Saturday, April 30, 2016

मान्छे यता तर मन उतै छ !

Ram Prasad Khanal - Singer's photo.
कहाँ पाउनु घाँस काट्न खरियान जाँदाको आनन्द
कहाँ पाउनु पानी लिन पँधेरा जाँदाको आनन्द !
गाउँघरका दौँतरी सँग लडिबुडी खेल्दै जिस्किँदै
बकेर्नो पाडो दाम्लो चुँडाएर बारीमा बुर्कुसीमा मार्दा झैँ
बुर्कुसी मार्दा, गाउँघरमै अमिला काँक्रा बेलौती चोर्दै झार्दा
उकाली ओराली भञ्ज्याङ र चौतारीहरुमा
पसिना पुछ्दै तल माथि गर्दाको चरम आनन्द
अझ त्यसै माथि घाँस झार्न जाँदा
रुखको टुप्पैमा बसेर वारी पारी सुनिने गरी
धक खोलेर चिच्याइ चिच्याइ गीत गाउँदै गर्दा
पारी बाट गीतमै जबाफ आउँथे
वारीबाट गीतमै जबाफ फर्काउँथे
दोहोरी मै माया प्रिती लाउँथे
गाउँघरका ति सँगी साथी दिदी बहिनी सँग
गाई बाख्रा चराउँदाको आनन्द
गुच्छा, लारी, राज्य खेल्दै
धुलो मैलोमा पनि हातमा आफैले थुक्दै
अर्कोलाई पछार्न कबड्डीमा झुम्मिदै
पछार्नु र पछारिनुको आनन्द लिँदै
गाउँघरका तरुनी र तन्नेरी सँग
लुकामारी खेल्नुको आनन्द कहाँ पाउनु अब !
मान्छे मेशिन भैसकेको छ
भबिस्यको लागि भन्दै घडीको सुइ सँगै गैसकेको छ !
बारी खेत खरियान सब बाँझा
हजुर बा हजुर आमा बिस्तारमै पर्दा छैन कोही
गाउँ घर सब खाली खाली
बिदेशमा बस्नेले भन्छ जान्छु यसपाली
तर यस पाली हो या जाली
बर्सौँ बित्दा आउंदैन एकपाली
मन उतै छ मुटु उतै छ
सबै भएर पनि केही नभएको जस्तो
हाँसो भित्र पनि कुन्नी किन भुटै छ ! भुटै छ !
मान्छे यता तर मन उतै छ ! उतै छ !
- रामप्रसाद खनाल, हाल वाशिङ्टन डिसी, अमेरिका

No comments:

Post a Comment