Wednesday, May 16, 2012

प्रचण्ड जातिवादको आगो सल्काउन कटिबद्ध भई उभिएका छन् , देश पचासौँ वर्ष पछाडि धकेलिने स्थिति बनेको छ , उनको महत्वाकाङ्क्षा अझै पूरा भएको छैन !

"पृथ्वीनारयण शाहले देश एकीकरण गर्ने क्रममा पन्ध्र सय मानिस मारिएको पुष्टि हुन सकिरहेको छैन । मरिचमानले समेत पड्काइसकेको एउटा ‘तुच्छ’ प्रधानमन्त्री पद प्राप्तिको बाटो खोज्ने क्रममा प्रचण्डले जे–जस्तो सोच, शैली र व्यवहार प्रदर्शन गरे त्यसबाट मुलुकले खर्बौंको क्षति व्यहोर्नुपरेको छ । पन्ध्र हजारभन्दा बढी निर्दोष नेपालीले ज्यान गुमाएका छन् भने हजारौँ नागरिक लुटिएका, कुटिएका र विस्थापित भएका छन्, देश पचासौँ वर्ष पछाडि धकेलिने स्थिति बनेको छ । दशक लामो हिंसात्मक युद्धले थिलथिलो भएको मुलुकमा यतिबेला प्रचण्ड जातिवादको आगो सल्काउन कटिबद्ध भई उभिएका छन् । लाग्छ– उनको महत्वाकाङ्क्षा अझै पूरा भएको छैन, आकाङ्क्षा पूरा नभइन्जेल यी प्रचण्ड देशलाई आगो बनाएर जनतालाई सेक्न सधैं तत्पर भइरहने देखिँदै छ । शान्ति र समृद्धिको कामना गरिरहेका नेपाली जनतालाई प्रचण्डले नयाँ नेपालका नाममा जातिवादी भडकावलाई धुवाँधर प्रवेश गराएका छन् ।"
सिकन्दर र चङ्गेज खाँका निजी महत्वाकाङ्क्षाका कारण एक समय पृथ्वीमा हजारौँ मानिसले ज्यान गुमाउनुपरेको तथ्य इतिहासमा पढ्न पाइन्छ । महत्वाकाङ्क्षाले मानिसलाई अगाडि बढ्न पे्ररणा दिन्छ, तर अति महत्वाकाङ्क्षा व्यक्ति स्वयम् र दुनियाँको निम्ति दुःख या सास्तीको कारण बन्नसक्छ । नेपाली सन्दर्भमा भीमसेन थापा, जंगबहादुर राणा, वीरशमशेर आदिले आफ्ना निजी महत्वाकाङ्क्षा पूर्ति गर्ने सन्दर्भमा प्रस्तुत गरेको व्यवहारले कतिको ज्यान लियो, कतिले निर्वासित हुनुप¥यो । पृथ्वीनारायण शाह आफ्ना पितापुर्खाजस्तै सानो देशको राजा भई बसिदिएका भए ‘न रहे बाँस न बजे बाँसुरी’ भनेझैं अहिले हामीले राजनीतिक कारणले यसप्रकारको तनाव र विवाद सायदै झेल्नुपर्ने थियो । पृथ्वीनारायण स्वयम्ले गाली त खाएकै छन्, नेपालीको पहिचानमा उभिएका हामीहरूकै दैनिक जीवन पनि सामँन्य, सहज र सरल हुन सकिरहेको छैन । पृथ्वीनारायणको महत्वाकाङ्क्षा आज हाम्रो ‘सकस’को कारण बनेको छ भन्दा अत्युक्ति हुने छैन । वर्तमान सकसको मूल स्रोत बनेका छन्– प्रचण्ड । आफ्नो निजी महत्वाकाङ्क्षा पूरा गर्न
एउटा मानिस के सम्म गर्न तयार हुनसक्छ भन्ने प्रश्नको जवाफ बनेर उभिएका छन् प्रचण्ड । पृथ्वीनारयण शाहले देश एकीकरण गर्ने क्रममा पन्ध्र सय मानिस मारिएको पुष्टि हुन सकिरहेको छैन । मरिचमानले समेत पड्काइसकेको एउटा ‘तुच्छ’ प्रधानमन्त्री पद प्राप्तिको बाटो खोज्ने क्रममा प्रचण्डले जे–जस्तो सोच, शैली र व्यवहार प्रदर्शन गरे त्यसबाट मुलुकले खर्बौंको क्षति व्यहोर्नुपरेको छ । पन्ध्र हजारभन्दा बढी निर्दोष नेपालीले ज्यान गुमाएका छन् भने हजारौँ नागरिक लुटिएका, कुटिएका र विस्थापित भएका छन्, देश पचासौँ वर्ष पछाडि धकेलिने स्थिति बनेको छ । दशक लामो हिंसात्मक युद्धले थिलथिलो भएको मुलुकमा यतिबेला प्रचण्ड जातिवादको आगो सल्काउन कटिबद्ध भई उभिएका छन् । लाग्छ– उनको महत्वाकाङ्क्षा अझै पूरा भएको छैन, आकाङ्क्षा पूरा नभइन्जेल यी प्रचण्ड देशलाई आगो बनाएर जनतालाई सेक्न सधैं तत्पर भइरहने देखिँदै छ । शान्ति र समृद्धिको कामना गरिरहेका नेपाली जनतालाई प्रचण्डले नयाँ नेपालका नाममा जातिवादी भडकावलाई धुवाँधर प्रवेश गराएका छन् ।
जाति या क्षेत्रवादी भावना भड्किएपछि त्यसले देशको नापनक्सा नबदलीकन छोड्दैन भन्ने कुराको अनेक दृष्टान्त विश्वइतिहासमा स्थापित छ । तथापि जातिवादी भावनालाई उच्च प्राथमिकता दिन कम्युनिस्ट नेताहरू अग्रसर रहनु आफैंमा उदेकपूर्ण छ । कम्युनिस्टहरू जो सिद्धान्ततः जातीय अवधारणाका विरोधी हुन्, उनीहरूले नै जातीय भावना भड्काउन मुख्य भूमिका निर्वाह गर्नुले कम्युनिस्टहरूको कथनी र करनीबीचको अन्तर खुलासा गरेको छ । नर्वे, स्वीडेन, फिनल्यान्ड, ब्रिटेन या अमेरिका जुनसुकै मुलुकबाट प्रायोजित भए पनि विदेशी प्रायोजनमा नेपालको जातीय सद्भाव भड्काउन कम्युनिस्ट खासगरी माओवादीले निर्वाह गरेको भूमिकाले संसारलाई चकित पारेको छ । नेपाली जनताको कानमा ‘जातिपाति मान्दैनौँ’ भनी कम्युनिस्टहरूले लगाएको नारा अहिले पनि गुञ्जिरहेका छन् । यिनै कम्युनिस्टहरू जातीय राज्यका निम्ति विभिन्न जातीय समुदायलाई भड्काउन अग्रसर हुनुले प्रचण्ड नेपालको विभाजन, विखण्डन र अन्ततः विघटनकै लागि खटिएका रहेछन् भन्ने अनुभूति राष्ट्रपे्रमीहरूमा हुन थालेको छ । यद्यपि कम्युनिस्टहरूले जातीय भावना भड्काएको नेपालमा मात्र भने होइन । इथियोपिया, अफगानिस्तान र मलेसियालगायत कैयन मुलुकमा उनीहरूले जातीय तथा क्षेत्रीय समुदायलाई भड्काएर आफ्नो निहित तुष्टि मेट्ने प्रयास गरेका हुन् । नेपाल यतिबेला कम्युनिस्ट र क्रिश्चियन दुई थरीको कोपभाजनमा परेको छ । नेपालको स्थापित परम्परा, मूल्य, मान्यता र धर्मलाई विस्थापित गर्ने र त्यसनिम्ति राष्ट्रियता तथा राष्ट्रिय एकतासूत्रको रूपमा रहेका बहुसङ्ख्यक जातीय समुदायलाई साइडलाइन (दरकिनारा) गर्दै जाने कुरामा क्रिश्चियन र कम्युनिष्ट (खासगरी प्रचण्डको माओवादी)हरूबीचको सोचमा समानता देखिएको छ । बहुसङ्ख्यकलाई कमजोर एवम् उपेक्षित नतुल्याईकन आफूहरू स्थापित हुन सकिँदैन भन्ने विश्वास सायद उनीहरूमा छ । नेपालमै जन्मिएका प्रचण्ड र उनका अनुयायीहरूमा देशप्रति अलिकति मात्र पनि ममताभाव छ भने उनीहरूले ¥वाण्डा (रुवाण्डा), युगोस्लाभिया, बोलिभिया, घाना, इथियोपिया, नाइजेरिया र विघटित सोभियत सङ्घजस्ता मुलुकको इतिहास राम्ररी पढून् र आफ्नो भूमिकाको समीक्षा गरून् ।
अफगानिस्तानमा कम्युनिस्टहरूले अल्पसङ्ख्यक समुदायलाई माथि उठाउने नाममा बहुसङ्ख्यक पस्तुनहरूलाई अपमानित र उपेक्षित नगरेको भए आज उक्त मुलुकको कायापलट भइसकेको देख्न पाइन्थ्यो भन्न सकिन्छ । सन् १९७८ देखि आन्तरिक युद्धमा फसेको अफगानिस्तान कथित विचार र जातीय द्वन्द्वको भड्खालोमा जाकिएयता त्यहाँ लाखौँ नागरिकले ज्यान गुमाइसकेका छन् भने लाखौँ विस्थापित भएका छन् । नूर मोहम्मद तराकीको नेतृत्वमा मुलुकलाई साम्यवादीकरण गर्न खोजिँदा उत्पन्न द्वन्द्वको परिणाम अफगानिस्तान अझै भोग्दै छ । पश्चिमी सेनालाई उपस्थित गराएर त्यहाँ शान्ति र स्थिरता बहाल गर्ने नाटक मञ्चन गरिरहेको भए पनि विदेशी सेना फर्किएपछि अहिलेसम्म अपमानित र उपेक्षित तुल्याइएका बहुसङ्ख्यक पस्तुनहरूले आफ्नो गुमेको अधिकार र हैसियत फिर्ता लिन प्रयास गर्न खोजे भने त्यो अस्वाभाविक हुने छैन । त्यसपछि त्यहाँको द्वन्द्व अर्को रूपमा चर्कने अनुमान गर्न सकिन्छ । बेल्जियन उपनिवेश रहिसकेको अफ्रिकी राष्ट्र ¥वाण्डामा पनि बहुसङ्ख्यक हुतु समुदायलाई थिचेर अल्पसङ्ख्यकहरूलाई सर्वोपरी तुल्याइएका कारण त्यहाँ जातीय द्वन्द्व भड्किएको हो । बेल्जियनहरूले बहुसङ्ख्यक हुतुलाई आफ्नो दुश्मन ठान्थे, किनभने हुतु समुदाय राष्ट्रवादी र प्रजातन्त्रवादी थियो । त्यसैले अल्पसङ्ख्यक तुत्सीहरूलाई साथमा राखेर तिनले शासन गरे । औपनिवेशिकताबाट मुक्त हुँदा स्वाभाविक रूपमा हुतुहरूले आफ्नो स्थान खोजे, विदेशीको आडभरोसामा उचालिएका तुत्सीहरू भिड्न तयार भए, अनि सुरु भएको द्वन्द्व । सन् १९९० मा द्वन्द्व सुरु भएको दुई वर्षभित्रै त्यहाँ आठ लाखभन्दा बढीले ज्यान गुमाए, लाखौँ नागरिक देशबाट विस्थापित भई शरणार्थी जीवन बिताउन बाध्य भए । एक समय फ्रेञ्च उपनिवेश रहेको घानामा पनि युरोपियनहरूले अल्पसङ्ख्यकलाई माथि उठाउने भन्दै तिनलाई विशेष ढङ्गले उचाल्ने काम गरे । युरोपियन सहयोगका कारण घानामा पनि आन्तरिक सङ्घर्ष चर्कियो, परिणामस्वरूप घानाले आफ्नो मौलिकता गुमायो, राष्ट्रिय भाषा, धर्म र भेषले प्राथमिकता नपाउने स्थिति बन्यो । घानाका सबै नागरिकले बुझ्ने आफ्नो मौलिक भाषा हुँदाहुँदै उनीहरू आन्तरिक द्वन्द्वका कारण विदेशी भाषालाई सरकारी कामकाजको भाषा बनाउन बाध्य भएका छन् । कम्युनिस्टकै कारण आन्तरिक युद्धमा फसेको ग्वाटेमालामा सन् १९६० देखि १९९६ सम्मको अवधिमा दुई लाखभन्दा बढीले ज्यान गुमाएका थिए भने पचास हजार बढी मानिस बेपत्ता छन् । माओवादी कम्युनिस्टले नै सुरु गरेको युद्धका कारण दक्षिण अमेरिकी राष्ट्र पेरू तहसनहस हुने स्थितिमा पुग्यो, सन् १९८० मा युद्ध सुरु भएपछिको बीस वर्षभित्र त्यहाँ सत्तरी हजारभन्दा बढीले ज्यान गुमाएका थिए । ¥वाण्डा र बुरुण्डीलाई पनि बिर्साउने जातीय द्वन्द्व पूर्वयुगोस्लाभियामा भयो । द्वन्द्वले देशको अस्तित्व नै मेटिसकेको छ । त्यस क्रममा एक लाख चालीस हजारभन्दा बढी मानिस मारिएका र करिब डेढ लाख मानिस घरबारविहीन तथा पच्चीस लाख मानिस विस्थापित भएका थिए । सर्वियनहरूले चलाएको कथित ‘रेपक्याम्प’का कारण पैंतीस हजारभन्दा बढी बेजातीय महिला तथा बालिका बलात्कृत भएका थिए । अर्को जातिका महिलालाई बलात्कार गरी गर्भधारण गराउने उद्देश्यले चलाइएको उक्त ‘रेपक्याम्प’का कारण पाँच हजारभन्दा बढी महिला पीडित भएको एक प्रतिवेदनले देखाएको छ । माओवादीले सुरु गरेको हिंसात्मक युद्धसँगै मिसिएर आएको जातीय भड्कावका कारण इथियोपिया विभाजित हुन पुगेको जानकारी हामी सबैलाई छ । इरिट्रिया छुट्टिएर गएपछि नौवटा जातीय प्रान्तमा विभाजित इथियोपियामा अहिले पनि तनाव र विवाद कायम छ । जातीय भड्कावकै कारण हालै मात्र सुडान विभाजित भएको छ । एउटा देश दुईवटा बनिसकेपछि पनि त्यहाँ द्वन्द्वको स्थिति यथावत् देखिँदै छ ।
संसारमा सबभन्दा हिंसात्मक र घातक विचारका रूपमा माओवादी कम्युनिस्ट विचारलाई लिइन्छ । तर, जातीय–क्षेत्रीय भड्काव सुरु भएपछि माओवाद पनि त्यसका अघिल्तिर ‘आगोका अगाडि मैन’झैं ठानिन्छ । जातिवादी राजनीति सुरु भइसकेपछि अरू सबै वाद र विचारहरू निषेधित भई जानेछन् । जातीयताले प्राथमिकता पाउन थालेपछि कुनै पनि तहको परीक्षामा कुनै अयोग्य व्यक्ति अनुत्तीर्ण भएको मानिने छैन, फलानो जात ‘पास’ भए र हाम्रो जात ‘फेल’ भएको भन्ने अर्थ लाग्नेछ । कुनै अपराधी पक्राउ परे ऊ व्यक्ति पक्राउ परेको हुनेछैन, उसले जातीय समुदायको सहारा लिनेछ र जातकै आड–भरोसामा फेरि पनि अपराध गर्न पाउने– मिल्ने उत्साहका साथ ऊ छुट्ने–छुटाइनेछ । व्यक्तिगत झगडाका कारण कसैले कसैमाथि हातपात ग¥यो भने त्यो ‘रामले श्याममाथि आक्रमण गरेको’ मानिने छैन, राम र श्याम गुरुङ र नेवार रहेछन् भने गुरुङले नेवारमाथि हातपात गरेको भनिनेछ र कुनै पनि बेला जातीय भिडन्तको कारण पैदा हुन सक्नेछ । कुनै प्रहरी र प्रशासकले निष्पक्ष ढङ्गले काम गर्न पाउने स्थिति हुने छैन । समाजमा हत्या, बलात्कार, चोरी, डकैती र हिंसाका घटनामा वृद्धि हुनेछ, तर अपराधी पहिचान भए पनि जातका कारण सहज कारबाहीमा व्यवधान पैदा गरिनेछ । अर्को विचारप्रति त सहिष्णु नदेखिने नेपाली मानसिकता जातीय आधारमा विभाजित भएपछि एक–अर्काप्रति कतिसम्म असहिष्णु होलान् त्यसको अनुमान गर्न सकिन्छ । विगत दुई हजार वर्ष लामो सभ्यताको विकासक्रममा अमेरिका, ग्रिक, स्पेन, रसिया, फिनल्यान्ड, भियतनाम, इन्डोनेसिया, म्यानमार, किर्गिस्तान, पाकिस्तान, लेवनान, मोजाम्बिक, अस्ट्रिया, स्वीट्जरल्यान्ड आदि मुलुकमा भएका गृहयुद्धहरूले सर्वाधिक खतरनाक युद्ध जातीय नै हुन्छ भन्ने पुष्टि गरेका छन् । समृद्ध र सभ्य मानिने बेल्जियमजस्तो मुलुकको राजनीतिमा समेत जातीयता घुसेपछि त्यहाँको स्थिति एकप्रकारले तनावमय बनिरहेको छ । राजनीतिमा जातीयता वा क्षेत्रीयताको प्रवेश भएपछि कुनै पनि मुलुकले शान्ति र स्थिरता गुमाउने निश्चित हुन्छ ।
अति महत्वाकाङ्क्षी मानिसले आफ्नो इच्छापूर्ति गर्ने सन्दर्भमा जातीय या क्षेत्रीय भावना भड्काउने गरेका छन् । नेपालमा प्रचण्ड–बाबुरामले पछिल्ला दुई दशकभित्र गरिरहेको खेती पनि त्यही नै हो जुन खेती इथियोपियाका माओवादीले पहिले नै गरिसकेका हुन् । विवेकवान र ज्ञानसम्पन्न मानिस आफ्नो तुच्छ महत्वाकाङ्क्षा परिपूर्तिका लागि समाज या देशलाई बिथोल्न चाहँदैनन् । विवेकहीन र दानवीय प्रवृत्तिका अहङ्कारी मानिसरूपी प्राणी मात्र आफ्नो इच्छा पूरा गरिरहँदा त्यसबाट अरूमाथि पर्ने असरप्रति बेसरोकार रहन्छन् । यही भएर हुनसक्छ, दार्शनिकहरूले मानिसलाई तीन कोटिमा विभाजन गरेर विश्लेषण गरेका । त्यसो त प्राणी नै सामान्यतया तीन प्रकारका हुन्छन् भन्ने दार्शनिकहरूको भनाइ छ ।
एकथरी प्राणीमा प्राण मात्र हुन्छ भने अर्कोथरीमा प्राण र चेतना । प्राण भएका तर चेतना नभएका प्राणीका रूपमा वनस्पतिलाई लिइन्छ, त्यस्तै प्राण र चेतना दुवै तत्वले युक्त प्राणीलाई जनावर भनिन्छ । अर्को एकथरी प्राणीमा प्राण र चेतनाका अतिरिक्त विवेक पनि हुनसक्छ, जसलाई मानिस भन्ने गरिन्छ । मानिसबाट विवेक हटाइयो भने आकारप्रकारले मानिसजस्तै भए पनि तिनीहरू स्वतः जनावरको कोटिमा पर्न आउँछन् । जनावर पनि अनेक प्रकारका हुन्छन्, तर तिनलाई हिंस्रक र अहिंस्रक दुई श्रेणीमा विभाजन गर्न सकिन्छ । त्यसैगरी मानिसलाई पनि तीन कोटिमा विभक्त गरेर बुझ्ने गरिन्छ । विवेक र ज्ञानसमृद्ध मानिसलाई भगवान्को दर्जा दिइन्छ भने स्वार्थ, विवेक, ज्ञान, अहङ्कार, क्रोध र हिंसात्मकताजस्ता तत्वहरू सन्तुलित रूपमा रहेको मानिसलाई सामान्य मान्छेका रूपमा बुझिन्छ । तर, जसमा अहङ्कार, क्रोध र हिंसात्मकताको प्राधान्य तथा विवेक र ज्ञान रिक्तता हुन्छ त्यस्तालाई दानव या राक्षस नाम–विशेषण दिने गरिन्छ । यसर्थमा मानिस भनेको भूमिका हो भन्न सकिन्छ, भूमिकाले मानिसको कोटि मत्र छुट्याउँदैन सोहीबमोजिम व्यक्तिको पहिचान पनि स्थापित गर्दछ । भूमिकाकै कारण दानवपुत्र भएर पनि प्रह्लादलाई मानिसका रूपमा र वासुदेव नामक मानिसबाट प्रकट भएका कृष्णलाई भगवान्का रूपमा बुझ्ने–पुज्ने गरिएको हो ।
सबै संहारकर्ता शंकर हुँदैनन्, संरक्षकसमेतको भूमिकामा रहेका संहारक भएका कारणले मात्र शंकर पुजित भएका हुन् । संरक्षण या संहार जुन भूमिका निर्वाह गर्दा पनि शंकर निजी स्वार्थबाट पे्ररित हुने गर्दैनन् । विध्वंश र संहार मात्र रुचाउने प्रवृत्तिलाई राक्षसी या दानवी भनिन्छ । प्रचण्डहरू हिजो युद्धमा थिए, त्यसर्थ तिनको भूमिका विध्वंशक र हिंसात्मक थियो, अहिले खुला राजनीतिमा प्रवेशपछि पनि तिनको भूमिका हिंसात्मक एवम् नकारात्मक मात्र देखिएको छ । शताब्दीयौँदेखि सदभावपूर्ण सामाजिक जीवन बिताइरहेका जातीय समुदायलाई भड्काएर प्रचण्डहरूले जुन स्वार्थ पूरा गर्न चाहेको भए पनि यसले उनीहरूलाई दानवीय भूमिकाको अगुवा पात्रका रूपमा स्थापित गर्दै लगेको छ । प्रचण्डमा रचनात्मकता, सिर्जनाशीलता, सकारात्मक र जिम्मेवारीबोध भएको हेर्न चाहन्थे नेपाली जनता, तर उनले महिषासुर प्रवृत्ति देखाएर आफू देवता या सामान्य मानव नभएको सन्देश दिइरहेका छन् । देशलाई जातीय गृहयुद्धमा लैजान उनीबाट भइआएका प्रयासहरूले नेपाल नामक देशसँग प्रचण्डको दुश्मनी कहिलेदेखि के कारणले सुरु भएको रहेछ भन्ने जिज्ञाशा उत्पन्न गराएको छ । अफगानिस्तान र ¥वाण्डामा झैं नेपालका बहुसङ्ख्यक समुदायलाई अपहेलित र उपेक्षित तुल्याएर प्रचण्डले मुलुकमा जुन किसिमको वैरभावपूर्ण द्वन्द्वको प्रादुर्भाव गरेका छन् यसले उनी र उनका अनुयायीहरूको नकाव त उतारिदिएकै छ, क्रान्तिको आवरणमा राष्ट्रघातीहरू कसरी घुसेका हुन्छन् र मालिकको सेवाका निम्ति कतिसम्म नाङ्गिन तयार हुन सक्छन् भन्ने कुराको सर्वाधिक कुरूप दृष्टान्त पनि उनीहरू नै बनेका छन् । अब प्रचण्डहरू कदाचित जातिवादबाट पछि हटेछन् भने पनि देशबाट जातिवाद उन्मूलन हुन निकै कठिन देखिँदै छ । यसकारण नेपाल बचाउने दायित्व हामी साधारण नेपाली जनताको काँधमा आएको छ, हामी पनि चुक्यौँ भने भूतपूर्व नेपालीका रूपमा हाम्रो परिचय बंगलाको खाडीमा डुब्नेछ । जागौँ, उठौँ र देशप्रतिको आफ्नो जिम्मेवारी पूरा गरौँ– जातीय युद्धमा जानबाट देशलाई जोगाउँ ।

No comments:

Post a Comment