Tuesday, February 12, 2013

केपी दाइले भन्नुभयो– "सानै भए पनि तैँले मलाई जिन्दगी दिइस्, धन्यवाद । तेरो जिद्दीले आखिर मलाई बचाउनै लेखेको रहेछ है"

केपी ओलीलाई किड्नी दिएँ, धन्य भएँ

-टीका विष्ट
Anjana-Ghimireमुलुकभर संविधानसभा निर्वाचनको चटारो चलिरहँदा एमालेनेता केपी शर्मा ओली रोगसँग लडिरहेका थिए । ०६२×/०६३ को आन्दोलन सफल भएर देशले दशकौं लामो द्वन्द्वबाट मुक्ति पाउँदा ०६४ को वैशाखदेखि उनीचाहिँ ओछ्यान परे । मुलुकको मुक्तिका लागि कलिलो उमेरमै जेलजीवन स्वीकारेका उनी यसपटक आफ्नै कमजोर शारीरिक अवस्थाविरुद्ध संघर्ष गरिरहेका थिए । शासन, विचार र पद्धतिविरुद्धको लडाइँ र रोगसँगको लडाइँबीच आकाश–पातालको फरक थियो । असारमा त झनै थला परे । भेट्न आउने शुभेच्छुकहरूको भीडले उनलाई घेरिरहेको हुन्थ्यो । आउनेहरूले ल्याएका फलफूलसमेत खान नसक्ने गरी थलिएका उनका दुवै ‘किड्नी’ काम नगर्ने अवस्थामा थिए । शरीर सुन्निँदै थियो । डाक्टरहरूले उनलाई पहिलेजस्तै बनाउन किड्नी फेर्नुपर्ने अनिवार्यता प्रस्तुत गरेका थिए । किड्नीको खोजी हुन थाल्यो । नजिकका आफन्त, नेता, कार्यकर्ता र प्रशंसकहरू उनलाई आफ्नो किड्नी दिन तम्सिए । थुप्रैले रगत परीक्षण पनि गराए । बाहिरबाट लिँदा विवाद हुन सक्ने देखेपछि परिवारभित्रैबाट किड्नी खोजी गरियो । तर, उनकी पत्नी राधिकाको रक्तसमूह नै ‘म्याच’ गरिदिएन । सहोदर भाइ जयको किड्नी पनि नमिल्ने भयो । ओलीका ठूलो बुबाको छोरा ताराले परीक्षण गराए, त्यो पनि काम लागेन । यी सबै अवस्था नियालिरहेकी अञ्जान घिमिरेको मनमा लागिरहेको रहेछ– ‘कतै मेरो
किड्नी पो मिल्छ कि † उहाँलाई बचाउन पाए हुन्थ्यो ।’ अञ्जान उनै ताराकी पत्नी हुन्, केपीकी भाइबुहारी । किनकिन मनले आफ्नो किड्नी पक्कै मिल्छ भनेर ठोकुवा गरिरहेझैँ लाग्थ्यो रे उनलाई † असार अन्तिमतिर उनी केपीलाई भेट्न उनको घर गइन् । नभन्दै अन्जानको किड्नी केपीलाई मिल्यो । आज केपी फेरि तन्दुरुस्त भएर नेपाली राजनीतिक वृत्तमा सक्रिय हुन सकेका छन् । कस्ता थिए केपीलाई किड्नी दिँदाका ती अनुभूतिहरू ? अन्जान सम्झँदै छिन् आफ्नै शब्दमा :
म पुग्दा उहाँ ओछ्यानमा लडिरहनुभएको थियो । मुहारले नै बताउँथ्यो, उहाँ भित्रभित्रै निकै कमजोर भइसक्नुभएको छ । म नजिकै बसेर उहाँसँग कुराकानी गर्न थालेँ ।
दाइ साह्रै बिरामी हुनुभयो है ?
– हो ।
के सम्बन्धी समस्या हो ?
– किड्नी ।
फेर्नैपर्ने भयो ?
– अँ ।
मिल्यो त ?
– अहिलेसम्म त कसैको मिलेको छैन ।
म दिन्छु नि ?
— तँ त यति सानी छेस्, कसरी दिन्छेस् ?
म दिइहाल्छु नि, सानो र ठूलोले केही फरक पर्दैन ।
— अरूको त मिलेन तेरोचाहिँ मिल्ला र ?
मिल्छजस्तो लाग्छ दाइ मलाई त ।
०००
मेरो छोरा भर्खर दुई वर्ष पुग्न आँटेको थियो । बच्चा सानो छ भनेर उहाँले मेरो किड्नी लिन मान्नुभएन सकेसम्म । मैले दिन्छु भनेर जिद्दी नै गरेँ । लागिरहेको थियो– ‘मसँग सुरक्षित रहेको एउटा अंगले कसैको जीवन बाँच्छ भने किन नदिउँm †’ यसै पनि मलाई बिरामी मान्छे देख्दा केही गर्न पाए हुन्थ्यो भन्ने लागिरहन्छ । उहाँ त झन् परिवारभित्रकै मान्छे । देशको महत्त्वपूर्ण नेता । उहाँलाई जीवन दिन पाउनु भाग्यको कुराजस्तो लाग्यो । मैले जिद्दी गरिरहेपछि केहीबेर सोचेर भन्नुभयो– ‘तँ मलाई साँच्चै दिन्छेस् त किड्नी ? दिन्छेस् भने पनि तेरो श्रीमान् र आमाबुबाको सहमतिबिना त लिन्नँ ।’
मैले जसरी भए नि किड्नी दिने निर्णय गरिसकेकी थिएँ । साँझ घर फर्केर श्रीमान् र बुबासँग सोधेँ । ‘मिल्छ भने देऊ’ भन्नुभयो । दाइको स्वास्थ्यस्थिति दिनदिनै नाजुक बन्दै थियो । भोलिपल्टै सिद्धार्थ वनस्थलीस्थित मृगौला केन्द्र गएर चेक गराएँ । नभन्दै मेरो भाग्यमा दाइलाई सहयोग गर्न पाउने लेखेकै रहेछ । रगतसमूह पनि मिल्यो, दाइको ओ नेगेटिभ, मेरो ओ पोजिटिभ । परिवारभित्र अरू कसैको नमिल्नु, चेक नगराउँदै मेरो मनले चाहिँ मिल्छ भनेर ढुक्क बनाउनु, यी सबै कुरा संयोग थिए । डाक्टरले ओके गरे, मलाई खुसी लाग्यो ।
तत्काल दिल्ली जाने कुरा भयो । राधिका दिदी (केपीकी श्रीमती), केपी दाइ, म र मेरो श्रीमान् दिल्लीको एपोलो अस्पताल पुग्यौँ । मभित्रको बायाँ किड्नी दाइको शरीरमा प्रत्यारोपण हुन जाँदै थियो । प्रत्यारोपण सफल पनि भयो । त्यसपछि त झन् मेरो खुसीको सीमा नै थिएन । मलाई देख्नासाथ केपी दाइले भन्नुभयो– ‘सानै भए पनि तैँले मलाई जिन्दगी दिइस्, धन्यवाद । तेरो जिद्दीले आखिर मलाई बचाउनै लेखेको रहेछ है †’ यतिबेला उहाँका आँखाभरि आँसु देखेँ । उहाँले दिएको धन्यवाद नै मेरा लागि काफी थियो । खुसीले म पनि रोइछु । दबाब वा करकापमा दिनुपरेको भए वातावरण अर्कै हुन्थ्यो होला, तर मेरो मनले स्वतस्फूर्त रूपमा उहाँलाई बचाउन आग्रह गरेको थियो । यहाँ कुनै दबाब थिएन, थियो त केबल आत्मीयता मात्र ।
राधिका दिदी पनि भावविभोर हुनुभो’– ‘उहाँलाई बचाउनु भनेको मलाई बचाउनुबराबर हो । तिमीले जिन्दगीमा ठूलो गुन लगायौ, तिम्रो सहयोगप्रति सधँै ऋणी हुनेछु ।’ उहाँहरूले भनेका ती शब्द अहिले पनि मेरो कानमा गुन्जिरहन्छन् । दाइको जीवन बचाउन पाएकोमा झन् धेरै गौरव लाग्न थाल्छ ।
०००
साँच्चै, केपी ओलीजस्तो मान्छेलाई सहयोग गर्न पाउनु मेरा लागि सौभाग्य र गर्वको कुरा हो । कहिलेकाहीँ मान्छेले सोचेको कुरा ठ्याक्कै पुग्दो रै’छ । मलाई सानैदेखि मन पर्ने नेता हुनुहुन्थ्यो केपी दाइ । उहाँको स्पष्ट र व्यंग्यपूर्ण भाषणको म तारिफ गरेरै थाक्दैनथेँ । बुबा ध्रुव घिमिरे चितवनको पुरानो एमाले संगठकभन्दा पनि हुन्छ । घरमा नेताहरूको आउजाउ बाक्लै हुन्थ्यो ।
म पार्टी राजनीतिमा त लागिनँ तर साथीभाइसँग राजनीतिक गफ चल्दा केपी ओलीबारे सकेसम्म बढाइचढाइ गर्थें । उमेर बढ्दै जाँदा त स्वार्थी पो हुन थालिछु । सोच्न थालिछु– ‘केपी दाइकै परिवारभित्रका कसैसँग बिहे गर्न पाए पनि हुन्थ्यो, उहाँका भाइ कोही त पक्कै होलान् †’ कति क्रेजी भइछु म । एक दिन एमाले नेत्री सीता पौडेलले बिहेको प्रस्ताव ल्याउनुभयो । ओली थरको झापाकै केटासँग । मेरो मनमा झस्को पस्यो– केपीकै भाइभतिजा हुन् कि कतै π पछि बुझ्दै जाँदा त हो रहेछ ।
म घरकी साहिँली छोरी, २० वर्ष पुग्दै थिएँ । दुई दिदीको बिहे भइसकेको थियो । केटालाई मैले दिदीकै बिहेमा देखेकी थिएँ । त्यसमाथि केपीको भाइ भनेपछि त झन् हुरुक्कै भइहालेँ नि † कुरा छिनियो । राजाले प्रजातन्त्र खोसेको दिन (०६१ माघ १९) हाम्रो बिहे भयो ।
अहिले मेरा सात वर्षका छोरा र दुई वर्षकी छोरी छन् । मचाहिँ २८ वर्षकी भएँ । किड्नी दिएपछि बच्चा जन्मिँदैन भन्ने सोचले गाँजेको छ समाजमा । तर, मेरी छोरी त मैले केपी दाइलाई किड्नी दिएपछि नै जन्मिएकी हुँ । श्रीमान्ले बिएसम्म अध्ययन गर्नुभएको छ, मैले एसएलसी मात्रै । नेपालमा राम्रो रोजगारी सजिलै भेटिँदैन । जताततै आफन्त र ठूलाबडाको सोर्सफोर्स चाहिने । पहिला म एउटा निजी स्कुलमा पढाउँथेँ । उहाँ पनि काम गर्नुहुन्थ्यो । छोराछोरीलाई पढाउनुपर्ने भएपछि अहिले खर्च बढ्यो । त्यसैले उहाँलाई काम गर्न कतार पठाएँ, तीन–चार महिना भयो । सुरुमा त उहाँ जान मान्नुभएन, मैले नै कर गरेर पठाएँ । म छोराछोरी र बुबासँग जोरपाटीमा बस्छु । दिउँसो किराना पसल चलाउँछु । साँझबिहानको समय घरमा दिन्छु ।
थाहा पाउनेहरू सोध्छन्– ‘आफ्नो मान्छे त्यति ठूलो नेता हुँदा पनि किन जागिरका लागि नभनेको ?’ तर, म उहाँकी बुहारी भनेर चिनाउँदै हिँड्दिनँ । उहाँको परिवारको सदस्य हुन पाएकी छु, यति नै काफी लाग्छ । आफ्नो सानैदेखिको आदर्श व्यक्तित्वले जीवनभर सम्झने एउटा पात्र बन्न पाउनुभन्दा ठूलो सौभाग्य अरू के होला र ? संघर्ष त आखिर सबैले गर्नुपर्छ नै । उहाँको दायित्व राष्ट्रप्रति बढी छ ।
उहाँलाई गरेको सहयोगलाई हिसाबकिताबको तराजुमा राखेर जोख्दिनँ । जबकि मैले कुनै सर्त वा आशा राखेर उहाँलाई सहयोग गरेकी हुइनँ । उहाँलाई सहयोग गर्न नपाएको भएचाहिँ आज म बढी दु:खी हुन्थेँ होला । मैले स्वतस्फूर्त रूपमा उहाँलाई सहयोग गरेकी हुँ, त्यसैले उहाँकहाँ जागिर भनेर जान्नँ ।
फेरि उहाँको स्वभाव पनि अरू नेताको जस्तो छैन, पद वा अवसरको दुरुपयोग गरी नातेदारलाई पोसौं भन्ने । नातावादलाई प्राथमिकता नदिने त्यही बानीका कारण त उहाँ मेरो आदर्श पात्र हो । मलाई नपुग्दो पनि के छ र, खान–लाउन पुगेकै छ । मेहनत त गर्नुपरिहाल्यो नि † जिन्दगीमा धेरै महत्त्वाकांक्षा राख्नुहुन्न भन्ने मान्यता राख्छु । दाइको पावर उपयोग गरेर फाइदा लिऊँ भन्ने सोच मेरा पतिको पनि छैन, नहोस् पनि ।
चाडबाड सधैँ एकै ठाउँ मनाइन्छ । केपी दाइप्रतिको मेरो सम्मानमा कुनै कमी आएको छैन, झन्झन् बढिरहेको छ । उहाँको तर्कशील क्षमता र सही कुरामा अडान राख्ने शैलीले मलाई आज पनि नतमस्तक बनाउँछ । आफ्नो छविलाई लामो समयसम्म अरूको मनमा राखिराख्न सक्नु उहाँको खुबी नै हो, जुन अन्य नेतामा विरलै पाइन्छ । त्यसैले त थुप्रैको प्यारो हुनुहुन्छ उहाँ ।
अब केपी ओली एकपटक प्रधानमन्त्री भएको हेर्न चाहन्छु म । धेरै नेतालाई प्रधानमन्त्रीका रूपमा हेरियो, चाहेर पनि देशका समस्या समाधान गर्न सकेनन् । केपी ओलीको प्रभाव राम्रो भएर त उहाँलाई प्रभावशाली भनिएको हो । प्रधानमन्त्रीका रूपमा उहाँको प्रभावशालीताको मूल्यांकन गर्न मन छ मलाई । म विश्वस्त पनि छु– उहाँ प्रधानमन्त्री हुनुभयो भने पक्कै पनि देशमा अहिलेजस्तो अन्योल रहनेछैन । वारपार लगाउनुहुनेछ ।

No comments:

Post a Comment