Sunday, November 13, 2016

मुर्कट्टाहरुको साम्राज्यमा

घातै घातका रासहरुले बारम्बार च्याँपिँदा पनि 
बातै बातका रासहरुले बारम्बार च्याँपिँदा पनि 
पिँधमा पुगेर बल्ल तल्ल ठस ठस कन्दै 
एक मुठी श्वास प्रश्वास गर्दै जिबन जिउने लाचार म 
कलियुगमा सत्ययुगको कुरा गर्दै मन सिउने म 
छलछाम जालझेल कत्ती पनि बुझ्दै नबुझी जिउने म
सबैलाई आफ्नै ठान्दा, आफ्नै मान्दा
धोख्खा धडी जान्दै नजान्दा
नैतिकता र चरित्रहिन बन्न मान्दै नमान्दा !
च्याँपिँदै गैरहेको लुते म
जुरुक्क उठेर निर्धक्क श्वास फेर्न 


खोइ कसरी सम्भब होला र !!
दासहरुको बस्तीमा
जिउंदा लाशहरुको बस्तीमा
मुर्कट्टाहरुको साम्राज्यमा
आर्यघाट कुर्नेहरुको भ्रमराज्यमा
म मुला के नै गर्न सक्छु र !
त्यसैले आफैले अाफैलाई पनि
आज भन्न मन लागेको छ
मुख खोल्न मन लागेको छ
नाथे, तँ के फुर्ती गर्छस !
भाते, तँ के फुर्ती गर्छस !!!
दासहरुको बस्तीमा
जिउंदा लाशहरुको बस्तीमा
मुर्कट्टाहरुको साम्राज्यमा
आर्यघाट कुर्नेहरुको भ्रमराज्यमा
- रामप्रसाद खनाल

No comments:

Post a Comment