Wednesday, May 4, 2016

फेरी थुक्दैछु आज ! - रामप्रसाद खनाल

मलाई असभ्य भन वा जे सुकै भन आज
गाली गर वा जे सुकै गर आज
म सहन तयार छु, किनकी....
म नेपाली फोहोरी राजनीतिलाई फेरी थुक्दैछु आज !
"नेपाली म" नेताका कारण
बाहिरी छिमेकी सँग झुक्दैछु आज !
यती हुँदा नबुझ्ने, नजाग्ने हामी जनता
जनता हौँ या ज्युँदा मुर्दा लाशहरु !
नेता - सत्ता र कुर्सीका लागि
जे पनि गर्न तयार ज्युँदा मुर्दा लाशहरु !
फेरी शुरु भए सत्ता परिबर्तनका खेल
फेरी शुरु भए तिनै जाल झेल !
मुसाहरु धनसार पसेर सत्यानाश पार्दै
पञ्चायतमा उनै, बहुदलमा उनै, राजाकोकालमा उनै,
लोकतन्त्रमा उनै, गणतन्त्रमा पनि उनै !!!
म कती टुलु टुलु हेरुँ ??
सत्ता र कुर्सीका मात्र जालझेलहरु
अपराध शिरोमणिहरुका नाँगा नाच
भ्रस्टाचारी नेता र साँसदहरुका
"वल्लाघरको नरे पल्लाघर सरे" खेलहरु !
न सिद्धान्त छ, न धर्म, न कर्म, न नैतिकता ??
बिकास निर्माण ठप्प छ !
भूकम्प पीडित भोकै पालमा बस्न वाध्य छन
गरिबी, बेरोजगारी, भ्रस्टाचार, अन्याय, अत्याचार
त्यो बाहेक के नै बाँकी छ र ??
जनता तेल र ग्यासको लाइन बस्छन
लोडसेडिङ गर्ने प्राधिकरणमा
पानी नदिने खानेपानी सँस्थानमा
महशुल तिर्न लाइन बस्छन !!!
हरेक दिन बिदेश जानेको ताँती !
हरेक दिन खाडी मुलुकबाट आउने
बन्द बाकसमा लाश बुझ्दछ एयरपोर्ट !!
अदालतले दोशी करार गर्छ
जेल सजाय सुनाउँछ
अपराधी जेल बाहिरै खुल्लम खुल्ला उत्सब मनाउँछ !!
फाँसीमा झुन्ड्याइनुपर्ने अपराधी नाइके
सत्ताको बागडोर लिन प्रजातान्रिक "शेरहरु" किन्छ, बेच्छ !
राष्ट्र, राष्ट्रियता, स्वाभिमान सबैकुरा छिमेकी लाई बेच्छ !
तिम्रो लोकतन्त्र हो कि भोक तन्त्र हो यो ??
गणतन्त्र हो कि "दक्षिणतन्त्र" हो यो ??
सँघीय तन्त्र हो कि, देशै खाने मन्त्र हो यो ??
छि छि छि ..... यस्तो तन्त्र मन्त्र चाहिन्न मलाई
तिम्रो नयाँ नेपाल चाहिन्न मलाई
मलाई मेरै पुरानो नेपाल प्यारो छ
थुक्क थुक्क थुक्क !
बेइमानहरु, चण्डालहरु !
म कती चोटि तिमीहरुलाई थुकुँ आज ??
राजनीतिका नाममा अपराधी सँग कसरी झुकुँ आज ??
बाध्यता र बिबशताका माँझ परदेशिँदा पनि
मन भरी चन्द्र सूर्य अँकित झन्डा, बुद्ध र सगरमाथा,
नेपाली पन र नेपाली मन बोकेर हिंड्ने म बबुरो
खोइ कसरी गर्ब गरुँ आज ??!!
कसरी तिम्रो भर परुँ आज ??
न कोही फेरियौ ?? न सुध्र्यौ ??
फेरी जहाँँको तहीं, फोहोरी खेल उही !
उसैको आशिर्बाद, राष्ट्रको सत्यानास !
मलाई असभ्य भन वा जे सुकै भन आज
यती हुँदा पनि मौनता सान्ध्ने सभ्यता मलाई चाहिएन
त्यसैले असभ्य बनेर थुक्दैछु आज
तँलाई हैजाले लैजाने, दैबले लैजाने भन वा जे सुकै भन आज
गाली गर वा जे सुकै गर सबको माझ
म सहन तयार छु आज, किनकी ....
म नेपाली फोहोरी राजनीतिलाई फेरी थुक्दैछु आज !

No comments:

Post a Comment