Saturday, February 16, 2013

प्रचण्ड र बाबुरामका पछाडि कुद्ने सोझा साझा इमान्दार कार्यकर्ताले पढ्नु पर्ने एउटा वास्तविक जिबनकथा !


चाँदनी हमाल, चितवन - कम्युनिस्ट गुरु मोहनविक्रम सिंहको स्कुलिङले उनलाई कम्युनिस्ट बनायो। २०३५ सालमै खरो गाउँनेता बने।तत्कालीन महामन्त्री मोहनविक्रमले हाँकेको एकताकेन्द्र मशाल हुँदै कम्युनिस्ट पार्टी अँगालेका रोल्पा थवाङका ५५ वर्षीय कमलबहादुर रोक्का त्यसयता निरन्तर कम्युनिस्ट राजनीतिमा सक्रिय छन्। समय क्रममा थुप्रै कम्युनिस्ट पार्टी उमि्रए। जनयुद्धअघि नै माओवादी रोजेका रोक्काले युद्धकालमा ठूला नेतालाई घरमै राखेर भात पनि खुवाए। क्यान्सरले थलिएका उनी अहिले उपचारमा सहयोग खोजिरहेका छन्, सघाउने न कम्युनिस्ट भेटिन्छन्, न गैरकम्युनिस्ट कुनै दाता। 'पहिले-पहिले मोहन वैद्य र रामबहादुर थापा मेरै घर आएर बस्थे, म भात पकाएर खुवाउँथेँ,' उनले सम्भि्कए, 'प्रचण्ड पनि युद्धकालमा आएका थिए।'
थवाङकै वीरबलभद्र निमाविमा शिक्षक हुँदा उनी राजनीतिमा हुलिएका थिए।
एकीकृत माओवादीको सातौं महाधिवेशनका क्रममा उनले आफ्नो पीडा नेताहरूसँग बाँड्ने प्रयास गरे। उनको चाहनाअनुसार अध्यक्ष पुष्पकमल दाहाल भरतपुर क्यान्सर अस्पताल पुगेर कमललाई भेटे पनि।
निको भएर घर फर्कने आश्वासन दिँदै दाहालले कमललाई उपचारमा सहयोग गरिदिन चिकित्सकसँग आग्रह पनि गरे। महाधिवेशन सकेर सिधै क्यान्सर अस्पताल पुगेका दाहालसँग अर्थमन्त्री वर्षमान पुन, नेताहरु पोष्टबहादुर बोगटी र अग्नि सापकोटा पनि थिए।  आर्थिक सहयोगको भने कुनै जोहो भएन। अहिले पनि उनी सहयोगको याचना गर्दै भरतपुर क्यान्सर अस्पतालमा अलपत्र छन्। पञ्चायतकालमा पटकपटक जागिर खोसिएपछि भूमिगत भएर जीवन बिताएको याद अझै उनलाई छ। जनयुद्धकालमा पनि कयौं युद्ध लडेका योद्धा उनी पार्टीका लागि ज्यान दिनेमा गनिन्थे।
गत भदौबाट घाँटीको क्यान्सरले च्यापेपछि बुटवल हुँदै बिपी मेमोरियल क्यान्सर अस्पताल आइपुगेका उनी तीन महिनादेखि उपचार क्रममा छन्।
तीन छोरीका बाबु उनीसँग ठूलो जायजेथा पनि छैन। 'जागिर पनि पार्टीकै कामले उपदानमा छाडियो, आम्दानी छैन, उपचार गर्न कठिन भयो,' रोक्काले नागरिकसँग भने।
कमलकी जेठी छोरीको बिहे भइसके पनि विदेशमा रहेका ज्वाइँले पठाएको डेढ लाख तीन महिना औषधी गर्दै सकिएको उनले सुनाए।
'अब त खाने खर्चसमेत छैन,' खुराक कम हुँदा सेकाइले छाला डढेको देखाउँदै उनले भने, 'पैसा नभएपछि बाँच्न गाह्रो हुँदोरहेछ।'
उनकी कान्छी छोरी उन्नति बाबुको उपचार गराउन सँगै आएकी छन्। 'जनयुद्ध'कालमा सानै उमेरदेखि माओवादी गीत गाएर सहयोग गरेकी उनी अहिले बाबुको अवस्थाले निराश छिन्। 'हुनेलाई जता गए पनि हुने रहेछ,' उन्नतिले निराशा राखिन्, 'पैसा नभएर उपचारमा समस्या आएको छ।'
सेकाइले छाला खुइलिएको बाबुको घाँटी र घ्यार-घ्यार आवाजले उनलाई निकै पिरोल्छ। 'भए त राम्रैसँग राख्थेँ, नभएपछि के गर्ने, आँखा रसिलो बनाउँदै दुःख बिसाइन्, 'बाख्रा बेचेर ल्याएको पनि सकियो।'
रोक्काको उपचारमा संलग्न चिकित्सक डा. रन्जनभक्त भण्डारीले टिबी र क्यान्सरले सताइएका रोक्कालाई सुरुदेखि नै पोषणको कमी रहेको बताए। 'सेकाइसँगै टिबीको खोप पनि लिइरहेका बेला अत्यधिक पोषणको आवश्यकता पर्छ,' उनले भने, 'त्यसमाथि जटिल प्रकारको अन्तिम अवस्थाको क्यान्सर हो।' - Nagarik

No comments:

Post a Comment