Sunday, November 13, 2016

हाम्रो पत्रकारिता !

कठै हाम्रो पत्रकारिता 
एक बोतल दारुमा बिकेको छ पत्रकारिता
दुई चार हजार भारुमा बिकेको छ पत्रकारिता
लेख, समाचार, अन्तर्वार्ता झारू.. मा बिकेको छ पत्रकारिता
जसले झार्छन उनै महान बनाइन्छन 
पैसाकै भरमा ठुला मान्छे भनाइन्छन
पैसा नझार्नेहरु "दुला भित्रैका" बनाइन्छन
नानाभाँति भनेर मिडियाहरुमा गनाइन्छन
दारु, भारु, झारु मै रमाएको छ पत्रकारिता
समाउनै नपर्नेलाई समाएको छ पत्रकारिता
केही गरौं भन्ने समाजसेबीहरुलाई
जिउँदै शहिद "दिलशोभा" बनाएकोछ पत्रकारिता 


वास्तविक पत्रकारहरुको ओइलाएको छ पत्रकारिता
ब्ल्याकमेलर, ठग, सौदागरहरुको फैलाएको छ पत्रकारिता
रातारात जिरो लाई हिरो बनाएको छ पत्रकारिता
"नपाए" हिरो बाट जिरो बनाएको छ पत्रकारिता
वास्तविक पत्रकारिता "थाङ्ने" पत्रकारिता भएकोछ
समाचार, लेख, अन्तर्वार्ता "माग्ने" पत्रकारिता भएको छ
सानी कुरै नगर अहिलेको पत्रकारिता !!
भ्रान्तिपुरहरु देश र सरकारै हल्लाउंछन
अनागरिक र अन्नले पूर्ण नभएकाहरु ठुला बडा सँग कल्लाउँछन
जनतामा आस्था र विश्वाश नभएकाहरु
पैसा नझरे मान्छे मर्ने बनाउँछन !
के कुरा गर्छेउ सानी पत्रकारिताको
पढे लेखे बुझेका पत्रकारहरु "दुला" गए पछि
ढंग न ढालका पत्रकारहरु "ठुला" भए पछि
आजकल दिउँसै रात पर्न थाल्दा
आतंकका मतियारले देश दनदनी बाल्दा
अहँ बोल्दैन पत्रकारिता !
वास्तविक कुरा खोल्दैन पत्रकारिता
उल्टो लाई सुल्टो र सुल्टो लाई उल्टो बनाउँदैछ पत्रकारिता !
पत्रकारिता हो या पर्चाकारिता छुट्याउन गार्हो हुन थालेको छ सानी !
पत्रकारिता कसैले पालेको छ सानी !
पैसाले धुप हालेको छ सानी !
सबै कुरो पैसाले गालेको छ सानी !
बेसुरका बाँसुरीवालाको मुखपत्र भएको छ पत्रकारिता
आतंक बोक्ने शेरहरुको भुकपत्र भएको छ पत्रकारिता
मन्त्री पाए गणतन्त्रबादी नपाए राजतन्त्रबादी बन्ने
छेपारेहरुको मुखपत्र भएको छ पत्रकारिता
मिलेर बसेका नेपाली लडाउने भएको छ पत्रकारिता
भाषा, धर्म, सँस्कृती भँडाउने भएको छ पत्रकारिता
क्रान्तिको नाममा जनता लडाउने भएको छ पत्रकारिता
नौटँकीवाज र आतंक जान्नेको भएको छ पत्रकारिता
आफ्नै राष्ट्रपतिलाई जनकपुरमा ढुङ्गा हान्नेको भएको छ पत्रकारिता
प्रणब भाई साबलाई मालिक मान्नेको भएको छ पत्रकारिता
थाहा छैन कुन बाटो गएको छ पत्रकारिता !!
काम नपाए "तरकारीवाली" बनाउने भएको छ पत्रकारिता
लुटतन्त्रलाई "सरकारीवाली" बनाउने भएको छ पत्रकारिता
फुलै फुल्न नपाउने गमलाको भएको छ पत्रकारिता
झार्नका लागि गरिने हमलाको भएको छ पत्रकारिता
कठै हाम्रो पत्रकारिता !
सानी यस्तै छ हाम्रो पत्रकारिता !
- रामप्रसाद खनाल

No comments:

Post a Comment