Friday, January 30, 2015

म "जिउँदो मुर्दा" हुँ - रामप्रसाद खनाल



पशुपती आर्यघाटमा
जलाइनु अघिको निसमन्न लाश 
र म मा मात्र एउटा फरक छ
लाश श्वास प्रश्वास गर्दैन
तर म सेकेन्ड सेकेन्डमा
श्वास लिन्छु श्वास फ्याँक्छु
मात्र यत्ती फरक छ त्यो लाश र म मा !
शुरुमा चन्दा माग्न आए
मैले चन्दा दिएँ
बास माग्न आए
बास दिएँ
लुटेर खान थाले
मैले चुपचाप सहें
कुटेर अँग भँग गरे
घोप्टी परेर रुँदै बेदना सहें
अपहरण गरेर बेपत्ता पारे
म चुप चाप सहेर बसें
गोठको लैनो भैंसी
भर्खर ब्याएको माली गाई
जोत्दा जोत्दै जुवाले
काँध घोटिएका एक हल बुढा गोरु
सबै लुटेर
मेरै अगाडी तिनका जुलुसले
काटेर खाँदा
मेरै कलिलो छोरो, उसकी बहिनी
युद्ध लड्न भन्दै जबर्जस्ती लाँदा
मेरा यिनै फुटेका आँखाले
ट्वाल्ल हेरेर बसें
रोएर मन बुझाएँ
गाई बस्तु त काटेरै खाएको देखेको हुँ
तर मेरा लाला बाला कहाँ पुर्याए
जिउँदा छन या मरी सके
मलाई थाहा छैन अझै
बुढी माउँ तिनै चिन्तामा जली
घर तलको खोलामा हाम फालेर मरी
मेरो सुख लुटे
मेरो बैश लुटे
सम्पत्ती लुटे
म आर्यघाटमा जलाइनु अघिको लाश जस्तै
शान्त भएर बसिरहेँ
सोँचेको थिएँ
ढिलै भए पनि न्याय पाउँला
खोसिएको लुटिएको जायज्यथा पाउँला
बुढेशकालमा त्यसैमा गरी खाउँला
हेर्दा हेर्दै बसौँ बित्यो
मेरा आँखाहरु रुँदा आशु नआउने भए
चुनावहरु आए
तिनैले भाग बिल्ला पाए
मलाई जस्तै देश लुटेर खाए
अहिले हड्डिमा लडेका कुकुरहरु जस्तै
कोही लडेका देख्छु
कोही फेरी पुरानै पेशामा फर्किएका देख्छु
बिस बर्ष पछी फेरी उही घाऊ बल्झिएको देख्छु
अस्ती भर्खर कोही कुर्सी भाँच्दै देखेँ
कोही खुशीले त्यही नाच्दै देखेँ
त्यसै त म लाश जस्तो जिउँदो मान्छे
त्यो नाँगो नाच पछी
झन मरे तुल्य भएको छु
त्यहीँ बाट चुइटिएका एक हुलबाट
फेरी धाक धम्की र चन्दाको पत्र बुझेको छु
म त जिउँदो मुर्दा भएँ भएँ
छन की कोही जिउँदा भनी
वर पर तल माथि हेरें, खोजेँ
अहँ मैले कोही जिउँदो मान्छे देखिन
सबै म जस्तै जिउँदा मुर्दाहरु मात्र देखेँ
अनी आफैले आफैलाई धिक्कार्दै
यती हुँदा पनि नजाग्ने
“थुक्क म जिउँदो लाश” भन्दै
जे जस्तो देखेँ , यि दुई चार लाइन लेखेँ !
visit www.Nepalmother.com

1 comment:

  1. This comment has been removed by a blog administrator.

    ReplyDelete