Friday, December 14, 2012

षड्यन्त्रै षड्यन्त्रको पृष्ठभूमिबाट गुज्रिएको नेपाली राजनीति २१औँ शताब्दीको प्रारम्भसम्म आइपुग्दा पनि षड्यन्त्रमुक्त हुन सकेन !

-  देवप्रकाश त्रिपाठी
षड्यन्त्रै षड्यन्त्रको पृष्ठभूमिबाट गुज्रिएको नेपाली राजनीति २१औँ शताब्दीको प्रारम्भसम्म आइपुग्दा पनि षड्यन्त्रमुक्त हुन सकेन । पात्र र शैली परिवर्तन भए पनि प्रवृत्ति र व्यवहार दुई शताब्दीपूर्व जस्तो प्रकारको थियो अहिले पनि त्यसमा कुनै बदलाव आएको छैन । त्यसबेला भीमसेन थापा, जंगबहादुर राणा, वीरशमशेर र राजेन्द्रलक्ष्मीहरू षड्यन्त्रका ‘नायक’ बनेका थिए र तिनले सत्ता केन्द्रमा रहन जसरी षड्यन्त्रका ब्यूह रचना गर्दथे ठीक त्यही शैलीको षड्यन्त्रको सिकार आधुनिक नेपालको राजनीतिले बन्नुपरिरहेको छ– एक्ला ‘नायक’ बनेका छन् प्रचण्ड । विगतका षड्यन्त्रकथकहरू सीधै सत्तामा पुग्न र प्राप्त हैसियत जोगाइराख्न आफ्नै नाममा षड्यन्त्र गर्थे, तर २१औँ शताब्दीको षड्यन्त्र जनताको नाममा कथिएको छ । हत्या, धोखाधडी र चालबाजी हिजो पनि रचिन्थ्यो र आज पनि रचिँदै छ, तर फरक यत्ति छ अहिले मर्नेहरू जनताका नाममा मरेका छन् र मारिनेहरू पनि जनताकै नाममा जब कि थापा, पाँडे या राणाहरू आफ्नै नाममा मार्ने–मारिने गर्दथे । मुलुक एकीकरणका क्रममा तात्कालिक राजा पृथ्वीनारायण शाहले के–कस्ता षड्यन्त्र र दाउपेच थिए भन्ने विषयलाई कतिपय राजनीतिकर्मीले आफ्नो उपस्थिति जनाउन बुद्धि–विलासको सन्दर्भ बनाएका
भए पनि त्यसलाई आमनेपालीले सहज र स्वाभाविक रूपमा लिएका छन् । पृथ्वीनारायण शाहको भूमिका र उनको कार्यशैलीमाथि प्रश्न उठाउनेहरूले देश स्थापनाको औचित्यलाई जिस्क्याएको ठानिन्छ । सामान्यतया हत्या, षड्यन्त्र, जालझेल र तिकडमलाई नाजायज ठानिए पनि साध्य सही भएमा साधन के अपनाइएको थियो भन्ने पक्ष गौण हुनसक्छ । सृष्टि, प्रकृति, ब्रह्माण्ड, पृथ्वी, प्राणीजगत्, मानिस, वनस्पति र देशको रक्षाका निम्ति अवलम्बन गरिने
साधन गलत या बेठीक भए पनि आवश्यक र उपयुक्त किन ठानिन्छ भने गन्तव्य सतप्रतिशत सकारात्मक भएकोले हो । त्यसैले पृथ्वीनारायण शाहबाट देश स्थापनाका क्रममा कुनै बेला कसैका विरुद्ध षड्यन्त्र रचिएको थियो भने पनि त्यसलाई नाजायज ठानिनु झनै नाजायज हुनसक्छ । तर, पृथ्वीनारायणको कालखण्डपश्चात् देशको सीमा विस्तारको गतिले छलाङ मार्न नसके पनि षड्यन्त्रको शृङ्खला भने जारी रह्यो, अझै जारी छ । पृथ्वीनारायणपछिका सबै षड्यन्त्रहरू देशका लागि नभई सत्ताकेन्द्रित रहँदै आएका छन् । त्यस्तो षड्यन्त्र चाहे राजेन्द्रलक्ष्मीले बहादुर शाहका विरुद्ध गरेकी हुन् या बहादुर शाहले राजेन्द्रलक्ष्मीका, भीमसेन थापाहरूले पाँडेका विरुद्ध गरेका हुन् या पाँडेहरूले थापाका विरुद्ध, जंगबहादुर राणाले थापाहरूका विरुद्ध गरेका हुन् या वीरशमशेरले रणोद्वीप र जंग राणाहरूका विरुद्ध, सबै षड्यन्त्रहरू केवल सत्ता प्राप्तिका लागि रचिएका हुन् । पृथ्वीनारायणपछिको अढाइ शताब्दी लामो नेपाली राजनीतिको इतिहास षड्यन्त्र र छलकपटबाट कहिल्यै मुक्त हुन सकेन । केवल वैयक्तिक महत्वाकाङ्क्षा परिपूर्तिका निम्ति भएका षड्यन्त्रले समृद्ध मुलुक निर्माणको नेपाली सपना साकार हुन अवरोध पु¥याइरहेको छ । युरोप र अमेरिकाका समृद्धि मुलुकहरू पनि दुई सय वर्षअघिसम्म यस्तै प्रकारका षड्यन्त्रहरूबाट गुज्रिएका थिए र त्यस क्रममा सम्बन्धित मुलुकहरूले धेरै ठूलो जनधनको क्षति व्यहोर्नुपरेको थियो । तर, नेपालको राजनीति २१औँ शदीको पौने एक शताब्दी पार गरिरहँदा पनि जालझेल, हिंसा र षड्यन्त्रकै ब्यूहमा फसिरहेको छ । जसका कारण यहाँ राजनीतिलाई सेवाको साधनका रूपमा बुझ्न छोडिएको छ र षड्यन्त्र, छलकपट, जालझेल र धोखाधडीलाई राजनीति ठान्न थालिएको छ । जनताका नाममा कथिएको हिंसात्मक युद्धसमेत मात्र षड्यन्त्रको एउटा कहालीलाग्दो नाकट थियो भन्ने रहस्य खुल्दै जाँदा नेपाली राजनीति षड्यन्त्रकारीहरूको चपेटामा उम्कनै नसकिने गरी परेको हो त भन्ने प्रश्न उठ्न थालेको छ ।
वि.सं. २००७ सालमा राणाहरूको अधिनायकवादी शासन अन्त्य भई प्रजातन्त्र स्थापना हुँदा षड्यन्त्र र जालझेलको राजनीतिसमेत समाप्त भएको ठानिएको थियो । ००७ सालपछि नेपाली जनताले सहज, स्वाभाविक, सुमधुर र सकारात्मक राजनीतिक प्रक्रिया सुरु हुने विश्वास गरेका थिए । तर, राजा महेन्द्रको षड्यन्त्र र छलकपटको युग परिपक्व हुँदै जाँदा दशक लामो षड्यन्त्रको परिणामका रूपमा २०१७ सालको घटना भयो । ०१७ सालपछि सत्ता केन्द्रमा केही झिना–मसिना षड्यन्त्रका तानाबाना बुनेका देखिए पनि राजाको अधिनायकवाद र प्रजातन्त्रवादबीचको वैचारिक द्वन्द्व देशको राजनीतिको मुख्य समस्या बनेर प्रकट भयो । ०४६ सालमा प्रजातान्त्रिक आन्दोलनले सफलता प्राप्त गर्दा जालझेलको राजनीतिले बिदा लिने आशा राखिएको थियो र त्यसपछिका केही वर्षको राजनीति छलकपटको दायराभन्दा केही माथि उठेको महसुस पनि गरिएको हो । माओवादीले हिंसात्मक युद्ध सुरु गरी जनताका नाममा जनता मार्ने र देशका नाममा देशकै विकासका भौतिक संरचनाहरू ध्वस्त गर्ने अभियान सुरु गरेपछि नेपाली राजनीति पुनः षड्यन्त्रको घनचक्करमा फस्यो । ०५८ पछिका केही वर्ष तात्कालिक राजा ज्ञानेन्द्रसमेत एकप्रकारले षड्यन्त्रमूलक गतिविधिमा सरिक भए पनि अन्ततः ०६२/०६३ को आन्दोलनपश्चात् उनी आफ्नो षड्यन्त्रको सिकार आफैँ हुन पुगे । ०६२/६३ पछि नेपालको राजनीति प्रचण्डहरूको महाजाली षड्यन्त्रमा फसेको महसुस गरिएको छ र अब प्रचण्डहरूको सक्रिय भूमिका कायम रहँदासम्म राजनीति शुद्ध र सकारात्मक नबन्ने तथ्य दिनप्रतिदिन छर्लङ्ग हु“दै गएको छ । ०६२ साल मङ्सिर ७ गते माओवादी र राजनीतिक दलहरूबीच भएको १२बुँदे सम्झौता नेपाली जनता, राजनीतिक दल र विश्व समुदायको दृष्टिमा स्वाभाविक भए पनि त्यो प्रचण्डहरूको षड्यन्त्र मात्र थियो भन्ने तथ्य घटनाक्रमहरूले पुष्टि गर्दै लगेको छ । उक्त सम्झौलाई तात्कालिक राजाले आफूविरुद्धको षड्यन्त्र ठानेका हुन सक्छन्, तर आम रूपमा त्यसलाई स्वाभाविक र सकारात्मक मानिएको थियो । त्यसयता अनेकौँ चरणमा अनेक आकार–प्रकारका सम्झौताको प्रक्रियाबाट नेपाली राजनीति गुज्रियो । प्रचण्डहरूलाई काखी च्यापेर गिरिजाप्रसाद कोइराला प्रथम राष्ट्रपति बन्ने लक्ष्यप्राप्तिका निम्ति राजाविरुद्धको मोर्चाबन्दीमा जुटिरहँदा कोइरालाले आफूमाथि कस्तो षड्यन्त्र हुँदै छ भन्ने सामान्य सुइँको पनि पाएनन् । प्रचण्डको मायाजालमा परेका गिरिजाप्रसादले आफू काङ्गे्रस सभापति भए पनि संविधानसभा निर्वाचनमा पार्टीविशेषको प्रचारमा नजाने घोषणा गरेर राष्ट्रप्रमुख बन्ने अभ्यास गरे र प्रचण्डहरूलाई रिझाए । राष्ट्रपति निर्वाचनमा प्रचण्डले रामराजाप्रसाद सिंहलाई उम्मेदवार घोषणा गरेपछि मात्र गिरिजाप्रसादले आफू षड्यन्त्रको सिकार बनेको महसुस गरे होलान् । पछि सहमतीय सरकारको नेतृत्वबाट समेत हट्न बाध्य पारिएका कोइरालाले आफू ‘ग्राण्डडिजाइन’मा परेको थाहा पाउँदा उनले मुलुक, प्रजातन्त्र र काङ्गे्रसलाई सङ्कटको भुमरीमा हेलिसकेका थिए । जुन सङ्कटबाट काङ्गे्रस, प्रजातन्त्र र देशले सहजै मुक्ति पाउने सम्भावना अझै देखिएको छैन । राजनीतिक नेतृत्वको सोच देशकेन्द्रित भयो भने तिनको भूमिका स्वच्छ र सहज हुने हो । आत्मकेन्द्रित या सत्ताकेन्द्रित सोचका कुनै पनि व्यक्ति कुनै पनि बेला षड्यन्त्रको सिकार हुन सक्छन् र गिरिजाप्रसाद पनि भए । गिरिजाप्रसादले सर्वाधिक पत्याएका र उनको भरोसा बनेका शक्ति र व्यक्तिहरूबाट नै उनीमाथि धोखाधडी भएको थियो । गिरिजाप्रसादजस्ता ‘उचाइदार’ नेतालाई आफ्नो गोलचक्करमा सहजै प्रयोग गर्न सकेपछि प्रचण्डहरूको आत्मबल बढ्यो र काङ्गे्रसका सबै नेतालाई तासको जोकेरझैं आवश्यकताअनुरूप उपयोग गर्न सकिने विश्वास प्रचण्डमा पलायो । वर्तमानमा आफैं प्रधानमन्त्री बन्ने हैसियतमा नरहेका प्रचण्डले प्रधानमन्त्री बनाइदिने आशामा कतिपय काङ्गे्रसी नेताहरू भित्रभित्रै साँठगाँठ गर्न पनि पुगे । सभापति सुशील कोइरालालाई प्रचण्डले गिरिजाप्रसादको तुलनामा धेरै कमजोर सायद ठानेका हुँदा हुन्, तर सुशीललाई छुँदा प्रचण्डको हात पोलेको छ । धन र पदको प्रलोभनमा नपर्ने, आफ्नो सैद्धान्तिक तथा वैचारिक अडानमा दृढतापूर्वक उभिने सुशील कोइरालाको स्वभाव चरित्र भएको बुझेपछि प्रचण्डले मौका पाउनासाथ कोइरालाको निन्दा गर्ने गरेका छन् । गिरिजाप्रसाद छइन्जेल बीपीको प्रशंसा गरेर नथाक्ने प्रचण्डले अचेल गिरिजाप्रसादको अभाव महसुस गर्नुको रहस्य सुशील कोइरालाले समयमै नबुझेका भए प्रचण्डले निकै ‘कम्फर्टेबल’ महसुस गर्ने थिए । पद र पैसाको मोहजालमा सजिलै पर्ने चरित्रका सुशील भइदिएका भए उनलाई प्रधानमन्त्री स्वीकार गर्न पनि प्रचण्डलाई कठिन नहुन सक्थ्यो । राष्ट्रियता, प्रजातन्त्र, इमानदारी, निष्ठा र जीवनशैलीका मामिलामा कथित सर्वहाराका अगुवाहरू हजार माइल पछि पर्ने गरी अगाडि रहेका सुशील कोइरालालाई प्रधानमन्त्री बनाउँदा बेइमानहरूको क्रियाकलापमा अवरोध पैदा हुनसक्ने त्रास स्वाभाविक रूपमा प्रचण्डमा पनि प्रकट भएको देखिन्छ । पहिले प्रधानमन्त्रीको उम्मेदवार तय गर्न पटकपटक आग्रह गर्ने र तय गर्न नसकेको अवस्थामा ‘उम्मेदवारसमेत दिन नसक्ने’ भनी खिस्याउने प्रचण्डले प्रधानमन्त्रीको उम्मेदवार निर्धारण गर्ने क्रममा गम्भीर विवाद उत्पन्न भई काङ्गे्रस विभाजनसम्म हुनसक्ने सपना सम्भवतः देखेका थिए । उम्मेदवार विवादमै काङ्गे्रस नेतृत्व महिनौँसम्म अल्झिरहन्छ र एमाओवादी नेतृत्वको सरकार चलिरहन्छ भन्ने विश्वासमा मात्र प्रचण्डले ‘उम्मेदवार देऊ’ भनेका रहेछन् भन्ने तथ्य अब छर्लङ्ग भइसकेको छ । प्रधानमन्त्रीका रूपमा काङ्गे्रसले एकाएक सुशील कोइरालाको नाम अघि सारेपछि प्रचण्डलाई झट्का लाग्यो र उनले तत्कालै ‘संविधानका विवादित विषयहरूमा टुङ्गो लाग्नुपर्ने’ सर्त तेस्र्याए । मधेसी मोर्चासम्बद्ध नेताहरूले पनि पहिले एमाओवादीसँग भएको चारबुँदे सम्झौतालाई मानेको अवस्थामा मात्रै काङ्गे्रस नेतृत्वलाई स्वीकार गर्न सकिने धारणा सार्वजनिक गरेका छन् । प्रचण्ड र मधेसी मोर्चासम्बद्ध नेताहरूले रूपमा जे–जस्ता सर्त राखेका भए पनि दुवै थरीका नियत पक्ष एउटै छ– सत्ता नछोड्ने र छोड्नै परे पनि काङ्गे्रसलाई नेतृत्वचाहिँ नदिने । बाबुराम भट्टराईलाई ‘बार्गेनिङ टुल्स’का रूपमा प्रयोग गर्दै प्रचण्डले सत्ता आफ्नो हातमा आउने परिस्थिति निर्माणको कसरत गरिरहेका छन् । जाबो सत्ताका निम्ति हजारौं नागरिकको ज्यान लिनसक्ने र राष्ट्रलाई खर्बौंको क्षति पु¥याउन सक्नेहरूका निम्ति काङ्गे्रस–एमालेलाई झुक्याउनु या धोखाधडी गर्नु अति सामँन्य हो । एमाओवादी र उक्त दलसम्बद्ध हितैषीहरूको षड्यन्त्र के थियो र केसम्म हुनसक्छ भन्नेबारे किञ्चित जानकारी पाउन नसक्नु काङ्गे्रसको दुर्बल पक्ष हो । भीमसेन थापा र वीरशमशेरहरूको पालामा हिंसाको सहारा लिएर विरोधी सिध्याइन्थ्यो । युगान्तरले गर्दा पहिले दामोदर पाँडे या रणोद्वीप सिंहहरूलाई झैं खुलेआम हत्या गर्न सकिने स्थिति अहिले छैन । राम्रा मान्छे या विरोधी मान्छे मार्न अब कोही चाहन्छन् भने तिनले फेरि वनमा ‘सरकार’ गठन गरी वन–जङ्गलबाटै ‘राज्य सञ्चालन’ गर्नुपर्ने हुन्छ । सिंहदरबारमा सुत्ने बानी परेपछि सिंह, ब्वाँसो या स्याल जो जे भए पनि ऊ चारकोसे झाडीमा फर्कन चाहँदैन । तर, सिंहदरबारमै बसेर स्टालिन, माओ, इदिअमिन र सिरियाका असदले झैं नरसंहार गर्ने हैसियत प्रचण्ड–बाबुरामको बनिसकेको छैन । त्यसैले शान्ति र लोकतन्त्रको नारा लगाउँदै क्रान्ति र अधिनायकवादको पक्षमा क्रियाशील हुनुपर्ने ‘ऐतिहासिक दायित्वबोध’ प्रचण्ड–बाबुरामले गरेका छन् र आफ्ना ‘हिडन’ उद्देश्य परिपूर्तिका लागि उनीहरूको भूमिका केन्द्रित रहँदै आएको छ । आफ्नो निहित उद्देश्य प्रकट गर्न नहुने र प्रकट गरिएका कुरा कार्यान्वयनमा लैजान नसकिने अवस्थामा रहेका प्रचण्ड–बाबुरामहरूका निम्ति षड्यन्त्र रच्नु बाध्यता हो र यस्तै बाध्यताले उनीहरूलाई निरन्तर षड्यन्त्रमा सामेल भइरहन पे्ररित गरिरहेको छ । यसक्रममा षड्यन्त्र प्रचण्ड–बाबुरामको जीवनशैली नै बनिसकेको महसुस हुन थालेको छ । देशहरूको अस्तित्व नामेट तुल्याउनुपर्ने विचार दर्शनबाट ‘गाइडेड’ प्रचण्ड–बबुरामका निम्ति सत्ता नै परम्धाम हो, सत्ता नै परमेश्वर हो र सत्ताबिनाको जीवन बाँच्ने कल्पना पनि उनीहरूले गरेका छैनन्– गर्न सक्दैनन् । सत्ताको तुलनामा सिद्धान्त, विचार, दर्शन र नैतिकता मात्र नभई आफ्नो ज्यान र देशसमेत गौण हुन् तिनका निम्ति । माओवाद र लेनिनवाद बुझ्नेहरूका लागि प्रचण्ड–बाबुरामको विद्यमान भूमिका अस्वाभाविक भए पनि सामान्य हो । देश र ज्यानभन्दा सत्तालाई महान् ठान्नेहरूले सत्ताका निम्ति जुनकुनै हदसम्मको षड्यन्त्र रच्नु, झुट र बेइमानी तथा धोखाधडी गर्नुलाई साधारण जनताले सामान्य रूपमा आत्मसात् गर्न नसके पनि ‘क्रान्तिकारी’का दृष्टिमा त्यसो गर्न सक्नु महान् भइदिन्छ । इतिहासमा भीमसेन थापा, जंगबहादुर राणा, वीरशमशेर, राजा महेन्द्र या अन्य जुनसुकै पात्र षड्यन्त्रमा सामेल भएका भए पनि ती कसैले देशलाई नै दाउमा राख्ने कार्य गरेनन्, आफूलाई सत्ता केन्द्रमा पुरयाउने या सत्तामा रहिरहने हदसम्म मात्र तिनको षड्यन्त्रको डिग्री र दायरा सीमित थियो । तर, प्रचण्ड–बाबुरामको उदयसँगै देशमा षड्यन्त्रको राजनीति उत्कर्षमा पुगेको छ र नेपाली राजनीतिमा उनीहरूको क्रियाशीलता कायम रहँदासम्म मुलुक ‘षडयन्त्रमुक्त’ बन्न नसक्ने तिनकै भूमिकाले पुष्टि गरिरहेको छ । भीमसेन थापाको षड्यन्त्रको सिकार तात्कालिक राजनीतिमा पाँडेलगायत अन्य विपक्षीहरूले बन्नुपरेको थियो भने स्वयम् भीमसेन थापाले पनि षड्यन्त्रकै सिकार भएर देहत्याग गर्नुपरेको हो । षड्यन्त्रकै जगमा सत्ता केन्द्रमा पुगेका जंगबहादुरको पनि षड्यन्त्रमूलक ढङ्गले वंशनास गरिएको थियो । राजा महेन्द्र, वीरेन्द्र र ज्ञानेन्द्रसम्मले पनि आफूरचित षड्यन्त्रको सिकार आफैं बन्नुपरेको हो । प्रचण्ड–बाबुराम जसले सत्तामा पुग्न र टिकिरहन भयङ्कर षड्यन्त्रहरूको सहारा लिँदै आएका छन्, यिनीहरू आफैं पनि कसैको षड्यन्त्रको सिकार भए भने आश्चर्य मान्नुपर्दैन । सबै किट–पतङ्गलाई आफ्नो जालमा पार्ने माकुरीको अन्त्य आफैंले बुनेको जालमा हुन्छ भन्ने सत्यमाथि विचार गर्ने हो भने षड्यन्त्रकारीहरूको अन्त्य पनि सहज हुन्छ भन्न सकिन्न । माथिल्लो तह अर्थात् टुप्पाबाट हुने षड्यन्त्रहरूको सिलसिला एकप्रकारले अन्त्यझैं भए पनि भीड या समूहको आडमा तलबाट गरिने षड्यन्त्र जुन नेपालमा देखिएको छ यसको विस्थापन पूर्ण प्रजातन्त्रले मात्र गर्न सक्दछ । तर, यहाँ प्रजातान्त्रिक शक्ति रक्षात्मक र षड्यन्त्रकारीहरू आक्रामक भूमिकामा रहेकोले तत्काल प्रजातान्त्रिक प्रणालीले संस्थागत रूप लिने आशा गर्न पनि सकिएको छैन । सत्ताकेन्द्रित सोच र षड्यन्त्रकारी प्रवृत्ति जीवित रहेसम्म प्रजातन्त्र, स्वतन्त्रता र समृद्धिको कल्पना गर्नु व्यर्थ हुन्छ, हामी ब्वाँसोलाई अगुवा बनाएर खरायोहरूको रक्षा गर्ने त्यही व्यर्थ कल्पनामा छौँ ।

No comments:

Post a Comment