Monday, July 29, 2013

अमेरिकामा नेपाली व्याबसाय चुनौती र सम्भावनाहरु - सानुबाबु सिलवाल

नेपाल भूगोलका हिसाबले पृथ्वीको लगभग अर्को, दुरीका हिसाबले ठ्याक्कै सात समुन्द्र पारी रहेको संयूक्तराज्य अमेरीकामा नेपाली सामुदायको बाहुल्यता बढ्दै गएको देखिन्छ । संख्यात्मक तथ्याङ्कमा यति नै नेपाली छन् भन्ने केहि आधारहरु नभेटिए पनि झन्डै झन्डै १ लाख २० हजार भन्दा बढि नेपालीहरु अमेरिकाको विभिन्न राज्यहरुमा बसोबास गरीरहेका छन् भन्ने सहजै अनुमान लगाउन सकिन्छ ।नेपालीहरुको प्रवेश कहिले देखि भयो भन्ने एकिन आधार र तथ्याङ्क नभएपनि बर्षौ बर्ष देखी उनिहरुको उपस्थिति रहेको अनुमान गरीएको छ । विद्यार्थी, पर्यटक, मानव संसाधन स्रोत, डि.भि. चिठ्ठा तथा परिवारीक माध्यम आदि जुनसुकै माध्यमबाट यहाँ प्रवेश भएतापनि केहि समय यताको संख्यात्मक वृद्धिसगै यहाँका विभिन्न क्षेत्रमा उनिहरुको सहभागिता तथा योगदान उल्लेखनिय रुपमा बढेको देखिन्छ । शैक्षिक, कानुन व्यवसायी, निर्माण, संचार, स्वास्थ्य तथा खुद्रा व्यवसायका विविध क्षेत्रमा नेपालीहरुको योगदान भैरहेको देखिन्छ । अमेरीकी समाजमा केहि वर्ष यता बढ्दै गइरहेको नेपालीहरुको सहभागीतालाई हेर्ने हो भने अझै उनिहरुको योगदान र सफलतालाई आशाप्रद रुपमा हेर्न सकिन्छ । नेपालीको अमेरीका प्रबेशसगै कानुनी बसाँईका आधार, रोजगार तथा परिवारिक व्यवस्थापनका साथ–साथै यहाँको चलन, कानुन, संस्कार र नीतिलाई सँगसँगै अघि बढाउन थुप्रै चुनौतीहरुको सामाना गर्नुपर्ने हुन्छ । त्यसका बाबजुद पनि नेपालीहरुको पहिचान, ज्ञान क्रमश बढ्दै गइरहेको देखिन्छ । नेपालीहरु अरु अरुको मात्रै काम गर्न जान्दछन् र आत्मनिर्भर हुन जान्दैनन् भन्ने नकारात्मक र विगतका सोचाईहरुलाई चिर्दै आफ्नो साहु आफै बन्ने र भएका आर्थिक स्रोत र साधनलाई सदुपयोग गर्दै आत्मनिर्भता तर्फ नेपाली सामुदाय उन्मुख हुदै गइरहेको देखिन्छ । वर्षौ वर्ष सम्म आफ्नो श्रम बेचेर संकलीत केहि आर्थिक स्रोतलाई
सदुपयोग गर्दै आफ्नो क्षमता र साधनलाई प्रयोग गर्ने तर्फ नेपालीहरु अग्रसर बन्दै गइरहेका छन् ।



यसै क्रममा यहाँ नेपालीहरुको व्यवसायीक सहभागिता तथा लगानी लाखाँै लाख डलर भन्दा माथी भैसकेको देखिन्छ । संयूक्तराज्य अमेरीकाको झण्डै ७० प्रतिशत कर साना तथा मझैला व्यवसायबाट मात्रै उठ्छ । राज्यको आर्थिक सबलता र करको मेरुदण्ड भनेकै साना तथा मझौला व्यावसायी हुन् । राज्यको लगानी, राज्यको रोजगारी तथा राज्यको समुन्नत समाजको निमार्णमा यिनै साना व्यावसायीको महत्वपूर्ण भूमिका रहेको छ । यिनै साना व्यवसायहरुमा अधिकाशं नेपालीहरुको लगानीको पहुँच तथा सहभागिता रहेको देखिन्छ । नेपालीहरुको पहिचान वृद्धिमा यस समुदायको लगानी र साना व्यवसायमा उनिहरुको सहभागितालाई महत्वपूर्ण रुपमा लिन सकिन्छ ।

यकिन तथ्याङ्ककको अभाव

संख्यात्मक हिसाबले अमेरीकामा यति नै नेपाली व्यवसायीहरु छन् भन्ने कोहि कसैसँग पनि त्यस्तो तथ्याङ्ककगत आधार रहेको देखिदैन । तर पनि झण्डै एक हजारको हाराहारीमा विभिन्न राज्यमा विभिन्न व्यवसाय गर्दै आइरहेको अनुमान गर्न सकिन्छ । अधिकांश रुपमा ग्यास स्टेशन, रेष्टुरण्ट, कानुनी सेवा, निर्माण, श्रृङगार, ट्राभल एजेन्सी, आयात, निर्यात, ग्रोसरी उत्पादन बिक्रेता, खुद्रा तथा थोक बिक्रेता आदि क्षेत्रमा लगानी गरी व्यवसायमा संलग्न भइरहेका छन् । कुन राज्यमा कति नेपाली व्यवसायीहरु छन् ? उनिहरुको लगानी कति छ ? उनिहरुले अमेरीकी रोजगारका क्षेत्रमा कति योगदान गरीरहेका छन् ? उनिहरुले अमेरीकी सरकारलाई कति कर तिरीरहेका छन् ? स्थानीय रुपमा नेपाली व्यवसायीहरुले कति लगानी गरीरहेका छन् ? नेपाली व्यवसायीहरुले अमेरीकी समाजमा के कस्तो आर्थिक योगदान गरीरहेका छन् ? नेपाली व्यवसायीहरुको लगानी, क्षमता, आर्थिक सक्षमता के कति रहेको छ ? कति नेपालीहरुको लगानी डुबेको छ ? उनिहरुको लगानीको सुरक्षाको प्रत्याभूतिका आधारहरुलाई हेर्ने हो भने हामीसँग कुनै तथ्याङ्क नै छैन । त्यसका लागी आधिकारीक संस्था, संयूक्त प्रयास र सामुहिक प्रतिबद्धताको खाँचो रहिआएको थियो । सामुहिक प्रतिबद्धता र प्रयास नभएसम्म माथी उल्लेखित तथ्यहरु बाहिर आउन सक्दैन पनि । यी तथ्यहरु बाहिर नआएसम्म नेपाली व्यवसायीहरुको पहिचान, योगदान र मूल्याङ्कन सबै छायाँमा परिरहने छ ।

समस्या र चुनौतिहरु

नेपालीहरुको लगानी, उनिहरुको उपस्थिति र निरन्तरताका लागि थुपै्र समस्या र चुनौतिहरु नभएका हैनन् । जाँगर हुँदा जीवनको अधिकांश समय बाँच्नकालागी सङघर्सरत रहनुपर्ने र अरुको काम गरी जीवन धान्नुपर्ने, जोखिम मोल्न तयार नहुने, लगानीको सुरक्षाको आधार र पहिचानका लागी ज्ञानको अभाव मुख्य समस्या र चुनौतीको रुपमा लिन सकिन्छ । जाँगर र उमेर भएको बेलामा आर्थिक सबलता नहुने र आर्थिक पक्षमा थोरै साहस बटुल्ने समयमा उमेर र जाँगर नहुने मानवीय दुर्भाग्य र चुनौति हुन् ।



अंग्रेजी भाषामा राम्रो दख्खल नहुनु, भएका कानुनी पक्षमा राम्रो ज्ञान नहुनु, साना व्यवसायका लागि उपयूक्त स्थानको पहिचान गर्न नसक्नु, कुन क्षेत्रमा लगानी गर्दा उत्पादन र मुनाफा प्राप्त गर्न सकिन्छ भन्ने आँकलन गर्न नसक्नु , समयमा आवश्यक सुझाबहरु प्राप्त हुन नसक्नु, एक अर्काले जानेका ज्ञान, सीप, अनुभव र सफलताहरु अवसर खोजी परेकाहरुका लागि ज्ञान आदान–प्रदान गर्ने संस्थागत प्रवृत्ति विकास नहुनु, लगानीका लागी कम्पनी दर्ता तथा आवश्यक प्रक्रियाहरुका बारेमा राम्रो ज्ञान नहुनु, व्यवसाय छनौट र छनौटका क्रममा लगाउनु पर्ने दुरदृष्टिका अभाव हुनु अमेरीकामा नेपाली व्यवसायीहरुको मुख्य समस्याहरु हुन् । यति मात्र होईन, लगानी गरीसकेपछि व्यवसायको प्रकृति अनुसारको अनुभव, परिश्रम तथा धैर्यताको अभाव, व्यवसायको दैनिकी व्यवस्थापन तथा सञ्चालनका लागि पर्याप्त ज्ञानको अभाव, आईपर्ने समस्याहरुको समाधान गर्ने शैली तथा क्षमताको अभाव र अमेरीकी स्थानिय समाजसँग उठबस गर्न सक्ने क्षमताको अभाव पनि नेपाली व्यवसायीहरुको मुख्य समस्याको रुपमा लिन सकिन्छ ।



व्यवसाय संञ्चालन गर्दै जादा व्यवस्थापन पक्ष, कानुन र यस भित्र रहेर चल्ने ज्ञानको अभाव पनि मुख्य चुनौतिहरु हुन् । विमाका समस्याहरु, श्रमनीति , प्रविधि र स्थानिय तहमा अमेरीकी समाजसँग मिलेर काम गर्न सक्ने शैलीको अभाव पनि मुख्य समस्या र चुनौति हुन् । संयूक्त लगानी , साझेदारी लगानी र सहकारी लगानीका क्षेत्रमा नेपाली व्यवसायीहरुको सहभागिता, चासो र क्षमता बढ्न नसकिरहेको अवस्थामा भएका स्रोत साधन र क्षमतालाई एकिकृत गरी नेपाली व्यवसायीहरुको पहिचान उपस्थितिमा अझै बृद्धि गर्न नेपालीे व्यवसायिहरुको व्यावसायीक छाता संगठनको महत्वपूर्ण आवश्यकता देखिन्छ । यहि आवश्यकतालाई मध्यनजर राख्दै विगत दुई वर्ष अघिदेखि अमेरीका नेपाल व्यावसायी संगठनको स्थापना भैसकेको छ ।

व्यवसायीक संगठनको स्थापनामा सक्रियता
अमेरीकामा रहेका नेपाली व्यवसायीहरुको हकहितको रक्षा र संरक्षण गर्ने मात्रै नभएर नेपाली व्यवसायीहरुले भोग्दै आइरहेका समस्या र चुनौतिहरुलाई सम्बोधन गर्दै यहाँ रहेका नेपाली व्यवसायहरुलाई एकिकृतरुपमा एउटै छाता भित्र ल्याई भविष्यमा भएका स्रोत र साधनको सदुपयोग गर्दै आफै केहि गरौँ भन्ने इच्छा बोकीरहेका भविष्यका व्यवसयीहरुलाई समेत उत्प्रेरित गर्दै उनिहरुको स्रोत, साधन र क्षमतालाई अभिवृद्धि गर्दै लगानीको क्षेत्रमा उनिहरुको सहभागीता बढाउने उदेश्यकासाथ विगत दुई वर्ष देखि अमेरीका नेपाल व्यवसायी संघको स्थापना भईसकेको छ । अग्रणी व्यवसायी तथा समाजसेवी मोहन बहादुर ज्ञवालीको नेतृत्वमा यस एक लेखक, व्यवसायीहरु बेद खरेल, खगेन्द्र जि.सी., प्रकाश थापा तथा महावाणिज्य दुत प्रेम राजा समेतको अगुवाईमा अमेरीकाका ३० भन्दा बढि राज्यहरुका ४०० भन्दा बढि व्यवसायीहरुको संयूक्त प्रयासबाट यो संस्थाको स्थापना भएको हो । नेपाली व्यवसायीहरुको तथ्याङ्क खोज्ने, उनिहरुको यहाँ रहेको लगानीको आँकडा निकाल्ने र आर्थिक क्षेत्रमा उनिहरुबाट भएको योगदानलाई तथ्याङ्कगत रुपमा बाहिर ल्याउने, व्यवसायीहरुको विवेक, ज्ञान र क्षमतालाई अभिबृद्धि गर्ने, नेपाली व्यवसायीहरुका विचमा सहचार्यता र सहकार्यता बढाउने, यस क्षेत्रमा देखिएको समस्या, चुनौति र सम्भावनाहरुका पक्षमा वकालत गर्ने, भविष्यमा हुने सक्ने लगानीको वातावरण र पहिचान सम्भावनालाई खोज्ने, व्यवसायीहरुको क्षमता अभिबृद्धि गर्ने, सम्बन्धित संस्थाहरुसँग सहकार्यता बढाउने, नेपाली व्यावसायीहरुको लगानी, सफलता र क्षमतालाई नेपालको आर्थिक विकाससम्म पु¥याउन पुलको रुपमा काम गर्ने यस संघको मुख्य उदेश्य रहेको छ ।



त्यसैगरी नेपाली व्यवसायीहरुको अमेरीकामा भएको उपस्थितिलाई सम्मानजनक पहिचान गराउने यस संस्थाको अर्को महत्वपूर्ण उदेश्य रहेको र यहि अनुसार नै आफ्ना विभिन्न गतिविधिहरुलाई स्थापनाकाल देखि अघि बढाइरहेको छ । यसै क्रममा यस संस्थाले नेपाल च्याम्बर अफ कमर्शसँग सहकार्य सम्झौता गरी नेपालको लागि प्रतिनिधि नियूक्ति तथा नेपालको लागी कार्यालय पनि स्थापना गरीसकेको छ । यस संस्थाको अर्को महत्वपूर्ण पक्ष भनेको अमेरीकाको लागि नेपाली दुतावासबाट व्यवसायीक संघको लागि आधिकारिक मान्यता माननीय राजदुत डाक्टर शंखर शर्माबाट पनि आधिकारिक मान्यता लिइसकेको छ । आउदा दिनमा प्रकृति मेल खाने अमेरीकी सरकारी, अर्ध सरकारी तथा निजी क्षेत्रसँग सहकार्य गर्दै अघि जाने उदेश्य बोकेकोछ । यसै गरी यस संस्थ नेपाल, नेपाल तथा बहुउद्देश्यीय सम्बन्धित व्यापारीक संघ संस्थाहरुसँग पनि हातेमालो गर्दै नेपालीहरुको शीर उच्च राख्ने प्रण गर्दै कटिबद्ध रुपमा अघि बढ्ने उदेश्य राखेको छ । सबैभन्दा गौरवको विषय भनेको अमेरीकामा नेपाली व्यवसायीहरुको संस्था विकाश पछि यसको प्रभाव अन्य मुलुकका नेपाली व्यावसायीहरुमा पनि सकारात्मक प्रभाव परी ती मुलुकहरुमा पनि नेपाली व्यवसायीहरुको व्यवसायीक संस्था स्थापना भैसकेको छ । अमेरीकामा रहेको नेपाली व्यवसायीहरुको यस संस्थाले आगामी दिनहरुमा संसार भरी रहेका नेपाली व्यवसायीहरुको एउटै छाता संगठन निर्माण गर्नै ठूलो आशा बोकेको छ ।

अवसर र अवसरको मुलुक

जान्दा, गर्न सक्दा र इच्छा गर्दा सपना पुरा हुन सक्ने अवसरको मुलुक भनेर अमेरीकालाई संसारभर चिनिन्छ । आफ्नो अमेरीका बस्ने कानुनी आधार बनाइसकेपछि, केहि वर्षको कडा परिश्रम, आर्थिक अनुशासनमा रही आफ्नो व्यवहारलाई व्यवस्थीत रुपमा अघि बढाउदा अमेरीकी संरचनाले मानिसलाई आफ्नो आर्थिक पहुँच नभएपनि पहुँचको अवसर सजिलैसंग अग्रसर गरीन सक्छ । पैसा उधारो लिन सक्ने घर, गाडि,जमिन उधारोमा लिन सकिने र व्यवसायको लागी उधारोमा काम चलाइ पछि तिर्दै जानका लागी मार्ग प्रशस्त छन् । राजनितिक स्थायित्व, सुरक्षित बसाई र लगानीका लागी प्रशस्त आधार र मार्गहरु यो मुलुकमा छन् । मानिसको श्रमको मुल्यको सम्मान गर्ने, कडा परिश्रम गर्ने र आफ्नो जीवनलाई सहज ढङगले रुपान्तरण गर्दै अघि बढ्ने आधार र अवसरहरु प्रशस्त छन् । अनुशासीत जीवन, कानुनको पालना, आर्थिक अनुशासन र अवसरको सदुपयोग गर्दै अघि बढ्न सहज बाटाहरु छन् । आर्थिक सम्पन्नताका लागि धेरै टाढा पुग्न नपर्ने र सहज रुपमा अवसरलाई ग्रहण गर्न सकिने मुलुकको रुपमा लिन सकिन्छ ।

आगामी थप चुनौतिहरु
व्यवसायीहरुको कार्यक्षेत्र तथा महत्वपूर्ण विषयहरु थुप्रै छन् । अर्थतन्त्रमा व्यवसायीहरुको योगदान तथा भूमिका, श्रम, वातावरण, अन्तराष्ट्रिय तथा व्यापार नीति, राजनीतिक अन्तरवस्तु र सम्बन्ध, प्रबृति तथा व्यापार व्यवसायीहरुका यी अन्तरसम्बन्धित महत्वपूर्ण विषयवस्तुहरु रहेका छन् । लगानी, श्रमिक तथा उपभोक्ताको अन्तर सम्बन्धलाई नै व्यवसाय तथा वाणिज्य भनिन्छ । व्यवसायहरु थुप्रै जिम्मेवारी तथा विषयवस्तुहरु अगाडि छन् । अर्थ बजार, आर्थिक नीति, शिक्षा, उर्जा , वातावरण, स्वास्थ्य, अध्यागमन, बौद्धिक सम्पत्ति, अन्तराष्ट्रिय नीति र खाद्य जस्ता विषयवस्तुहरु व्यवसायका साझा मुद्दाहरु र लगानीका क्षेत्रहरु हुन् । यसका अलावा व्यवसायका अन्य सवालहरुमा कानुनी विषयवस्तु, श्रम नीति, राष्ट्रिय सुरक्षा तथा आपतकालिन तयारी, राजनीतिक गतिविधि, साना व्यवसाय कर नीति, प्रविधि, संचार , वाणिज्य तथा व्यापार, यातायात तथा पूर्वाधार पनि नेपाली व्यवसयीहरुका नेपालसम्म जोड्ने महत्वपूर्ण विषयवस्तुहरु हुन सक्छन् । यसका अलावा नेपाली व्यवसायी संस्थाले कर नीति परिमार्जन, उर्जा तथा विमा, संम्भाव्य व्यापार तथा लगानी , प्रतिस्पर्धि आर्थिक तथा श्रम नीति, पूर्वाधारका नीति परिमार्जन तथा अध्ययन अनुसन्धान, उत्पादनमुखी नीतिगन परिमार्जन र नीतिगत वकालत आदि व्यवसायीक भविष्यका मुद्दहरु हुन् ।


नेपालसँग अन्तरसम्बन्ध

मातृभूमि तथा जन्मघर सबैलाई प्यारो हुन्छ नै । जहाँ गए पनि , जहाँ रहे पनि यो राष्ट्र भक्ति भावना मर्न सक्दैन । अवसरको खोजि, बाध्यताको परिणम तथा हिनताबोध आदि इत्यादि कारण जे जसरी प्रदेशमा रहनुपरे पनि हरेक नेपालीको मन आफ्नो मातृभूतिप्रति घुमिरहेको हुन्छ । दुःख गरेर कमाएका डलर आफ्ना परिवारका आवश्यकता परिपूर्तिका लागि मात्रै नभएर मुलुकको सामाजिक तथा आर्थिक विकाशमा अमेरीकामा रहेका नेपाली व्यवसायीहरुले प्रशस्त योगदान दिनुका साथसाथै यस तर्फ सधै प्रतिबद्ध पनि छन् । नेपालको आर्थिक सबलता र सम्पन्नताका लागि अमेरीकामा रहेका नेपाली व्यवसायीहरुले पत्यक्ष वा परोक्ष रुपमा टेवा पु¥याइरहेका छन् । साना तथा मझौला व्यवसायका क्षेत्रमा नेपाली व्यवसायहरु क्रमश लगानीको पहिचान तथा वृद्धि तर्फ उन्मुख भइरहेका छन् । आँखाले झट्ट हेर्दा र सपना बुन्दा नेपालको जल विद्युत मात्रै लगानीका क्षेत्र हो भन्ने नेपालका भ्रमहरु सृजना नगरेका होइनन् । ठूला क्षेत्रमा जस्तै जल विद्युतमा लगानी गर्दा सम्भाव्यता अध्ययन, लगानीको आकार, राजनीतिक स्थायित्व अपरिहार्य विषयवस्तु हुन् । विविध व्यवधानका कारण ठूला सपनाका लगानी र उद्योगहरु व्यवहारिक र ठोकुवा गर्न नसक्ने हुदाँ साना व्यवसायमा लगानी, त्यस तर्फको दिगो सोचाई , अमेरिकामा रहेका नेपाली व्यवसायीहरु प्रत्यक्ष रुपमा संलग्न भई नेपालको आर्थिक विकाश गर्ने मार्गहरु प्रशस्त छन् । ५ हजार डलर देखि २५ हजार डलर सम्म सम्भव हुने साना तथा घरेलु व्यवसायको प्रबद्र्धन र लगानीको सम्भाव्यता खोजि गरी अघि बढाउन सकिएमा झण्डै ५ हजार देखि ७ हजार अमेरीकामा रहेका नेपालीहरुको लगानीको पहुँच नेपाल पुग्ने देखिन्छ । यसै गर्दा लाखौँ लाख डलर नेपालमा भित्रिन गई हजारौँ हजार नेपालीहरुले आफ्नै घर–परिवारसँग बसी रोजगार प्राप्त गर्न सक्छन् । यसो हुदाँ युवाहरुको आकर्षण यस तर्फ बढ्न जाने , प्राबिधिक शिक्षाको स्थापना हुन सक्ने, स्थानिय स्तरमा यो लगानीको प्रभाव पर्न गई स्थानिय स्तरमा आर्थिक विकाशको ढोका खोल्न सक्ने, स्थानिय स्रोत, साधन र सामान उत्पादनको सदुपयोग हुने र आयातको निर्भता घट्ने र निर्यातको संभावना बढ्ने हुन्छ । संसार मै रहेका नेपालीहरुको लागी यो सन्देश महत्वपूर्ण हुन जाने र यसबाट नेपालमा थप लगानी भित्रने र आर्थिक विकाशमा ठूलो टेवा पुग्न सक्नेछ । यसका लागी राजनितिक तहको प्रतिबद्धता र स्थायित्व, नीति तथा वृहत्तर संरचनाको जरुरी हुनेछ । त्यस्तै गरी अमेरीकहरुको लगानी नेपालसम्म पु-याउने, नेपालमा लगानीको पूर्वाधार तथा सुरक्षाका लागि राज्यको अधिकतम् लचकता र प्रतिबद्धताको खाचो छ । यस्तो भएमा अमेरीकमा रहेका नेपाली व्यवसायीहरुले लगानी मात्र नभईकन सहजकर्ता पुलको रुपमा काम गर्न सक्नेछन् ।

सारसंक्षेप
सम्पन्न समाजको निर्माणमा आर्थिक क्रान्ती र आर्थिक विकाशको महत्वपूर्ण भुमिका हुन्छ । समाज र मानवीय दिगो विकाश, आर्थिक विकाशविना सम्भव र कल्पनै गर्न सकिन्न । विदेशीएका नेपालीहरु आफ्नै सङघर्स र बलबुताबाट प्राप्त गरेको आर्थिक सफलतालाई ज्ञानबाट आदान प्रदान गर्ने , आर्थिक विकाशलाई मुलुकको समाजिक तथा आर्थिक विकाशका क्षेत्रमा उनिहरुको सहभागीता बढाउने र उनिहरुको सम्मान गर्न सकेमा दिगो विकाशको महत्वपूर्ण पाटो आर्थिक विकाश अघि बढ्न सक्नेछ । प्रदेशमा प्राप्त गरेको आर्थिक सफलतालाई सम्मान र आकर्षणविना नेपालसम्म पु¥याउन कठिन छ । त्यसका लागि नेपालका राजनीतिक शक्तिहरु, कानुनी विधिगत नियमहरु र महत्वपूर्ण कार्यक्रमहरु राज्यले अगाडि ल्याउन सक्नुपर्छ । त्यसो गर्न सकिएमा अमेरिकामा रहेका थुप्रै नेपाली व्यवसायीहरुको स्रोत, साधन र ज्ञान नेपाल सम्म पुग्न सक्नेछ । उनिहरुबाट अमेरिकन लगानीकर्ताहरुको ध्यान आकर्षण गराउने र उनिहरुलाई नेपालसम्म पुु¥याउनमा महत्वपूर्ण भूमिका खेल्न सकिनेछ ।

लेखक वरिष्ठ वातावरण पत्रकार, अमेरीका–नेपाल व्यवसायी संघका वरिष्ठ केन्द्रीय उप सभापति तथा अमेरिकन च्याम्बर अफ कमर्शका पहिलो नेपाली सदस्य हुनुहुन्छ ।

No comments:

Post a Comment