यो अलि आश्चर्यजनक भए पनि राजाले बनाएका मानिस राजाले नै बहुदल दिएकाले यसलाई त्यति अन्यथा मानिएन । जब जर्बजस्ती गणतन्त्रमा मुलुक प्रवेश गर्‍यो, हिजो राजाका नाममा लुटिखाएकाहरू अब के गर्लान् धेरैका मनमा जिज्ञासा थियो । गणतन्त्र स्थापनापछि फेरि तिनै थापा कुर्लिए ‘हेर्नुस् गणतन्त्र संसारमा उत्कृष्ट छ’ लौ खाएस् । यिनै वाणीको पछि लोकेन्द्रबहादुर चन्ददेखि पशुपतिशम्शेर राणासमेत दौडिएपछि यिनका कुनै चर्चा नै गर्नु परेन । यिनलाई हेरेर त झन् राजनीतिक विश्लेषण गरियो भने नानीमैयाँ दाहालको चुनावी विजय र पराजयको झझल्को दिलाउँछ । उनको अनुहार नै सामुन्ने आउँछ । धेरैले प्रजातान्त्रिक आन्दोलनमा लामो कालदेखि सक्रिय, अविवाहित र लोभलालचभन्दा माथि उठेका भनी सुशील कोइरालालाई प्रशंसा गर्थे । उनीहरूको तर्क हुने गथ्र्यो कोइरालालाई सत्ताको अनुभव छैन, भाषण राम्रो गर्ने कला पनि छैन । तर, उनी बिपी र जिपीका विश्वासपात्र र लामो अनुभवी भएकाले प्रजातन्त्रसँग उनले सम्झौता गर्दैनन्, माओवादीसामु उनी घँडा टेक्दैनन् । पत्रकार, विश्लेषक, लेखक सबैका कोइरालाउपरको विश्वास त्यस्तैखालको थियो । भलै जिपीको तुलना बिपीसँग हुँदैन । तर, कोइरालाको एमाओवादी र उनकै सिटौलासामुको मौन सम्मतिले उनी (कोइराला पनि अविश्वासनीय दर्जामा उभिए । संविधानसभा म्याद तीन महिना बढाउनेमा नेपाली कांग्रेस सहमत छैन भन्ने कोइरालाको हवाला दिँदै प्रचार गरिन्छ । सिटौलाहरू न्यायिक क्षेत्रका मानिससँग सल्लाह गरेर पार्टी सहमतिसहित संविधानसभा म्याद थपमा अगुवाइको भूमिका निर्वाह गर्छन् । कोइरालाकै हवालाका साथ फेरि प्रचार गरिन्छ नेपाली कांग्रेसले सरकार छाड्न सक्छ । यस्ता बकम्फुसे हल्ला गरेर भ्रम सिर्जना गर्ने अनि हावा कता चल्छ त्यतै दौडने यो कांग्रेसी राजनीति कुनै नौलो होइन । कोइरालाजस्तो नि:स्वार्थ भनिएका व्यक्तिले त राजनीतिमा दोहोरो मापदण्ड अपनाए भने अब शेरबहादुर देउवा, रामचन्द्र पौडेल वा अरू कोइरालाहरूको कसरी विश्वास गर्ने ? विश्वास गर्ने आधार के ? त्यसैले अब सबै विश्लेषक, लेखक र पत्रकारले भन्नैपर्ने हुन्छ, यहाँ राजनीतिक दलका नेता अयोग्य होइनन् कि हामी स्वयं अयोग्य हाँ । यसकारण अयोग्य हाँैं कि उनीहरूलाई चिन्ने सामथ्र्य हामीले राखेनाँ, जसको चरित्रलाई उदाङ्गो पार्ने कार्य गरेनाँ, परिणामत: देश यो हविगतमा पुगेको छ । हाम्रो यो अवस्था भएको छ । राजनीति नियन्त्रणमा राख्ने वा चलाउने चरित्रले हो, ऐन कानन वा व्यक्तिले होइन । ऐन कानुन त आज पनि छँदैछ । किन हाम्रो समाजमा विध्वंस थपिंदैछ, यसको स्पष्ट उदाहरण यही माथिका चरित्रले नै चित्रण गर्छ ।
१४ जेठ रातिकै घटनालाई लिऔँ– संविधान घोषणा हँदैन भन्ने कुरा अदालतले अन्तरिम आदेश जारी गरेकै दिन एमाओवादीले गोप्य रूपमा निर्णय गरिसकेको थियो । उसले नेपाली कांग्रेस र नेकपा (एमाले)लाई पाठ सिकाउने निर्णय पनि गरिसकेको थियो । तर, पत्रकार र विश्लेषकलाई समेत एमाओवादीले छक्याइदियो । एमाओवादीलाई संविधान, जातीय राज्य वा गणतन्त्र चाहिँदैन भन्ने कुरा अझै धेरैले बुझाउन बाँकी छ । विश्वको इतिहासमा कहीँ कतै कम्युनिस्टले जातीय राज्य र लोकतन्त्र स्थापना गरेको थाहा छैन । त्यसैकारण भन्न सकिन्छ यहाँ नीतिले होइन नेताले निर्देश गर्छ । यिनै कारणले विश्लेषकहरू नराम्ररी चिप्लिएका छन् ।

No comments:

Post a Comment