Sunday, July 10, 2016

"नेपाल र नेपाली" बोल्दै नबोल !

हो हो संगठन खोल्नुपर्छ महासय
खोल, एउटा दुइटा किन सय खोल !
सयले कहाँ पुग्ला र हजार खोल !
"नेपाल र नेपाली" दुई शब्द किन बोल्ने ??
बोल्दै नबोल !
बोल जिल्लाको नाम बाट बोल
बोल टोल टोलको नाम बाट बोल
खोल जात जातीका नाम बाट संगठन खोल
खोल नेपालका पार्टीका नाम बाट संगठन खोल
देश भित्र मात्र किन ??
बिदेशमा पनि सँघियता चाहिन्छ भन्दै बोल !
नेपाली मात्र भनेर के हुन्छ ? को सुन्छ ??
खोल अनेक संघ संगठन खोल
संगठनको अध्यक्ष भएर बोल
उपाध्यक्ष, महा सचिब, कोसाध्यक्ष भएर बोल
बरु नेपालको नाममा, भुकम्प पीडितका नाममा
रकम उठाएर बैँकमा खाता खोल
भर अाफ्ना गोजी भर
कसैले सोधे अध्यक्षलाई देखाउ
अध्यक्षले महासचिब र कोसाध्यक्ष देखाउ
त्यतिले नपुगेको माउ पार्टी र नेताको नाम पनि लेखाउ
तर खोल संगठनहरु खोल, खोल्नै पर्छ खोल !
ठुलो मान्छे बन्नु पर्छ खोल !
कार्यक्रमहरुमा गएर आशन ग्रहण गर
आसन ग्रहणले मात्र हुन्न भासण ग्रहण पनि गर
नेपाल र नेपाली दुई शब्दको भर पर्दै नपर
कसले चिन्छ तिमीलाई नेपाली भनेर
कसले चिन्छ तिमीलाई नेपालको भनेर
नेपाल र नेपाली मात्र भन्ने त प्रतिगामी हुन सक्छन
तिनिहरु राजाका मान्छे हुन सक्छन
तिनिहरु लोकतन्त्रका बिरोधी हुन सक्छन
तिनिहरु गणतन्त्रका बिरोधी हुन सक्छन
त्यती मात्र होइन
तिनिहरु नयाँ नेपालका बिरोधी हुन सक्छन !
सामन्तबादी साम्राज्यबादी पृथ्वी नारायण शाहका
मतियारहरु हुन सक्छन
चन्द्र सूर्य झण्डा, हिन्दू धर्म र गाइका कुरा गर्ने
पुरातनबादी निरंकुशहरु हुन सक्छन !
तसर्थ अलग्गै संघ संस्था खोल्नु पर्छ खोल
तिमीले पनि नेता बनेर भासण बोल
मिडियाले तिम्रै भासण र फोटो छाप्छन
मान्छेहरु तिम्रै पछि लाग्छन
त्यसैले ढिला गर्दै नगर
बरु आजै एउटा संस्था खोल,
टोलका नाममा खोल,
जिल्लाका नाममा खोल,
त्यो पनि नभए अहिले तिमी बस्दै गरेको
गाउँ शहरको नामबाट संगठन खोल
पिकनिक गर्छु भन्दै बोल
कार्यक्रमहरु गर्छु भन्दै बोल
नेपाल र नेपालीका कुरा गर्ने प्रतिगामीहरुलाई
दनक दिनै पर्छ, कार्यक्रम जुधाउ,
असफल पार्न लाग,
सक्छौ एउटै ठाउँँमा कार्यक्रम पार !
तर आफ्नो पहिचान छोड्नुहुन्न
जिल्ला नगर टोल टोल छोड्नुहुन्न
आफ्नो जात जाती छोड्नुहुन्न
मधेश पहाड तराइ छोड्नुहुन्न
एक हुने कुरा गर्नै हुन्न
एक भए पहिचान हराउँछ
त्यसैले खोल, टोल टोलका संगठन खोल
भासणमा चिच्याइ चिच्याइ बोल
आफ्नो परिचय दिएर बोल
संघ संस्था खोल्नै पर्छ खोलेर बोल
एउटा कुरा याद राख "नेपाल र नेपाली" बोल्दै नबोल !
- रामप्रसाद खनाल, हाल अमेरिका

No comments:

Post a Comment