Monday, September 30, 2019

गजल के हो ? गजल कसरी लेखिन्छ ? के तपाईको गजल लेखनमा रूचि छ ?? आउनोस् गजल लेखनबारे केही सिकौं !


-मिसन अधिकारी

आजकल गजल लेखनमा बाढी नै आएको छ । सामाजिक सञ्जालमा गजल नलेख्ने कोही छैन जस्तो देखिन्छ । एउटाले लेखेको हेरेरै अर्काले गजल लेख्ने गरेको देखिन्छ । गजलप्रतिको आकर्षण बढ्नु राम्रो कुरा हो ।

तपाई गजलमा रूचि राख्नुहुन्छ ? अर्थात् साथीभाइले लेखेको देखेरै लेखिरहनुभएको छ ? तपाईलाई गजल लेखनमा रूचि छ भने गजल लेखनबारे आधारभूत ज्ञान लिन अनिवार्य हुन्छ । गजलको आधारभूत विषय थाहा पाएपछि नै तपाई राम्रो गजल लेख्नु हुन्छ । आधारभूत ज्ञान लिएको व्यक्ति र निरन्तरको मेहनत एवम् साधानाबाट मात्र उत्कृष्ट गजल लेख्न सकिन्छ ।


गजलको परिभाषा
------------------------

गजलमा रुचि राख्ने जो सुकै व्यक्तिले पनि सर्वप्रथम 'गजल के हो' ? भन्ने जानकारी लिन आवश्यक हुन्छ ।

गजल गायन/संगीतसँग निकट विधा हो । यसर्थ अनिवार्य रूपमा लयवद्ध हुन आवश्यक हुन्छ । सरल र प्रतिकात्मक रुपमा मतला, शेर, काफिया, रदिफ, मकता, तखल्लुस र बहर जस्ता विभिन्न तत्वहरु प्रयोग गर्दै aa, ba, ca, da, ea शैलिमा गजल लेखिन्छ।

यसर्थ एउटा निश्चित लय र संरचनामा लेखिएको गीत नै गजल हो भन्न सकिन्छ ।

गजल शव्दको अर्थ र ईतिहासको बारेमा बिभिन्न विद्वानहरुले आ-आफ्नै तरिकाले मत दिएपनि गजलमा हुनुपर्ने मुलभूत तत्वहरुमा भने त्यति धेरै मतभिन्नता छैन ।

गजल सृजनामा रूचि भएका नव आगन्तुक पाठकहरुको लागि उपयुक्त हुने हेतुले गजलका तत्वहरु बारे केही चर्चा गर्ने जमर्को गरिएको छ ।

गजलका तत्वहरु

(क) शेर
(ख) काफिया
(ग) रदिफ
(घ) मतला
(ङ) मकता
(च) तखल्लुस
(छ) वहर

१. शेर

दुई-दुई पङ्क्ती मिलाएर लयात्मक तरिकाले गजल लेखिन्छ र त्यहि दुई पङ्क्तीलाई नै गजलको शेर भनिन्छ। गजल शेरहरूको समष्टि रूप हो ।
शेरका प्रत्येक हरफलाई मिसरा भनिन्छ भने शेरको पहिलो मिसरालाई मिसरा-ए-उला र दोश्रो मिसरालाई मिसरा-ए-सानी भनिन्छ।

सामान्यतया गजलमा ५ शेर देखि ८ शेर हुने गर्दछ । यसको कुनै कडी-कडाऊ नियम छैन । त्यसैले गजलमा कम्तिमा ३ शेरदेखि माथि जतिपनि शेर लेख्न सकिन्छ । तर एकदम कम शेर र अधिक शेरलाई पनि राम्रो मानिदैन । तसर्थ ५/६ शेर भएको गजललाई आदर्श गजल मान्ने गरिन्छ ।

२. काफिया

नखोलेरै राखिएको एउटा बन्द खाम थियो
भित्र के-के थियो कुन्नि बाहिर मेरै नाम थियो

माथिको शेरमा आएका खाम र नाम दुई शब्द काफिया हुन् । मिसरा ए-सानीमा खाम र मिसरा ए-उलामा नाम छ । समस्वरात्मक रुपमा रदिफ भन्दा ठिक अगाडि बारम्बार दोहोरिएर आऊने शब्द नै काफिया हो । काफिया शव्दको अर्थ 'बारम्बार आऊने' हुन्छ र हामीले यो बुझ्नु आवश्यक छ कि गजल् विधा अरब, फारस, हिन्दुस्तान हुँदै नेपालमा भित्रिएको बिधा हो। तसर्थ अरबी भाषामा 'वारम्वार आऊने' वा काफिया गजलको त्यो तत्व हो जुन तत्व बिना गजल अधुरो हुन्छ । गजल भन्ने बिधाको अलग्गै पहिचान हुदैन, अझ यसो भनौं काफिया नै गजलको मुटु हो । अर्थात काफिया गजल बिधा भनेर छुट्ट्याउने माध्यम हो ।
काफियालाई सामान्यतया ४ प्रकारले छुट्याऊन सकिन्छ।

(क) पूर्ण काफिया
(ख) आंशिक वा शाब्दिक काफिया
(ग) एकाक्षरी काफिया
(घ) मिलित काफिया

क) पूर्ण काफिया

पूर्ण काफिया भन्नाले सिङ्गो शव्द नै काफियाको रुपमा आएको छ भने त्यस्तो काफियालाई पूर्ण काफिया भनिन्छ। जस्तै: खाम, नाम, याम, लाम, दाम गाउँ,जाउँ, आउँ, पाउँ,धाउँ,जाउँ, इत्यादि ।

पूर्ण काफिया प्रयोग गरेर लेखिएको गजलको एउटा उदाहरण हेरौं-

नखोलेरै राखिएको एउटा बन्द खाम थियो
भित्र के-के थियो कुन्नि बाहिर मेरै नाम थियो

कताबाट उजाडियो मनको सानो फूलबारी
भर्खरै त फूलहरुको यहाँ फुल्ने याम थियो

आज किन यहाँ केहि, केहि पनि देखिएन
हिजै मात्र सपना खोज्ने आँखाहरुको लाम थियो

सधैं-सधैं बग्ने खोली एकै छिन रोकीइदेउ
तिम्रो वेगसँग मलाई अलिकति काम थियो

मनमा दियो विश्वासको नबलेको जिन्दगीमा
धेरै-धेरै अन्धकार थोरै मात्र घाम थियो

(साभार: एउटा बन्द खाम, ललिजन रावल)

(ख)आंशिक वा शाव्दिक काफिया

कुनै शब्द भित्रको अंशमात्र काफियाको रुपमा आएको छ भने त्यस्तो काफियालाई आंशिक वा शब्दांश काफिया भनिन्छ । जस्तै: प्रहार,आधार,बिचार, सरोकार, अवतार, इत्यादी ।

उपरोक्त शब्दहरुमा क्रमश: हार, धार, चार, कार, तार, ले काफियाको रुपमा काम गरेको छ भने प्रहारको "प्र" आधारको "आ" बिचारको "बि" सरोकारको "सरो" र अवतारको "अव" ले काफियाको काम गर्दैनन् । यहाँ पूर्ण शब्दको केहि अंशले मात्र काफियाको काम गरेको देख्न सकिन्छ। तसर्थ यस्ता काफियालाई आंशिक वा शब्दांश काफिया भनिन्छ ।

आंशिक वा शव्दांश काफियाको प्रयोग भएको एउटा उदाहरण हेरौं-

बस्न त म आफ्नो छुट्टै संसारमा बसेको छु
तर व्यथा भोग्दै नाङ्गो यो तारमा बसेको छु

आसन छ तरवारको देखेको छु आफूले नै
बाध्य भई खुकुरीको यो धारमा बसेको छु

पराईको घरमा छु आफन्त त टाढा भए
ठूलै सङ्कटमा छु म जङ्घारमा बसेको छु

शहरमा बसेको छु भन्ने सोच्दै थिएँ तर
थाहा भयो मान्छे किन्ने बजारमा बसेको छु

साहुनीको भट्टीजस्तो सानो ठाउँमा हैन आज
महलभन्दा ठूलो यो कारागारमा बसेको छु

(साभार: पदम गौतम, एकलाशको फूल)

उल्लेखित गजलमा संसारको 'सं', जङ्घारको 'जङ्', बजारको 'ब' कारागारको 'कारा'ले काफियाको काम गर्दैन । तसर्थ यस्ता काफिया आंशिक वा शब्दांश काफिया अन्तर्गत पर्दछन्।

(ग)एकाक्षरी काफिया:

एकाक्षरी काफिया भन्नाले काफियाको रुपमा एउटा अक्षर मात्र आउने वा आंशिक शब्दको अन्तमा काफियाको रुपमा आउने एउटा अक्षरलाई एकाक्षरी काफिया भनिन्छ। सामान्यतया: गजलमा एकाक्षरी काफिया प्रयोग गर्नु राम्रो मानिदैन । तर कतिपय गजलकारले प्रयोगको रुपमा वा विचलनको रुपमा एकाक्षरी काफिया प्रयोग गरेको पाइन्छ।

एकाक्षरी काफिया प्रयोग गरिएको गजलको पनि एउटा उदाहरण हेरौं-

व्यथै व्यथा छ मनभरी खुसी खोजूँ कतातिर ?
साउन भदौ छ गहभरी नदी खोजूँ कतातिर ?

आरु फुल्यो वगैंचामा, पीडा फुल्यो मुटुभरि
चरो परेछ जालमा चरी खोजूँ कतातिर ?

मुटु चिरी बनाउँ कि रातो रगतको मसी
मेरो कथा लेखूँ कहाँ, मसी खोजूँ कतातिर ?

(साभार: उही बाढी उही भेल, रवि प्राञ्जल )

आदरणीय गजलप्रेमी महानुभावहरू ! यस गजलमा आएका खुशी, नदी, चरी, मसी शब्द नै एकाक्षरी काफिया हुन् । यि कुनै पनि शब्दको ध्वनी सिंगो रुपमा एक आपसमा मिल्दैन तर प्रत्येक शब्दका अन्तिम स्वरहरू एक आपसमा मिलेका छन् । यहाँ खुशी शब्दको खु र नदी शब्दको नले काफियाको काम गरेका छैनन् भने खुशी शब्दकै शी र नदी शब्दको दीले काफियाको काम गरेका छन् । यस गजलका शी, दी, री, सी नै एकाक्षरी काफिया हुन् ।
एकाक्षरी काफियामा हामीले जान्नुपर्ने कुरा के हो भने पूरा शब्दको एउटा अक्षरले मात्र काफियाको काम गरिरहेको हुन्छ ।

(घ)मिलित काफिया :

समस्वरात्मक दुईवटा फरक शब्द वा तिनका अंश मिलेर बन्ने काफियालाई मिलित काफिया भनिन्छ । जस्तैः (१) जाग्छ, दाग छ, भाग्छ, माग छ, नाच्छ, काग छ (२) पियो, सियो, नदी यो, कति यो, दियो, भरी यो (३) जगत, फगत, मन त, रगत, अब त ।

मिलित काफियाबारे अलि लामै चर्चा हुन आवश्यक हुन्छ । मिलित काफिया बारे थप चर्चा एउटा छुट्टै आलेखमा गर्नेछु । यो लेखमा यति मात्र ।

३. रदिफ :– रदिफ अरबी शब्द हो । यसको अर्थ अनुगामी हुन्छ । गजलको पहिलो शेर (मतला)का दुवै मिसरा र अन्य शेरहरुका मिसरा ए-सानीको अन्तमा प्रयोग हुने उही पद वा पदावलीलाई रदिफ भनिन्छ ।

नखोलेरै राखिएको एउटा बन्द खाम थियो
भित्र के-के थियो कुन्नि बाहिर मेरै नाम थियो

उल्लेखित शेरको दुबै मिसरामा थियो, थियो शब्द आएका छन् । यसरी दोहोरिएर आईरहने शब्द नै रदिफ हो ।

रदिफ कम्तिमा एक शब्ददेखि बढीमा तीन शब्द सम्मको हुनु शास्त्रीय दृष्टिले उचित मानिन्छ । रदिफ काफियाको ठिक पछाडि प्रयोग हुन्छ तर यो गजलको अनिवार्य तत्व होइन ।

रदिफको प्रयोगले गजलको सौन्दर्य प्रशासनमा महत्वपूर्ण भूमिका खेल्छ र गायनमा समेत श्रुतिमधुरता थप गर्ने हुनाले समुचित रदिफको प्रयोग सुन्दर मानिन्छ । त्यसैले अधिकांश गजलमा रदिफको प्रयोग हुन्छ ।

आजभोलि बाघले घाँस खा'छ मेरो देशमा
मुठिभरलाई गणतन्त्र आ'छ मेरो देशमा

(साभार: मेरो देशमा गजलबाट, मिसन अधिकारी)

उल्लेखित शेरमा 'मेरो देशमा' रदिफको रुपमा प्रयोग भएको छ । रदिफले एउटा स्थान बिशेषलाई अभिव्यक्त गरेको छ भने गजलमा श्रुतिमधुरता पनि थप गरेको छ । 'मेरो देशमा' रदिफ नराख्ने हो भने गजलका शेरहरू अपूर्ण जस्ता देखिन्छन् ।

त्यसैले अर्थपूर्ण रदिफको प्रयोग गजलमा आवश्यक छ । रदिफ राख्ने गर्ने नाममा जथाभावी प्रयोग भने गरिनु हुन्नँ ।
------------------------------------------------------

बाँकी थप अर्को आलेखमा प्रस्तुत गर्नेछु । यो सानो आलेख अध्ययन गरिदिनुभएकोमा हार्दिक धन्यवाद !

No comments:

Post a Comment