Saturday, August 17, 2019

पाखे काइँला बा !

तल्लाघरे काइँला बा 
जसले 
मेरा छोरा जस्ता 
अरुका कहाँ हुन्छन र ? 
मेरा छोरी जस्ता 
अरुका कहाँ हुन्छन र ? 
मेरो छोरो यस्तो छ 
मेरी छोरी उस्ती छ 
भन्थे 
अरुलाई सुनाउँथे 
काइँली आमा थपिन्थिन 
काइँला बा र काइँली आमाको

सान अर्कै थियो गाउँमा 
मान अर्कै थियो गाउँमा 
काइँला बा र काइँली आमा
गप्फिँदै भन्थे 
छोरालाई यति जोडीदिएँ 
छोरीलाई उति जोडीदिएँ
घर बारी 
पाखो पखेरो 
मुरीका मुरी धान आउने खेत 
तीन पुस्तालाई पुग्ने सम्पत्ति 
सबथोक छ !
भन्थे 
सुनाउँथे 
गाउँको चौतारोमा मा बसेर !
काइँली आमा पनि 
थपि लाग्थिन काइँला बा सँगै 
हरेक कुरामा !
घरमा होस वा बाहिर 
गाउँमा होस वा चौतारोमा 
काइँला बा ले सुनाउँदा 
काइँली आमाले सुनाउँदा 
गाउँले, 
छर छिमेकी 
र आफन्तहरु 
मन मनै सोंच्थे 
मेरा पनि छोरा छोरी यस्तै भैदिएका भए ! 
समय बित्दै गयो 
काइँला बा र काइँली आमाले 
गास काटेर ख्वाएका 
पाले तालेका छोरा छोरी 
बढ्दै गए 
हुर्किँदै गए
ठुला भए 
पढालेखा भए 
जान्ने सुन्ने भए 
बुझ्ने भए 
अस्ति साँझको कुरा 
काइला बा को छोराले हात उज्जाएछ बाउलाई 
पाखे भन्दै नानाथरी ओकलेछ 
अर्को छोरो पनि दाजु सँगै जाइलागेछ 
छोरीहरु पनि दाजुहरुकै बोलिमा मिसिएछन 
अनि बल्ल
काइँला बा छाङ्गाबाट खसेछन 
चुप चाप थँचक्क बसेछन 
र सोंचेछन 
गल्ती मेरै हो 
मैले नै हो मताउन हालेको 
मैले नै हो यि भ्रमजालहरु पालेको
काइँला बा ले यसरी ब्यथा सुनाए ! 
साना छऊन्जेल मर्छन कि भन्ने डर 
ठुला भए पछि मार्छन कि भन्ने डर
लामो सास तान्दै 
सुस्केरा सहित 
हिंजो 
तल्लाघरे काइँला बा ले यस्तो ब्यथा सुनाए !
छोरा छोरीको हर्कत देखेर 
छाङ्गाबाट खसेका काइँला बा 
लुल खसेका काइँला बा 
कालो बादल मडारिएको आकाश जस्तै 
निन्याउरो अनुहार पारेर
अस्ति देखी 
पुर्पुरोमा हात राखेर सोंच्दैछन 
थाहा छैन
काइँली आमा के सोँच्दै छिन कुन्नी ! 
- रामप्रसाद खनाल, अगस्त १७, २०१९

No comments:

Post a Comment