Wednesday, May 18, 2016

फेरी माग्दैछु म !

मेरा दु:खहरुमा सँगै आँशु झारिदिने
मेरा सुखहरुमा सँगै हाँसेर
मलाई उक्साउँदै खुशी पारिदिने
मेरी प्यारी उनी र म
बुद्धको पावन भूमी लुम्बिनीमा
मायादेबी र गौतम बुद्धको मुर्ती छेउ उँभिएर
सँगै जिउने कसम खाएको पनि
उनको खाली सिउँदोमा सिन्दुर लाएको पनि
ठ्याक्कै २४ बसन्त पार भएछन !


उनी अाइन, घरकी लच्छिन बनेर अाइन
मायाकी खानी बनेर अाइन
तिर्खा लाग्दा पिउने पानी बनेर अाइन
मेरो जिबनका हरेक गीत र प्रितहरु

म सँग सँगै गुनगुनाइन
बुहारी बनिन, भाउजु बनिन
आफन्तजनकी उदाहरण बनिन
मेरो जिन्दगीका हरेक मोडहरुमा "हुन्छ" मात्र भनिन !
सम्झिन्छु संघर्सका ति कहाली लाग्दा दिनहरु
सम्झिन्छु आफ्नै भन्ने र साथीभाइ बन्नेका अन्तर्घातहरु
सम्झिन्छु मेरा खुट्टा तान्दै इर्श्या ओकल्नेका बातहरू
तर छुटेनन् कहिलै उनका साथहरु
शायद मलाई म बनाउने मेरी आमा, बा र दाजु पछाडि
मलाई म भनाउने मेरी प्यारी उनैको साथ छ
मलाई यहाँ सम्म ल्याउन उनकै हात छ
कहिलेकाहीं म ठुस्स परेर रिसाइदिँदा
हाँसो बर्षाएर मेरो रिस बिसाइदिने उनी
माया विश्वाश र साथ मिसाइदिने उनी
रिसाउँदा नि मात्र मेरी उनी
खुसाउँदा नि मात्र मेरी उनी
उनी मेरो जिबनमा आउनु अघि
मैले उनको सिउँदोमा सिन्दुर लाउनु अघि
केही नभएको म बबुरोलाई पनि
धेरैले नै चाहेका थिए
मेरो पछी पनि लाएका थिए
म पनि कसैलाई मन भित्र राख्थें होला !
तर अनुशासन, मर्यादा, नैतिकताको विद्यार्थी म
सधैं आफै भित्र बांधिएर बसेँ
तर अचानक, समयको खेल
हामी लगन गाँठोमा बाँधियौँ
कोही रोए होलान, कसैले रुवाए पनि होलान
तर अहँ उनको आगमन पछी म
रुवाउने र रुनेहरु देखी धेरै टाढा छु
सन्तुस्ट छु, उनको कारण पूर्णछु
उनको कोखले मेरो घर भरिदिएको छ
छोरा र छोरीले घर दँग परिदिएको छ
उनकै माया र प्रेमले जे गर्नु गरिदिएकै छ
त्यसैले आज फेरी माग्दैछु म
मलाई यिनको साथ कहिलै नछुटोस
हाम्रो माया बाचुन्जेल कहिलै नटुटोस
यस बाहेक पनि मलाई केही माग्नु छ भगवान !
भगवान ! यदी अर्को जन्म दियौ भने
उनी मलाई नै दिन नभुले है !
- रामप्रसाद खनाल ( विवाहको २४ औँ बर्ष गाँठको सन्दर्भमा मेरी उनी प्रति समर्पित गद्य कविता )













No comments:

Post a Comment