Wednesday, July 25, 2012

२०६३ सालपछि सत्ता कब्जा गरेर बसेका माओवादी, कांग्रेस, एमाले, मधेसीलगायत अहिलेका प्रधानमन्त्री बाबुराम भट्टराईहरूका काम कुरा सुन्दा अब यिनीहरू बहुलाउन मात्र बाँकी देखिएका छन्

-दीर्घराज प्रसाई
२०६३ सालपछि सत्ता कब्जा गरेर बसेका माओवादी, कांग्रेस, एमाले, मधेसीलगायत अहिलेका प्रधानमन्त्री बाबुराम भट्टराईहरूका काम कुरा सुन्दा अब यिनीहरू बहुलाउन मात्र बाँकी देखिएका छन् । संविधानसभा भंग भइसकेपछि पनि यिनीहरूलाई लाज लागेन । सहमतिको नाममा यिनीहरूले ब्रह्मलुट मच्चाइरहेका छन् । संविधानसभाबाट संविधान बनाउन जनआन्दोलन गरे । संविधानसभाको निर्वाचन पनि भयो । दुई वर्षको समयभित्र संविधान बनाउने लिखत गरे । दुई वर्ष बित्यो, संविधान बनेन । पटक–पटक गरेर अरू दुई वर्ष समय थपेर चार वर्षमा पनि संविधान बनाउन नसकेपछि यिनीहरूले खाएको भत्ता, सुविधा सबै फिर्ता गरेर चुपचापसित घर फर्किनुपर्नेमा देशलाई पनि भौडीमा जाक्न खोज्दै छन् । वास्तवमा यिनीहरूले त जनतासँग क्षमा मागेर राजनीतिक सन्न्यास लिएर राजनीतिक धर्म निभाउन सक्नुपथ्र्यो । तर, कोही अझै त्यही मरेको संविधानसभा ब्युँताउने कुरा गर्छन्, कोही संसदीय निर्वाचन र कोही फेरि संविधानसभाको निर्वाचन गरेर अझै ब्रह्मलुट मच्चाउन खोज्दै छन् । हुन त संविधान बन्न नसके भारतीय गुप्तचर संस्थाले बाबुराम भट्टराईलाई ०४७ सालको संविधानमा फर्कने र राजतन्त्रको ठाउँमा गणतन्त्र र हिन्दू राज्यको ठाउँमा क्रिस्चियन राज्य गराउनु भनेको छ भन्ने कुरा पहिला नै सुनिएको हो । त्यसै धारलाई समातेर भारतीय पक्षधर हुन खोज्दै अत्तालिएर नेपाली कांग्रेसमा शेरबहादुर देउवा ०४७ सालको संविधानमा फर्कने कुरा गरेर पानीमाथिको ओभानो हुन खोजे । त्यस्तो कुरा
गर्नेले किन हिजो ०४७ सालको संविधानलाई गैरसंवैधानिक तरिकाले फाले । आफूहरू असफल भइसकेपछि फेरि यिनीहरूलाई ०४७ सालको संविधान ? अहिले राजा ज्ञानेन्द्र जहाँ–जहाँ पुग्छन्, त्यहाँ–त्यहाँ जनताको ओइरो लागेको देखेर प्रधानमन्त्री भट्टराई, सुजाता कोइराला र उनकै चाकरीदार कृष्ण सिटौलाहरू जे पायो त्यही बोल्दै छन् । तर हिजो गणतन्त्रका पक्षमा नारा लगाएर हिँड्ने नेपाली जनताले नै राजाको उपस्थिति र संरक्षण खोजेका छन् । कांग्रेसका गिरिजा, माओवादीका बाबुराम भट्टराई, प्रचण्ड तथा एमालेहरूले धोका दिएर राष्ट्रघात गरिरहेको टुलुटुलु हेरेर अब जनता बसिरहने छैनन् । प्रधानमन्त्री एउटा कुराको स्मरण गराउँछु कि केही समय पहिला माओवादी आन्दोलन भएकै समयमा मेरो लखनउबाट हरिद्वारतर्फको रेलवेमा भारतीय जनता पार्टी उत्तरप्रदेशका राजनीतिज्ञ चौधरी जयपाल सिंहसँग भेट भयो । भेटको सन्दर्भमा उनले भने, ‘नेपालका उग्रवादी राजनीतिक नेताहरूका कारणले यो क्षेत्र नै तनावग्रस्त बन्दै छ । नेपालमा राजा पनि शक्तिशाली, राजनीतिक दलहरू पनि शक्तिशाली नबनुन्जेल स्थायी शान्ति कायम हुन सक्दैन ।’ कतिपय भारतीय नेता नेपालमा प्रजातन्त्र र स्थायित्वका लागि चिन्तित देख्दा र यहाँका नेताहरूले यो देशको पहिचान र प्रतिष्ठालाई नकार्न खोज्दा मलाई आत्मग्लानि भयो । ०६३ सालपछिका सत्तासीन कांग्रेस, एमाले र माओवादीहरू नेपालको राष्ट्रियताप्रति संवेदनशील हुन नसक्दा नेपालको अन्धकार भविष्य देखिन्छ । नेपालका संसदीय प्रजातन्त्रको सुदृढीकरणका लागि आन्दोलनमा जनता होमिन्छन् तर आन्दोलनपछि हात लाग्छ शून्य । ०४६ सालपछि नै प्रजातन्त्रलाई लुटतन्त्रमा परिणत गराइयो भने ०६२/०६३ को जनआन्दोलनपछि भाँडतन्त्र हाबी भएको छ । यसरी देश र जनतालाई धोका दिदै सत्ताको दुरुपयोग गर्ने जो हुन् तिनीहरूलाई कडा कारबाही नगरिन्जेल नेपालको भविष्य यकिन गर्न सकिँदैन ।
०६३ को आन्दोलन संसद्वादको सुदृढीकरणका लागि थियो कि साम्यवादका लागि थियो ? त्यो आन्दोलन एउटा निरंकुश शासनको विरोधमा अर्को अधिनायकवादी साम्यवादको स्थापनाका लागि त थिएन । कांग्रेस, एमाले र माओवादी पार्टीका केही नेताहरूले राष्ट्रियताका संवेदनशील कुरामा विश्वसनीयता गुमाएका छन् । बहुलाएको मान्छेजस्तो एकोहोरो सहमति–सहमतिको रटान लगाएर नेपाली जनताको दिमाग खाँदै छन् । सबैलाई थाहा छ कि यिनीहरूका कुकर्मबाटै हरक्षेत्र अन्योलग्रस्त बनेको छ । आन्दोलनपछि राजनीतिक नेताहरूले छाती फुकाएर सडकमा हिँड्नुपर्नेमा अहिले चोरबाटो समात्न पुगेका छन् । ११ वैशाखमा राजासँगको सहमतिलाई मिचेर विदेशी गुप्तचर संस्थाको निर्देशनमा कांग्रेस, एमाले र माओवादी नेताहरूले विवादास्पद अन्तरिम संविधान प्रस्तुत गरेर राष्ट्रलाई रणभुल्लमा पारेका छन् । एउटै संविधानभित्र संसद्वाद र साम्यवाद बोकेर हिँड्न सक्ने बहुलट्ठी बाटो अपनाउन खोजे । रुसमा गरिबीका कारणबाट साम्यवाद जन्मिएको थियो, राष्ट्रियताका कारणबाट होइन । राष्ट्रियता र गरिबी यी दुवै कारणबाट चीनमा साम्यवाद जन्मियो भने नेपालमा गरीबीको कारणबाट कम्युनिस्टको जन्म नभएर राष्ट्रियताको कारणबाट भएको हो । यस अवस्थामा हिन्दू तथा बौद्धको प्रजातान्त्रिक संस्कारको संस्कृति बोकेको नेपालले कसरी जडसूत्रवादी जनगणतन्त्र बोक्न सक्छ ? साम्यवादी खोल ओढेका क्रिस्चियनका दलालहरूले यो कुरा कसरी बुझ्न सक्लान् र ?
विभिन्न जातिलाई एउटै नेपाली जातिमा परिणत गराउनुपर्नेमा जातीय साम्प्रदायिक जन्जालमा माओवादीहरू फस्नु आत्मघाती खेल हो । हिटलर पनि आफूलाई देशभक्त ठान्थे । उनको विनाश यस्तै जातीय कारणले भयो । राष्ट्रको संवेदनशीलता बुझ्न नसकेकाले देशको स्थिति विकराल बन्दै छ । तर, माओवादीहरूले बुझुन् कि जातीय मुद्दा उठाएर र हतियार आतंकबाट  प्रभाव जमाउन सक्ने अवस्था अब छैन । राष्ट्रिय स्वाधीनताका लागि लडेर राष्ट्रलाई समृद्ध बनाउने हो भने माओवादीले राष्ट्रवादी मुद्दा उठाएर अगाडि आएको जस्तो सबैलाई चित्त बुझ्ने रचनात्मक बाटो समात्नु पर्ने होइन ? तर, नेपाल बिग्रिएको यहाँका भाट बुद्धिजीवीहरूको कारणले हो, त्यसमा बाहुन धेरै छन् । वास्तवमा संविधानसभा मरेपछि त्यसभन्दा अगाडिको बाटोमा फर्किनु कुनै राजनीतिक निकास हो । त्यसो भएकाले धेरै विश्लेषकले ०४७ सालको संविधानमा फर्केर निकासको बाटो खोज्ने कुरा उठाएका छन् । अत: राष्ट्रलाई निकास दिने हो भने राष्ट्रियता र प्रजातन्त्रलाई सँगसँगै लिएर अगाडि बढ्नु सबैको सहमतिमा भ्रष्टसत्ता र विदेशी हस्तक्षेपबाट मुक्त हुँदै कडा अनुशासनको नीति अवलम्बन गर्ने बाटो समात्नुको विकल्प छैन ।
चिनियाँ यात्री हुयान साङले नेपालको भ्रमण गरी आफ्नो यात्रा वृत्तान्तमा भनेका थिए– ‘नेपालको राज्य व्यवस्थाले छिमेकी राज्यहरूमा आफ्नो प्रभाव कायम राखेको थियो । लिच्छवि कुलोत्पन्न क्षत्रिय राजा छन् जसलाई अनेक कुराको ज्ञान छ । यहाँ अंशु बर्मा नामका राजा थिए, यिनको प्रताप र प्रतिभाको कीर्ति टाढा–टाढासम्म विख्यात थियो ।’ यही क्रमले लिच्छविलगायत बाइसी, चौबिसी, मल्ल र शाह राजाले  यस क्षेत्रको मौलिकता बचाएरै राखेका थिए । राजा महेन्द्र मल्लको समयमा तिब्बतमा नेपालको मोहर (मुद्रा) चलाउने व्यवस्थाको सम्झौतालाई निरन्तरता दिएर राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले छिमेकी राज्यहरूसँग राम्रो सम्बन्ध कायम राखेका थिए । पृथ्वीनारायण शाहबाट तिब्बतमा अन्न, वस्त्र, सिक्का आदि निर्यात गरिन्थ्यो र सुन, नुन, भेडा, च्याङ्ग्रा आदि आयात गरिन्थ्यो । भोटबाट सस्तो भाउमा सुन ल्याउने र त्यो सुन भारतमा महँगोमा बिक्री गरी भारतबाटै सस्तोमा चाँदी खरिद गरी रुपियाँ बनाई भोटमा निर्यात गरिन्थ्यो । इतिहासका कूटनीतिक पाठ सिक्दै विश्वव्यापीकरण गर्ने अवस्थामा नेपाल अहिले आफ्नै अस्तित्वको लडाइँमा छ । नेपालको आर्थिक, सामाजिक र प्रजातान्त्रिक जीवनपद्धति ती राष्ट्रको भन्दा राम्रो थियो भने अहिले सत्तासीन कांग्रेस, एमाले, मधेसी र प्रधानमन्त्री बाबुराम भट्टराईहरूले राष्ट्रघातको बाटोमा लागेर नेपाली जनतालाई बहुलाजस्तो बनाउन लागेका छन् । संविधानसभा समाप्त भएपछि अन्तरिम संविधानको पनि अस्तित्व समाप्त भइसकेको छ । संविधानजस्तो कुरालाई यसरी विवादास्पद जबरजस्त सञ्चालन गर्न खोज्नु हुन्न । अहिले नेपाली जनता माओवादी, कांग्रेस, एमाले, मधेसीहरूदेखि आजित भइसकेका छन् । के देश यस्तै अनिश्चित तरिकाले विनासंविधान यिनै ०६३ सालपछिका भिडबाट चल्छ ? त्यसैले अब सबै देशभक्तले विदेशी हस्तक्षेप र व्याप्त भ्रष्टाचारको मुकाबिला गर्दै ०४७ सालको संविधानमै टेकेर राष्ट्रियता र प्रजातन्त्रको समन्वय र सन्तुलन कायम गर्दै रचनात्मक बाटो समात्न सक्नुपर्छ ।

No comments:

Post a Comment